भारततर्फ शव भेटिने क्रम जारी, २८० शवको व्यवस्थापन, ४४ सदस्यीय कोरियाली टोली आउँदै

१६ भदौ ८३, मंगलबार
Share this
736shares

१६ भदौ , काठमाण्डौ ।

Advertisement

भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीमा परेर मृत्यु हुने मानिसहरूको शव फेला पर्ने क्रम आज सातौं दिन भइसक्दा पनि अझै जारी छ । अहिलेसम्म चितवनमा सर्वाधिक सङ्ख्यामा शवहरू फेला परेको सरकारी निकायहरूले जनाएका छन् ।

रसुवादेखि नवलपरासी पश्चिमसम्म गरी आठवटा जिल्लामा शवहरू फेला परेका छन् । नेपाल प्रहरीले आफ्नो वेबसाइटमा प्रकाशित गरेको विवरणअनुसार हिजो साँझसम्म मृतकको सङ्ख्या ९५१ पुगेको पुष्टि भएको छ । तीमध्ये चितवनमा २८२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

त्यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मृतकको सङ्ख्या ९३९ भएको जनाएको थियो । सरकारी निकायहरूले त्यसपछि अर्को विवरण दिएका छैनन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मानिसहरूको खोजी, उद्धार र राहतमा सुरु दिनदेखि नै काम गर्दै आएका छन् ।

त्यसमा जलविद्युत् आयोजनाका सुरुङमा फसेकालाई खोज्नेदेखि सडकमा भएका अवरोध हटाउने काममा पनि सुरक्षाकर्मीहरू खटिएका छन् । अहिलेसम्म घाइते तथा अन्य उद्धार गरिएको संख्या ११ हजार ३७९ रहेको छ । सम्पर्कविहीनको संख्या भने ३ हजार ९२५ रहेको जनाइएको छ ।

Advertisement

उद्धारमा परिचालित सुरक्षाकर्मी संख्या भने २१ हजार ८ रहेको छ । यो विपतमा परि हालसम्मका घाइतेको संख्या २७९ हरेको छ । यसैबीच नुवाकोटको एउटा मिनिमार्टमा २४ शव फेला परेको खबरले सबैलाई स्तब्ध पारिदिएको छ । विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया मिनिमार्टमा २४ शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सोमबार खोजतलास तथा उद्धारका क्रममा ती शव भेटिएको नुवाकोट प्रहरीका प्रमुख एवं एसपी विपिन रेग्मीले जानकारी दिए । त्यहाँबाट संकलित शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको उनले जानकारी दिए । थप उद्धार कार्य र अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यसैबीच फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना संकलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार यही भदौ १० गते राति देखि नै सुरक्षाकर्मीले त्रिशूली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए ।

११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनएलगायत जैविक नमूना संकलन तथा अभिलेखीकरणको काम सुरू गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव संकलन गरिएको छ ।

तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन् । उनले भविष्यमा पहिचान गर्न सकिने गरी अन्तरराष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा ती शवको व्यवस्थापन गरिएको बताए । भदौ १३ गते ९६ शव, भदौ १४ गते १०३ शव र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको हो ।

प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी रहेको बताए । नदीबाट फेला परेका शव भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण र डिएनए नमूना संकलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको उनले जानकारी दिए ।

यसैबीच बाढीबाट पुगेको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्न लागेको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने छ ।

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ । उता नेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ ।

कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा अज्ञात शव फेला परेको छ । फेला परेको शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन् । नदीमा फेला परेको शवमध्ये ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहमा ठाउँको अभाव भएपछि बाँकी ७ वटा शवलाई गोरखपुरस्थित एम्स पठाइएको प्रशासनले जनाएको छ ।

नदीमा अझै शव भेटिन सक्ने आशंकामा एसडीआरएफ र एनडीआरएफका टोलीले नारायणी नदीमा निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् । कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी (सीडीओ) वन्दिता श्रीवास्तवले दिएको जानकारीअनुसार शवसम्बन्धी निर्धारित कानुनी प्रक्रियाअनुसार आवश्यक सबै काम भइरहेको छ ।

उनका अनुसार कुशीनगर जिल्ला प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग सम्पर्क गरिरहेको छ। साथै, भारतीय विदेश मन्त्रालयमार्फत पनि बरामद भएका शवबारे नेपाललाई जानकारी गराउने काम भइरहेको छ । प्रशासनका अनुसार शवको पोस्टमार्टमलगायत आवश्यक प्रक्रिया पूरा भएपछि ती शव नेपाललाई हस्तान्तरण गरिनेछ।

त्यसपछि शवको पहिचान गरी सम्बन्धित परिवारसम्म पु¥याउने प्रक्रिया अघि बढाइनेछ । यसैबीच, नेपालबाट भारततर्फ आउने तथा आफन्तको खोजीमा कुशीनगर पुग्ने नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जिल्ला प्रशासनले नियन्त्रण कक्ष (कन्ट्रोल रुम) समेत स्थापना गरेको जनाएको छ ।

यता काठमाडौं उपत्यका र आसपासका जिल्लामा पहिरो तथा बाढीका कारण मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीको आज बिहान ७ बजेसम्मको विवरणअनुसार ललितपुर, रसुवा, नुवाकोट र धादिङका सडक खण्डमा यातायात प्रभावित छ ।

ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध छ । २०८३ भदौ १५ गतेबाट अवरुद्ध भएको उक्त सडक खुलाउने प्रयास भइरहेको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड अवरुद्ध छ।

उक्त खण्डमा बिहान ८ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

२०८३ भदौ १ गते राति १० बजेदेखि अर्को सूचना नभएसम्म बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।  धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ परेवाभीरमा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

कृष्णभीरमा २०८३ भदौ १४ गतेदेखि र परेवाभीरमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको हो । यस्तै, बाढीको जोखिमका कारण बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिअनुसार सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ । यता नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ धमाधम तुइन निर्माण सुरु गरिएको छ । त्रिशूली नदीमा आएको बाढीले पुल बगाउनुका साथै सडकमा क्षति पु¥याएपछि विदुरसहित रसुवासम्मको सडक यातायात अवरुद्ध भएको छ ।

त्रिशूली अस्पतालसहित जिल्लाका विभिन्न क्षेत्र र रसुवासँगको सडक यातायात यही भदौ १० गतेदेखि बन्द छ । बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धार, शव व्यवस्थापन र राहत वितरणमा समस्या भएकाले तत्काल आवागमन सहज बनाउन तुइन निर्माण थालिएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अस्पतालका लागि औषधि तथा अन्य आवश्यक सामग्री ल्याउन विदुर–१ इन्द्रायणी चौरदेखि विदुर–१ गुम्बा जोडने तुइन निर्माण भइरहेको छ । करिब ३०० मिटर लामो उक्त तुइन निर्माण अन्तिम चरणमा पुगेकाले मङ्गलबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

यस्तै, बाढीले देवीघाटको पक्की पुल बगाएपछि विदुरसँग बेलकोटगढी नगरपालिकाको सम्पर्क स्थापित गर्न पनि तुइन निर्माण सुरु गरिने भएको छ । उक्त स्थानमा मङ्गलबार बिहानदेखि काम सुरु गरी छिट्टै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए।

उनका अनुसार त्रिशूली नदीमा आएको बाढीले नुवाकोट र रसुवाका १८ वटा पक्की पुलमा क्षति पु¥याएको छ । केही बस्तीमा घुमाउरो बाटोबाट जान सकिने भए पनि नुवाकोटको किस्पाङ तथा रसुवाको ठुलो गाउँ, डाँडागाउँलगायत त्रिशूलीपारिका बस्तीमा सडकबाट पुग्न नसकिने भएकाले तुइन निर्माण गरी आवागमन सहज बनाइन लागिएको हो ।

नेपाली सेना, स्थानीय पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाको प्राविधिक सहयोगमा विदुरबाट त्रिशूली नदी पार गर्न पाँच स्थानमा तुइन निर्माण गर्ने तयारी गरिएको छ । एक स्थानमा तुइन निर्माण गर्न करिब रु १५ लाख खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।

यस्तै, बेलिब्रिज निर्माणका लागि नेपाली सेनाले प्राविधिक अध्ययन अघि बढाएको छ । प्रधानमन्त्री वालेन्द्र शाह र पूर्वाधार विकासमन्त्री सुनील लम्सालले केही दिनअघि बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुहुँदै त्रिशूली नदी वारपारका लागि उपयुक्त स्थानमा तत्काल बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

त्यसपछि नेपाली सेनाको प्राविधिक टोलीले बाढीबाट क्षतिग्रस्त ढुङ्गेबगर, त्रिशूली बजार, देवीघाट र बेत्रावतीमा पुल निर्माणका लागि अध्ययन थालेको हो । यता रसुवाको भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण १३ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार ३५४ मेगावाट बिजुली उत्पादन गरिरहेका र निर्माणाधीन ३९४ मेगावाट क्षमताका गरी कुल ७४८ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको हो । कुन आयोजनामा कति क्षति पुगेको छ भन्ने यकिन विवरण आइसकेको छैन।

तर केहीमा पूर्ण क्षति भएको आकलन छ । क्षति पुगेका १३ वटा जलविद्युत आयोजनाको निर्माण लागत एक खर्ब ४५ अर्ब ४७ करोड रूपैयाँ देखिन्छ । यसैबीच पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त संरचनाको व्यवस्थापन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

मन्त्रालयका अनुसार उक्त कार्यदलले २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका कार्यहरू अघि बढाउने गरी जिम्मेवारी पाएको छ। कार्यदलले विशेष गरी प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, सञ्चार, स्वास्थ्य तथा बाढीका कारण थुप्रिएका भग्नावशेष व्यवस्थापनका लागि आवश्यक समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ।

गठित कार्यदललाई विपद्बाट भएको क्षतिको शीघ्र प्राविधिक एवं वस्तुगत मूल्याङ्कन गर्ने तथा तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन सेवाहरूको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गर्ने मुख्य जिम्मेवारी तोकिएको छ। कार्यदलले प्रभावित क्षेत्र, संरचना र परिवारलाई जोखिम तथा प्राथमिकताका आधारमा वर्गीकरण गर्दै तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार पार्नेछ।

यस प्रक्रियामा आवश्यक पर्ने जनशक्ति, उपकरण, सामग्री र वित्तीय स्रोतको आवश्यकता निर्धारण गरी संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय र विकास साझेदारहरूबीच प्रभावकारी समन्वय गर्ने मन्त्रालयले जनाएको छ। पुनर्निर्माणका कार्यहरूलाई दिगो बनाउन कार्यदलले ‘बिल्ड ब्याक बेटर’ को सिद्धान्त लागू गर्नेछ।

यसअन्तर्गत भूगर्भीय अवस्था, जलवायु परिवर्तन र भविष्यमा आउन सक्ने बाढी–पहिरोजस्ता जोखिमलाई मध्यनजर गर्दै सुरक्षित संरचना निर्माणमा जोड दिइनेछ। लगानीको दोहोरोपना र स्रोतको दुरुपयोग रोक्न एकीकृत योजना र सूचना प्रणालीको प्रयोग गरिनेछ भने आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष सिफारिस गर्ने अधिकार समेत कार्यदललाई दिइएको छ।

कार्यदलले आफ्ना कार्यहरूको नियमित अनुगमन, गुणस्तर सुनिश्चितता र कार्यप्रगति प्रतिवेदन पेश गर्नुपर्नेछ। पुनःस्थापनाका क्रममा प्राप्त अनुभव र तथ्यका आधारमा भविष्यमा विपद् न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझाव दिने जिम्मेवारी समेत कार्यदललाई सुम्पिएको छ।

सबै सरोकारवाला निकायसँगको समन्वयमा प्रभावित क्षेत्रको पूर्वाधार पुनःसञ्चालन गरी नागरिकलाई शीघ्र सामान्य अवस्थामा फर्काउनु यस पहलको मुख्य उद्देश्य रहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
उता नेपालमा गएको बाढी र पहिरोपछि हिमनदी तथा जलस्तरसम्बन्धी आवश्यक पूर्वसूचना उपलब्ध नगराएको भनी उठेका प्रश्नहरूलाई चिनियाँ विदेश मन्त्रालयले अस्वीकार गरेको छ ।

चीनले नेपालसँग मौसम, जलस्रोत तथा विपद् व्यवस्थापनको क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ । चीनले विपद् राहत तथा उद्धारमा नेपाललाई पूर्ण सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । चिनियाँ पक्षका अनुसार मौसम सम्बन्धी हाइड्रोलोजिकल र मेट्रोलोजिकल तथ्यांक नियमित रूपमा प्रदान गरिँदै आएको छ ।

चिनियाँ विदेश मन्त्रालयले रोयटर्सलाई उपलब्ध गराएको एक वक्तव्यमा दुवै देशबीच मौसम विज्ञान, जलस्रोत र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सुदृढ सहकार्य रहँदै आएको जनाएको छ । चीनले नेपालको राहत कार्यमा पूर्ण सहयोग जारी राख्ने र दुवै देशका जनताको साझा हित रक्षाका लागि सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

दुवै देशका नागरिकको सुरक्षा र हित रक्षाका लागि विपद् न्यूनीकरणमा सहकार्य थप बलियो बनाइने चीनको विदेश मन्त्रालयले रोयटर्सलाई दिएको एक वक्तव्यमा उल्लेख छ । बाढी आउनुअघि चीनसँग विशेष गरी आफ्नो सीमाबाहिरका हिमाली क्षेत्रका हिमनदीको अवस्थाबारे कुन स्तरको तथ्यांक उपलब्ध थियो भन्ने अझै स्पष्ट हुन नसकेको रोयटर्सले जनाएको छ ।

तर, चेङ्दु युनिभर्सिटी अफ टेक्नोलोजीका भू–जोखिम विशेषज्ञ फ्यान सुआनमेईले यस्ता हिमाली क्षेत्रमा विपद् आउनुअघि नै जोखिम पत्ता लगाउनु अत्यन्तै कठिन हुने बताए ।

पाँच हजार मिटरभन्दा बढी उचाइमा हुने भएकाले परम्परागत रूपमा मैदानमै गएर निगरानी गर्न असम्भवप्रायः हुनुका साथै, अत्यधिक चिसो र उच्च उचाइका कारण सेटेलाइट तस्बिरहरू हिउँ, बरफ र भिरालो भूगोलले गर्दा अस्पष्ट हुने र अनुगमन उपकरणहरूले काम गर्न कठिन हुने उनले बताए ।

यसैबीच खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ । दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । विपत् प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल सरकारले गरेको सहायताको आग्रहबमोजिम यो टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालय र अग्नि नियन्त्रण निकायका अधिकारीहरू सम्मिलित उक्त टोली सैन्य यातायात विमानमार्फत मंगलबार नै नेपालतर्फ प्रस्थान गर्नेछ। यो टोलीले नेपालमा रहेर करिब १० दिनसम्म उद्धार तथा सहायताको काम गर्नेछ।

गत साता आएको विनाशकारी बाढीमा परी एक जलविद्युत् आयोजनामा बेपत्ता भएका नौ जना कोरियाली कामदारको खोजबिनका लागि दक्षिण कोरियाले यसअघि नै एक द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको थियो । सुरुवाती चरणमा नेपाली सेनाले लागू गरेको उडान प्रतिबन्धका कारण उक्त द्रुत टोली प्रभावित क्षेत्रमा पुग्न ढिलाइ भएको थियो।

कोरियाली सञ्चारमाध्यमका अनुसार आवश्यक स्वीकृति पाएपछि उक्त टोलीले शनिबारदेखि शंकास्पद स्थलहरूमा हवाई खोज अभियान सुरु गरिसकेको छ। अब आजको मौसमसम्बन्धी पनि जानकारी लिउँ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

यस्तै आज देशका विभिन्न २५ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ ।

नेपाल बाढी सूचनाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्लाबाट बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताइएको छ। नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । त्यस्तै, नुवाकोट र रसुवामा भने स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top