फेरि सुरु भयो हानाहान, विवाह समारोहमै अमेरिकी बमबारी, पाँच इरानीको मृत्यु

Share this
775shares

१७ भदौ , काठमाण्डौ ।

Advertisement

अमेरिका र इरानबीच फेरि सैन्य द्वन्द्व चर्किएको छ । गएराति अमेरिकाले पुनः आक्रमण गरेपछि इरानले पनि जवाफी हमला गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले मंगलबार इरानमा पुनः आक्रमण सुरु गरेको हो ।

सेन्टकमले भनेको छ, ‘इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूमा आक्रमण प्रयास गरेपछि अमेरिकाले हमला गरेको हो । आक्रमणमा बच्चासहित चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको इरानी रेड क्रेसेन्टले जनाएको छ । इरानी रेड क्रेसेन्टले भनेको छ, ‘दक्षिणी इरानको सिरिकमा अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट निस्केको छर्रा विवाह समारोह भइरहेको घरमा लाग्यो । त्यही घटनामा ती मानिस मारिएका र घाइते भएका हुन्।’

Advertisement

इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माएल बाघेईले यसलाई बर्बर आक्रमणको संज्ञा दिँदै एक बालकसहित कम्तीमा पाँचजनाको मृत्यु भएको जनाएका छन् । सिरीकका गभर्नर राजा शाहिदियानका अनुसार बुधबार बिहान भएको आक्रमणमा ६३ जना घाइते भएका छन्, जसमा ५० जनाभन्दा बढी महिला र बालबालिका छन् ।

घाइतेहरूलाई नजिकैको मिनाब सहरको अस्पतालमा भर्ना गरिएको छ । फार्स समाचार संस्थासँग कुरा गर्दै आक्रमणबाट जोगिएका एक बालकले लडाकु विमानको आवाज सुनेलगत्तै भीषण विस्फोट भएको थियो । त्यसको जवाफमा इरानले पनि इराक र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

कुवेत र बहराइनमा पनि आक्रमण गरिएको रिपोर्ट आएका छन् । आईआरजीसीले भनेको छ, ‘अमेरिका यो आक्रमणबाट पछुताउनेछ।’ इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमका अनुसार सिरिकमा गरिएको आक्रमणको जवाफमा बुधबार बिहान इरानले जोर्डनको अकाबामा रहेको अमेरिकी समुद्री अड्डामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

जोर्डनको सशस्त्र बलले १३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र रोकिएको बताएको छ। यीमध्ये दस वटा नष्ट भएका छन् भने तीनवटा दुर्गम क्षेत्रमा खसेका छन्। इरानी आक्रमणमा कुनै मृत्यु वा घाइते भएको कुनै रिपोर्ट आएको छैन ।

यसैबिच कुवेती सेनाले बुधबार बिहान इरानी क्षेप्यास्त्र आक्रमणको जवाफमा आफ्नो हवाई रक्षा प्रणाली सक्रिय रहेको बताएको छ । उता अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा लक्षित गरी अर्को चरणको भीषण हवाई आक्रमण गरेको जनाएको हो ।

अमेरिकी कारबाहीमा इरानका हवाई रक्षा प्रणाली, राडार संयन्त्र, समुद्री पूर्वाधार, माइन बिछ्याउने क्षमता र सञ्चार केन्द्रहरूलाई निसाना बनाइएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौताको आवश्यकता नरहेको दाबी गरेका छन् ।

ट्रम्पका अनुसार, सामरिक महत्त्वको ‘होर्मुज जलमार्ग’ माथि अमेरिकाको लगभग पूर्ण नियन्त्रण कायम भइसकेको र इरानको अर्थतन्त्र निरन्तर धराशायी भइरहेको छ । ट्रम्पले यदि इरानले थप प्रतिशोधपूर्ण कारबाही जारी राखेमा उसले अहिलेसम्मकै ठूलो र विनाशकारी सैन्य कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

यता अमेरिकाले इरानमाथि हमलाको श्रृंखला बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि जनाएका छन् । जुलाई अन्तिम सातापछि इरानमा सोमबार पहिलो हमला गरेको अमेरिकाले मंगलबार विभिन्न स्थानमा हमला गरेको बीबीसीले जनाएको छ ।

इरानी सञ्चारमाध्यमहरूले पनि विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको बताएका छन् । समाचार संस्था तास्निमका अनुसार क्वेसम द्वीपमा विस्फोटका धेरै आवाज सुनिएका छन् । यस्तै कोनार्क र बन्दर अब्बासमा पनि ठूलो आवाज सुनिएको उल्लेख गरिएको छ ।

यस्तै इरानी सेनाले अमेरिकी सेनालाई आतंकवादीको संज्ञा दिँदै ठूलो क्षतिका लागि तयार रहन चेतावनी दिएको छ । ’’जति इरानमा आतंक बढाउँदै जान्छ त्यति नै ठूलो क्षति बेहोर्न अमेरिका तयार होस्,’’ सेनाको वक्तव्य उल्लेख गर्दै अलजजिराले उल्लेख गरेको छ ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो र शक्तिशाली हमला बाँकी नै रहेको बताएका छन् । ’’यो त सानो झट्का मात्रै हो । ठूलो आक्रमण आउनै बाँकी छ । समुद्री धराप बिछ्याउँदै आक्रमणका लागि इरानले नै उक्साएको हो । इरानले हामीविरुद्ध आठ क्षेप्यास्त्र प्रहार गरेको छ,’’ ट्रम्पले भनेका छन् ।

इरानले अमेरिकामाथि हमला वैधानिक भन्दै औचित्य पुष्टि गर्न खोजेमा थप शक्तिशाली हमला बेहोर्नुपर्ने ट्रम्पको चेतावनी छ । ’’यदि इरानले जवाफी हमलाको तयार ग¥यो भने उसले अझै भीषण हमलाको सामना गर्नुपर्नेछ । त्यस हमला पछि इरानको केही पनि रहने छैन,’’ ट्रम्पको चेतावनी छ ।

यसअघि अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजको लारार्क द्विपमा रहेका दुईवटा रकेट लन्चरमा आक्रमण गरेपछि तेहरानले जोर्डनका एयर बेस र संयुक्त अरब इमिरेट्स (यूएई) मा ड्रोन प्रहार गरेको थियो । सेन्टकमका अनुसार अमेरिकी सेनाले आईआरजीसीका लक्ष्यहरूमा प्रहार सुरु गरी बुधबार बिहानसम्म पूरा गरेको हो ।

इरानी सञ्चारमाध्यमले चाबहार, कोनारक र जिरोफ्टको विमानस्थलमा प्रहार भएको र केसमु द्विप तथा बन्दर अब्बासमा विष्फोटको आवाज सुनिएको जनाएका छन्। सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अमेरिकाले कहिल्यै नागरिकहरूलाई लक्षित नगर्ने दाबी गरेका छन् ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण गरेका थिए। त्यसको जवाफमा इरानले इजरायल, अमेरिकी बेस र खाडीका सहयोगी राष्ट्रहरूमा प्रहार गर्दै स्ट्रेट अफ होर्मुज बन्द गराएको थियो। जुन महिनामा दुई देशबिच युद्धविराम लम्ब्याउने समझदारी पत्रमा हस्ताक्षर भए पनि उक्त सम्झौताको अवधि सकिएपछि पुनः भिडन्त सुरु भएको छ ।

यसैबिच अगस्ट २४ मा अमेरिकाले तेहरानलाई थप अलग थ्याउन नयाँ प्रतिबन्धको घोषणा गरेको थियो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जी–२० अर्थमन्त्रीहरूको बैठकमा धेरै सहयोगी राष्ट्रहरू प्रतिबन्धका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

इरानी राष्ट्रपति मासौद पेजेस्कियानले अमेरिका समझदारीमा फर्किए इरानले पनि सोहीअनुसार गर्ने प्रतिक्रिया दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top