आज देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना

२२ भदौ ८३, सोमबार
Share this
757shares

२२ भदौ , काठमाण्डौ।

Advertisement

देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थानभन्दा उत्तरतर्फ सरेको अवस्थामा रहेकाले आज देशका धेरैजसो भूभागमा मौसम बदली हुने र विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बादल लागेको अवस्था छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ ।

Advertisement

रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई क्षेत्रको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

अब प्रदेशअनुसार आजको मौसमको अवस्था हेरौँ।कोशी प्रदेशमा आज मौसम सामान्यतया बदली रहनेछ। बिहानको समयमा पहाडी तथा हिमाली भूभागमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना छ। दिउँसो मौसम थप सक्रिय हुनसक्ने देखिएको छ।

Advertisement

विशेषगरी पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई क्षेत्रमा भने थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। साँझतिर पनि बदलीसँगै वर्षाको सम्भावना कायमै रहनेछ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आवश्यक छ। एता मधेस प्रदेशमा आज अन्य प्रदेशको तुलनामा तराई क्षेत्रमा केन्द्रित वर्षाको सम्भावना देखिएको छ।

बिहान मौसम बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्नेछ। दिउँसोदेखि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना बढ्ने देखिएको छ। यद्यपि मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा मात्रै वर्षा हुने सम्भावना रहेको छ। साँझतिर पनि मौसम पूर्णरूपमा खुल्नेभन्दा बदली रहने र केही स्थानमा वर्षा हुनसक्ने अवस्था रहनेछ।

त्यसैगरी बागमती प्रदेशमा आज बिहानैदेखि मौसम बदली रहने सम्भावना छ। काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा दिनभर मौसममा उतारचढाव देखिन सक्छ। दिउँसो विशेषगरी पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने सम्भावना छ।

बागमती प्रदेशको तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। साँझतिर वर्षाको गतिविधि केही स्थानमा जारी रहनसक्नेछ। बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्नसक्ने अवस्थाप्रति सचेत रहनुपर्नेछ भने गण्डकी प्रदेशमा अहिले नै केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा समेत वर्षा हुनसक्नेछ। दिउँसो र साँझको समयमा वर्षाको गतिविधि बढ्नसक्ने सम्भावना रहेकाले यात्रा गर्दा विशेष सावधानी आवश्यक छ। गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेशमा पनि आज मौसम सामान्यतया बदली रहनेछ। अहिले प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पहाडी र तराई दुवै क्षेत्रमा वर्षाको सम्भावना रहनेछ। विशेषगरी लुम्बिनी प्रदेशको तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ।

लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुपर्नेछ। उता कर्णाली प्रदेशमा अहिले पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिनभर मौसम बदली रहने र विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहनेछ। दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। साँझतिर पनि केही स्थानमा वर्षाको सम्भावना कायम रहनेछ। सुदूरपश्चिम प्रदेशमा पनि आज मौसम बदली रहनेछ।

अहिले केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साँझतिर पनि केही स्थानमा वर्षा जारी रहनसक्नेछ। सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज बिहानदेखि नै देशका धेरैजसो स्थानमा मौसम बदली रहने, दिउँसो वर्षाको गतिविधि बढ्ने र साँझतिर पनि केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले यी क्षेत्र बढी सतर्क हुनुपर्ने देखिन्छ।

भारी वर्षा भएको अवस्थामा सडकमा पहिरो जाने, खोलानालामा पानीको बहाव अचानक बढ्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गर्दै आएको छ।
यसैबीच पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे खण्डस्थित कृष्णभिरमा सडक मर्मत नसकिँदासम्म नारायणगढ–मुग्लिन सडकको तुइन खोला क्षेत्रमा आज (भदौ २२ गते) देखि दैनिक सवारीसाधन आवतजावत आंशिक रूपमा रोकिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार तुइन खोला परियोजनाको भित्तो काट्ने (माटो कटान) काम अघि बढाउन आज सोमबारदेखि हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बिचबिचमा आधा घण्टा यातायात बन्द र खुलाइने गरी तालिका बनाइएको हो।

जसअनुसार आजदेखि बिहान ६ः०० बजेदेखि ८ः०० बजेसम्म, बिहान ८ः३० देखि १०ः३० सम्म, बिहान ११ः०० देखि दिउँसो १ः०० सम्म, दिउँसो १ः३० देखि ३ः३० सम्म र दिउँसो ४ः०० देखि साँझ ६ः०० बजेसम्म सवारीसाधन आवागमन बन्द गरिएको छ।

यसबिचका आधा घण्टा (बिहान ८ः००–८ः३०, बिहान १०ः३०–११ः००, दिउँसो १ः००–१ः३०, दिउँसो ३ः३०–४ः००) मा सवारी साधन छोडिनेछ भने साँझ ६ः०० बजेपछि भने सडक खुला रहनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top