केरुङमा मंगलबारसम्म निरन्तर वर्षा, नेपालमा आउन सक्छ बाढी

१५ भदौ ८३, सोमबार
Share this
762shares

१५ भदौ, काठमाण्डौ।

Advertisement

चिनियाँ सरकारी सञ्चारमाध्यमले शनिबार साँझ बनेको थुनिएको ताल ‘प्राकृतिक रूपमा निकास भई लगभग खाली भएको’ बताएका छन् । तर, केरुङमा मंगलबारसम्म ‘निरन्तर वर्षा’ जारी रहने बताइएको छ । उक्त क्षेत्रमा निरन्तरको वर्षाले लेहेन्दे नदी प्रणालीमा प्रभाव पार्ने छ जसको असर नेपालतर्फ भोटेकोशी हुँदै त्रिशुली नदी बेसिनमा पर्ने छ ।

सीसीटीभीका अनुसार, केरुङका केही अति प्रभावित क्षेत्रहरूमा १ मिटरभन्दा बढी बाक्लो लेदो थुप्रिएको छ, जसका कारण मानिसहरू फस्ने उच्च जोखिम रहेको छ । सीमा नाकामा खोजी तथा उद्धार कार्य जारी छ, जहाँ ११७ जना अग्निनियन्त्रक र १३ वटा उद्धार कुकुरहरू परिचालन गरिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

Advertisement

सरकारी सञ्चारमाध्यमका अनुसार हालसम्म दुई चरणको खोजी कार्य सम्पन्न भइसकेको छ । यता नेपालको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि आज एक बुलेटिन जारी गर्दै देशका विभिन्न भागमा बाढीको जोखिम रहेको जनाएको छ ।

महाशाखाका अनुसार विशेष गरी नुवाकोट र रसुवा जिल्ला भएर बहने स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । त्रिशूली नदी (बेत्रावती क्षेत्र) मा बहाव उल्लेख्य बढ्ने सूचनामा उल्लेख छ ।

Advertisement

बुलेटिनमा भनिएको छ, ‘गत भदौ १० गते भोटेकोशी (रसुवा) मा आएको बाढी पश्चात् हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे तापनि अझै उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ ।’ महाशाखाले सार्वजनिक गरेको ३ दिनको बाढी पूर्वानुमान अनुसार, आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, दार्चुला, कैलाली र कञ्चनपुरसहित २९ जिल्लाका स–साना नदीहरूमा बाढीको मध्यम जोखिम रहेको छ ।

यी जिल्लाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सजग रहन सूचित गरिएको छ । आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल नै रहेको छ ।

तीन दिनको जलसतह पूर्वानुमान अनुसार कोशी जलाधारका सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीमा उल्लेख्य बढ्ने क्रम रहनेछ । नारायणी जलाधारतर्फ नारायणी, बुढीगण्डकी, मस्र्याङ्दी, सेती र कालिगण्डकीमा बहाव उल्लेख्य बढ्नेछ भने त्रिशूली नदी बेत्रावती क्षेत्रमा उल्लेख्य बढ्ने अनुमान गरिएको छ।

कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूमा पनि जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । साना नदीहरूको बाढी पूर्वानुमानअनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

साथै नुवाकोट र रसुवा जिल्ला भई बहने साना नदीहरूमा भने बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । हिजो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको मेलम्ची–घ्याङमा ८९.६ मिलिमिटर मापन गरिएको छ ।

यस अवधिमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने अन्य प्रदेशहरूमा पनि हल्कादेखि मध्यमसम्म वर्षा दर्ता भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले देशभर मौसम बदली भएको हो । आज देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना देखिएको छ ।

देशका पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top