१५ भदौ, काठमाण्डौ।
अहिलेसम्म भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका ९,४३५ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नै साझा गरेको पछिल्लो विवरणअनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २०,६१८ जना सुरक्षाकर्मी खटिएका छन ।
उद्धारमा अन्य स्वयम्सेवकहरु पनि व्यापक रुपमा निरन्तर लागिपरेका छन् । विभिन्न सुरुङभित्र रहेको भनिएका बाहेकको उद्धार जारी छ । तर रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका स्थानमा अझै केही फसेको हुनसक्छ भनेर नियमित रुपमा हेलिकप्टरमार्फत रेकी भइरहेको छ ।

यसैगरी, भोटेकोशी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको निवेदन परेको छ । नुवाकोट र रसुवाको विभिन्न स्थानबाट आफ्नो मान्छे हराएको जनाउँदै खोजतलासको लागी एक हजार पाँचसय ५८ जनाको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
भोटेकोशी विपत्तिको छैटौँ दिनमा पनि हजारौं मानिस अझै बेपत्ता रहेका छन् । प्रधानमन्त्री कार्यालयको उद्धार पोर्टलका अनुसार १० हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार हराएका मानिसहरूको कुल १५,२४९ वटा रिपोर्ट दर्ता भएकोमा अझै १०,३४१ जना मानिस बेपत्ता (अझै हराइरहेका) रहेका छन् ।
बाढीका कारण स्थिति अत्यन्तै जटिल बनेको छ भने बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। हराएकाहरूमध्ये ४,९०८ जना मानिस फेला परेका छन् भने ५५५ जना परिवारको प्रतीक्षामा रहेका छन् । हालसम्म भेटिएका वा समाधान भएका केसहरूको संख्या ४,३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४,१८० वटा नयाँ रिपोर्टहरू दर्ता भएका छन्।
बेपत्ता हुनेहरूमा बालबालिका र ज्येष्ठ नागरिकको संख्या पनि ठूलो छ। तथ्याङ्क अनुसार १८ वर्ष मुनिका ९९४ जना बालबालिका र ६० वर्ष माथिका ५३० जना ज्येष्ठ नागरिक अझै हराइरहेका छन् । सरकारी तथ्यांक अनुसार हालसम्म ७८१ को शव भेटिएको छ। ९ हजारभन्दा धेरैको उद्धार गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा स्टाटस लेखेर जानकारी दिएका हुन् ।
यता त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ । शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको उनले बताए ।
सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । डिएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी सङ्केत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ । यस्तै हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अन्य (अवशेष) रहेका छन् ।
नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ । यसबीच रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा निरन्तर उद्धार कार्य जारी छ । सोमबार बिहान करिब ३ बजे ‘क्राउन ब्लास्ट’ गरिएको छ ।
तर, भित्र पस्न नसकिएको त्यहाँ खटिएका रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले जनाएका छन् । क्राउन (माथिल्लो भाग) पूरै पानीले भरिएको छ । सुरुङको मुख खोल्ने कार्य जारी रहेको उनले उल्लेख गरेका छन् ।
“राति (सोमबार बिहान) करिब ३ बजे क्राउन ब्लास्ट गरियो । भित्र पस्ने आशा असम्भव भयो,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सुरुङको क्राउन पूरै पानीले भरिएको छ । पहिलेदेखि निरन्तर जारी रहेको सुरुङको मुख खोल्ने कार्य जारी छ ।”
यता नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोका कारण अति प्रभावित तीन जिल्लामा कम्तीमा १९ वटा विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । विशेषगरी रसुवा र नुवाकोटका शैक्षिक संस्थाहरूमा व्यापक क्षति पुगेको छ ।
बाढी–पहिरोमा परी २०० भन्दा बढी विद्यार्थी बेपत्ता छन् । कम्तीमा २० जना विद्यार्थी बाढीमा बगेको पुष्टि भएको छ । विभिन्न विद्यालयका शिक्षकसमेत सम्पर्कविहीन छन् । कम्तीमा नौवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । सातवटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।
रसुवा र नुवाकोटका क्षतिग्रस्त विद्यालयहरूमा कुल दुई हजार ४२५ जना विद्यार्थी अध्ययनरत थिए । तीमध्ये धेरै विद्यालय लेदोले पुरिएका वा बाढीले बगाएका छन् । एउटा विद्यालयले आफ्ना विद्यार्थी सवार बस नै बाढीले बगाएको जानकारी मन्त्रालयलाई गराएको छ ।
उता हजारौँ उद्धारकर्मीहरूले रसुवा जिल्लाका जलविद्युत् आयोजनाका सुरुङभित्र कैयौँ दिनदेखि फसेका हुन सक्ने मानिसहरूको खोजी गरिरहेका छन् । यसैबीच, तिब्बतको सीमा नजिकै पहिरोका कारण बनेका नयाँ ताललाई लिएर पनि चिन्ता बढेको छ ।
त्यहाँ पानीको सतहको अवस्था मूल्याङ्कन भइरहेकाले केही उद्धार टोलीलाई फिर्ता बोलाइएको अधिकारीहरूले बताएका छन् । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री राहत कोषमा आइतबार मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा उक्त रकम संकलन भएको हो । हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको छ । उता रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् ।
नेपाल–चीनबीचको (रसुवागढी–केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् । मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ ।
सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि कोरलानाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको सङ्ख्या वृद्धि भइरहेको जनाएको छ । कोरलानाकातर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तुहरु कोरलानाकातर्फ ‘डाईभर्ट’ भएकाले मालवस्तु ढुवानी गर्न कोरलातर्फ जाँदै गरेको जानकारी दिए ।
कोरलानाकालाई वैकल्पिक नाका रुपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलास्थित मुस्ताङ भन्सार कार्यालय आव २०८२ ÷०८३ मा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो । यसैगरी, चालु आवको पहिलो साउन महिनामा २९ करोड राजस्व सङ्कलन गरेको थियो ।
मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी रहेपछि १२ जना मात्रै कर्मचारी कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए । उता आइतबार चीनको जलस्रोत मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको जिरोङ (केरुङ) काउन्टीमा नदी थुनिएर बनेको ताल लगभग रित्तिसकेको छ ।
यद्यपि उक्त तालमा मिसिने नेपाली नदीमा पानीको बहावले बनाएको एउटा गहिरो खाल्डो र तल्लो तटीय क्षेत्रका तीनवटा जलमग्न इलाकामा अझै ठूलो जोखिम रहेको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार ड्रोन फुटेज, प्यानोरामिक तस्बिर र अग्रपङ्क्तिमा खटिएको आपतकालीन टोलीको प्रतिवेदनमा आधारित पछिल्लो मूल्याङ्कनले चीनको पुरेपु साङ्पो नदीमा थुनिएर बनेको ताल लगभग खाली भइसकेको र नदीको बहाव सामान्य रूपमा अघि बढिरहेको देखाएको छ ।
तर, पुरेपु साङ्पो नदीमा मिसिने छोचेन खोलामा अझै पनि ठुलो जोखिम कायमै रहेको कुरामा मन्त्रालयले जोड दिएको छ । तालबाट करिब ५.६ किलोमिटर माथितिर रहेको नेपाली नदीको उक्त खाल्डोमा अझै पनि करिब १४ लाख घनमिटर पानी जम्मा भएर बसेको मन्त्रालयले जनाएको छ।
उक्त खाल्डो थुनिएर बनेको तालभन्दा करिब ८०० मिटर उचाइमा छ । भूउपग्रहबाट प्राप्त तस्बिरका आधारमा मन्त्रालयले शनिबार बिहान ११ः२३ बजेसम्म उक्त खाल्डोमा पानीको सतह करिब १ लाख ८ हजार वर्गमिटर रहेको बताएको छ। यो क्षेत्रफल बिहान ७ बजेको तुलनामा १९,००० वर्गमिटरले कम हो ।
त्यसैगरी, उक्त खाल्डोबाट २.५ किलोमिटर तल्लो तटीय क्षेत्रमा अन्य तीनवटा जलमग्न इलाकाहरू पनि पहिचान गरिएको र तिनको कुल क्षेत्रफल ७०,००० वर्गमिटरभन्दा कम रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जोड दिँदै भनेको छ, ‘नेपालको छोचेन खोलामा रहेको खाल्डो र तल्लो तटीय क्षेत्रका तीनवटा जलमग्न इलाकाहरूले महत्त्वपूर्ण जोखिम र लुकेका खतराहरू निम्त्याइरहेका छन्।’
मन्त्रालयले शनिबार नेपालतर्फ गएको पहिरोपछि पुरेपु साङ्पोमा थुनिएर बनेको तालबाट २.८ किलोमिटर तल अर्को नयाँ ताल बनेको पनि जनाएको छ। माथिबाट आएको पानीको बहावले उक्त ताल फुटिसकेको र अहिले पानी सामान्य धारमै बगिरहेको छ ।
सो क्षेत्रका विभिन्न नदी किनारमा नयाँ पहिरो गएर फेरि नदी थुनिई नयाँ ताल बन्न सक्ने जोखिम अझै बाँकी रहेको मन्त्रालयले बताएको छ । सिचाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार नेपाल–चीन सीमास्थित जिरोङ बन्दरगाहमा गएको पहिरोका कारण शनिबार साँझ ६ बजेसम्म १६ जनाको मृत्यु भइसकेको छ भने ५४६ जना अझै बेपत्ता छन्।
यता अधिकारीहरुका अनुसार बुधवारको भीषण बाढीपछि उद्धार कार्यका लागि केही विशेषज्ञ टोली नेपाल आइसकेका छन् भने उद्धार सामग्रीहरू प्राप्त हुने क्रम जारी छ । “भोटेकोशी–त्रिशूली क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमध्ये कतिपयमा २० मिटरभित्रसम्म बाढीले बगाएर ल्याएको लेदो थुप्रिएकाले हामीलाई उद्धार कार्य सञ्चालन गर्न समस्या परिराखेको थियो,“ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले भने, “भारत र चीनबाट आएका विशेषज्ञ टोलीहरूले यतिबेला हाम्रा सुरक्षा निकायहरूसँग मिलेर त्यहाँ काम गरिराखेका छन्। अन्य देशहरूले पनि उद्धार कार्यका निम्ति प्रस्ताव गरेका छन् तर शनिवारदेखि नै ’फील्ड’मा काम भइरहेकाले हामी ’पर्ख र हेर’को स्थितिमा छौँ। थप चाहिने महसुस ग¥यौँ भने विशेषज्ञहरू मगाउँछौँ।“
गृह मन्त्रालयअन्तर्गतको ’न्याश्नल इमर्जेन्सी अपरेशन सेन्टर’ (एनईओसी)का प्रमुख फणीन्द्रप्रसाद पौडेलले बताएअनुसार भारतबाट आएका सुरुङ विशेषज्ञसहित २४ जनाको टोली चिलिमे आयोजनामा तथा १६ जना चिनियाँ विशेषज्ञ सम्मिलित टोली माथिल्लो त्रिशूली आयजनामा खटिएका छन् ।
त्यसबाहेक, भग्नावशेषभित्र वा जमिनबाट नदेखिने भागमा जीवित मानिस भए–नभएको पत्ता लगाउन प्रयोग हुने ’स्क्यानर’ पनि प्राप्त भएको प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले जानकारी दिए । “उक्त ’स्क्यानर’ खोज तथा उद्धार कार्य चलिरहेका क्षेत्रमा पठाइसकेका छौँ।“
परराष्ट्र प्रवक्ताका अनुसार ’फोरेन्सिक’ विज्ञहरूको एउटा समूह पनि भारतबाट आइसकेको छ। त्यस्तै, अहिलेसम्म भारत, चीन र यूएईबाट विभिन्न प्रकारका सहायता सामग्रीहरू समेत नेपाल आइसकेका प्रवक्ता क्षेत्रीले बताए । “अन्यबाट आउने क्रममा छन् र आएका सामग्रीहरूमा ’खोज र उद्धार’मा प्रयोग हुने सामग्री नै धेरै छन्।“ तिनमा त्रिपाल, डोरी, शव राख्ने थैला, जेनरेटर, सोलार बत्ती र औषधिजस्ता सामग्री रहेका बताइएको छ ।
“ती प्राप्त गर्ने र सम्बन्धित स्थानमा पठाउने क्रम जारी छ,“ प्राधिकरणका उप्रेतीले भने। उनका अनुसार सडक नभएका (वा उबडखाबड भएका) स्थानमा समेत चलाउन सकिने गाडीको आवश्यकता देखिएकाले छिमेकी भारतसँग समन्वय गरी त्यस्ता गाडी ल्याउने प्रक्रिया पनि अघि बढाइएको छ।
“दुइटा त्यस्ता गाडी पनि आउने क्रममा छन्।“ परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीका अनुसार आवश्यकताअनुसार थप सामग्रीको आकलन गर्ने काम पनि निरन्तर भइरहेको छ। “कुनै पनि बेला कुनै पनि सामग्रीको खाँचो पर्न सक्ने हाम्रो अवस्था छ। त्यसैका आधारमा मित्रराष्ट्रहरूसँग समन्वय गरिराखेका छौँ।“
तत्कालका लागि खोज तथा उद्धार कार्यको पाटोमा समन्वय भइरहे पनि त्यससँगै राहत तथा त्यसपछिको पुनर्निर्माणका चरणमा समेत सहयोगको आवश्यकता पर्ने उनले बताए। उद्धार कार्यकै हिस्साका रूपमा सरकारले छिमेकी मुलुकहरूसँग थुप्रै ’बेलिब्रिज’को समेत माग गरेको बताइएको छ ।
’बेलिब्रिज’ पूर्वनिर्मित पार्टपुर्जाबाट छिटो र सहज रूपमा जडान गर्न सकिने अस्थायी तथा स्थानान्तरण गर्न सकिने पुल हो । सडक विभागका अनुसार हालैको बाढीका कारण करिब ४० वटा पुल बगेका छन् । “बाढी आएकै दिनमा ’बेलिब्रिज’को कुरा गरेका हौँ। ती चीन र भारतबाट आउने चरणमा छन् र लगभग ४० वटाकै सङ्ख्यामा आउँदै छन्,“ परराष्ट्रका प्रवक्ता क्षेत्रीले भने ।
विपद् प्राधिकरणका प्रमुख उप्रेती काठमाण्डू र नारायणगढजस्ता स्थानहरू प्रभावित नभएकाले राहततर्फ भने धेरै आत्तिनुपर्ने अवस्था नदेखिएको बताउँछन् । “एउटा करिडोर मात्रै प्रभावित भएकाले खाद्य सामग्रीहरू आफैँ आपूर्ति गर्न सक्छौँ। त्यसैले त्यसका निम्ति बाह्य सहयोग मागेका छैनौँ,“ उनले भने, “यद्यपि राहतकै हकमा पनि सहायताको इच्छा देखाउनेहरूलाई शव व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्रीबारे अनुरोध गरिराखेका छौँ। अब अर्को चरणमा हामीलाई अस्थायी आवासका लागि सामग्रीहरू आवश्यक पर्ने भएकाले त्यसमा पनि एक किसिमको सहायता खोज्छौँ र त्यसपछि ’दीर्घकालीन रिकभरी’को चरणमा प्रवेश गर्छौँ।“
यता पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु नजिकै शीतल बजारमा पनि सडक भासिएको छ । आइतबार आएको बाढीपछि चर्किएको यो खण्ड अहिले भत्किएको स्थानीय सुयोग मरहठ्ठाले जानकारी दिए। सडक झन्डै ६० मिटर भासिएको छ ।
आइतबार कृष्णभीर र मलेखु नजिकै परेवाभीरमा सडक भासिएपछि यो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । मुख्य राजमार्गका विभिन्न ठाउँमा एकैपटक सडक कटान र पहिरो गएकाले राजधानी काठमाडौंलाई पूर्वी तथा पश्चिमी नेपालसँग जोड्ने यो प्रमुख सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ –देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अविरल वर्षाका कारण मुख्य राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
नेपाल प्रहरीको सोमबार बिहान ६ बजेसम्मको विवरण अनुसार कोशी र बागमती प्रदेशका केही प्रमुख सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन् । बागमती प्रदेशमा बाढी तथा पहिरोका कारण विभिन्न सडकखण्ड प्रभावित भएका छन् ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । उक्त सडकमा २०८३ भदौ १० गते बिहान ८ बजेदेखि अवरोध रहेको छ र लामो समयसम्म अवरोध रहने जनाइएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ । त्यस्तै, बाढीका कारण पासाङल्हामु सडकखण्डमा पनि सवारी आवागमन प्रभावित भएको छ ।
काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा २०८३ जेठ २२ गते साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।
मकवानपुरमा बाढी तथा पहिरोका कारण हेटौंडा–ठिंगन–बागमती सडकखण्ड प्रभावित छ। कान्तिलोकपथअन्तर्गतको उक्त सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ। त्यस्तै, बाढीका कारण पासाङल्हामु सडकखण्डमा पनि सवारी आवागमन प्रभावित भएको छ ।
यसबीच तीन दिनको जलसतह पूर्वानुमान अनुसार कोशी जलाधारका सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीमा उल्लेख्य बढ्ने क्रम रहनेछ । नारायणी जलाधारतर्फ नारायणी, बुढीगण्डकी, मस्र्याङ्दी, सेती र कालिगण्डकीमा बहाव उल्लेख्य बढ्नेछ भने त्रिशूली नदी बेत्रावती क्षेत्रमा उल्लेख्य बढ्ने अनुमान गरिएको छ।
साना नदीहरूको बाढी पूर्वानुमानअनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूमा पनि जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । साथै नुवाकोट र रसुवा जिल्ला भई बहने साना नदीहरूमा भने बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।




