२३ भदौ , काठमाण्डौ ।
आज भदौ २३ गते। ठीक एक वर्षअघि काठमाडौँको माइतीघर मण्डलामा केही जेनजीहरू आफ्ना सपनासँगै देशको भविष्यको चिन्ता गर्दै एकपछि अर्को गर्दै जम्मा हुँदै थिए। जम्मा हुनेहरूमा अधिकांश विद्यार्थीको ड्रेसमा थिए। देशमा बढेको भ्रष्टाचार, सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धले उनीहरूलाई भित्रभित्रै पोलेको थियो।
सुनौलो नेपालको खोजीमा सडकमा निस्केका अबोध किशोर–किशोरीमाथि आज राज्यले गोली चलायो अनि माइतीघर मण्डलाबाट सल्केको आगो देशभर सल्कन पुग्यो। त्यही आगोको झिल्को सुरु भएको दिन अर्थात् भदौ २३ को आज १ वर्ष पुगेको छ ।


भदौ २३ र २४ गते नेपालको राजनीतिक इतिहासमा यस्तै एउटा अभूतपूर्व, अकल्पनीय र युगान्तकारी घटना भयो । विश्वका ठूलाठूला राजनीतिक परिवर्तन र क्रान्तिहरूलाई समेत उछिनेर नेपालका युवा पुस्ताले जसरी एउटा नेतृत्वविहीन, तर लक्ष्यविहीन नभएको ‘जेनजी विद्रोह’ सम्पन्न गरे, त्यसले नेपाली राजनीतिको अनुहार मात्र फेरेन, राज्यसत्ताको परम्परागत भाष्यलाई नै जरैदेखि उखेलेर फालिदियो।
आज भदौ २३ गते, त्यही ऐतिहासिक जेनजी विद्रोहको पहिलो वार्षिकी। सरकारले आजको दिनलाई राष्ट्रिय गौरव र शोकको सम्मिश्रणका रूपमा लिँदै देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । यो बिदा केवल क्यालेन्डरको रातो अक्षर होइन, यो त ती ७६ जना साहसी युवाहरूप्रतिको सच्चा श्रद्धाञ्जलि हो, जसले आफ्नो तातो रगतले नयाँ नेपालको जग सिँचेका थिए।

जेनजी विद्रोह कुनै रातारात उब्जिएको झोक थिएन। यो त दशकौँदेखि नेपाली जनताको छातीमा गुम्सिएको निराशा, आक्रोश र विद्रोहको ज्वालामुखी थियो। पुराना राजनीतिक दलहरूका खोक्रा आश्वासन, प्रणालीगत भ्रष्टाचारको चाङ, र युवा पुस्ताको भविष्यमाथि भइरहेको निरन्तरको खेलवाडले एउटा बिन्दुमा पुगेर विस्फोट हुनैपर्ने थियो।

राज्यसत्ताले जनताको आवाज सुन्नुको साटो उल्टै दमनको बाटो रोज्यो। सामाजिक सञ्जालमा ‘माइतीघर मण्डलामा विरोधका लागि उपस्थित होऔँ’ भन्दै जेनजी पुस्ताको नामबाट भएको एउटा सामान्य आह्वानले सत्ताको जग यसरी हल्लियो कि, तत्कालीन सरकार ४८ घण्टासम्म पनि युवाहरूको अगाडि टिक्न सकेन ।
जब विचारको आगो सल्किसक्छ, त्यसलाई इन्टरनेटको तार काटेर वा वेबसाइटहरू बन्द गरेर निभाउन सकिँदैन भन्ने कुरा तत्कालीन शासकहरूले बुझेनन्। त्यस विद्रोहको कुनै घोषित आयोजक थिएन, कुनै पारम्परिक पार्टीको झण्डा थिएन, थियो त केवल देश बचाउने र सुशासन ल्याउने एउटै हुटहुटी थियो।

तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत दिएको मौन तर सशक्त समर्थनले ती युवाहरूको मनोबललाई सगरमाथाको चुचुरोमा पु¥याइदिएको थियो। बालेनको त्यो समर्थन एउटा मेयरको समर्थन थिएन, त्यो त समग्र युवा पुस्ताको आशाको केन्द्रबिन्दुबाट आएको ऊर्जा थियो।
भदौ २३ गते सुरु भएको त्यो शान्तिपूर्ण तर विशाल उपस्थितिले २४ गतेसम्म आइपुग्दा आँधीबेहरीको रूप लियो। राज्यसत्ताले निहत्था युवाहरूमाथि बर्बर दमन ग¥यो। लोकतन्त्रको नाममा चलाइएको त्यो निरंकुश शासनले ७६ जना निर्दोष युवाहरूको छातीमा गोली ठोक्यो।

ती ७६ युवा, जो देशको भविष्य कोर्न सडकमा आएका थिए, उनीहरूको रगतले बानेश्वरको सडक भिज्यो। जब राज्यले आफ्नै सन्तानको रगत बगाउन थाल्छ, तब जनताको धैर्यको बाँध टुट्छ। भदौ २४ मा त्यही भयो। आक्रोशित जनताको भेलले राज्यका सम्पूर्ण अंगहरूलाई घेरा हाल्यो।
सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म जनताको आक्रोशको आगो दन्कियो। त्यो आगजनी केवल भौतिक संरचनामाथिको आक्रमण थिएन, त्यो त वर्षौँदेखिको भ्रष्ट प्रणालीमाथिको प्रतीकात्मक धावा मात्र थियो। अवस्था यति भयानक र नियन्त्रणबाहिर गयो कि, भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टर चढेर ज्यान जोगाउँदै भाग्नुपर्ने अवस्था आयो।
इतिहासमा कुनै पनि शक्तिशाली भनिएको शासकका लागि योभन्दा लज्जास्पद बर्हिगमन अर्को हुन सक्दैनथ्यो। राज्यसत्ता केही समयका लागि पूर्ण रूपमा सरकारविहीन र प्रहरीविहीन बन्यो। देश झन्डै अराजकताको भुमरीमा फस्न लागेको त्यो अत्यन्तै संवेदनशील घडीमा, २४ गते राति नेपाली सेना सडकमा आयो।
तर सेनाले सत्ता कब्जा गर्न होइन, जनताको विद्रोहलाई सुरक्षित अवतरण गराउन मध्यस्थकर्ताको भूमिका खेल्यो। सडकबाटै उठेको आवाज र नागरिक सर्वोच्चतालाई सम्मान गर्दै, सडकबाटै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री घोषणा गरियो।

सडकको त्यही म्यान्डेटले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि नयाँ निर्वाचनको मिति तय ग¥यो। सुशीला कार्कीको त्यो अन्तरिम नेतृत्वले देशलाई ठूलो दुर्घटनाबाट बचायो र जनताको नासो जनतालाई नै सुम्पिने लोकतान्त्रिक संवैधानिक बाटो तय ग¥यो।
फागुन २१ को निर्वाचन नेपालको लोकतान्त्रिक इतिहासमा एउटा स्वर्णिम अध्याय बन्यो। जेनजी विद्रोहको स्पष्ट म्यान्डेट पुराना अनुहार, पुराना प्रवृत्ति र भ्रष्टाचारको अन्त्य थियो। त्यही म्यान्डेटलाई आत्मसात् गर्दै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाहलाई आफ्नो पार्टीमा भित्र्यायो र भावी प्रधानमन्त्रीका रूपमा अघि सा¥यो।
जनताले खोजेको विकल्प र रास्वपाले दिएको उम्मेदवारबीच गज्जबको तालमेल मिल्यो। बालेन्द्र शाह, जसले काठमाडौँको मेयर हुँदा काम गरेर देखाएका थिए, जसले विद्रोहको समयमा युवाहरूको पक्षमा आफूलाई उभ्याएका थिए, उनीप्रति सिंगो देशको विश्वास ओइरियो।

रास्वपाले संसद्मा दुई तिहाइ मत ल्याउन जम्मा २ सिट मात्र कम हुने गरी ऐतिहासिक जनमत प्राप्त ग¥यो। यो मत केवल एउटा पार्टीलाई दिइएको भोट थिएन, यो त ती ७६ सहिदको रगतको कसम खाएर देश बनाउन दिइएको अभूतपूर्व म्यान्डेट थियो। बालेन शाह देशको प्रधानमन्त्री बने। सडकको विद्रोहले मतपेटिकामार्फत आफ्नो वैधानिक र शक्तिशाली नेता छनोट ग¥यो।
आज बालेन्द्र शाह नेतृत्वको सरकार छ। जसलाई जनताले आशा र विश्वास दुवै गरेका छन्। सरकार बनेपछिको यो छोटो अवधिमै, जेनजी विद्रोहको म्यान्डेटअनुसार देशमा सुशासन, पारदर्शिता र शून्य भ्रष्टाचारको नीति कडाइका साथ सरकार अघि बढिरहेको छ।
राज्यका हरेक अंगलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने दिशामा सरकार आफ्ना स्पष्ट लक्ष्यहरूका साथ अघि बढिरहेको छ। जनताले देशमा साँच्चिकै ’सरकार छ’ भन्ने अनुभूति पाउने गरी काम गर्नुपर्ने चुनौतीका चाङ बालेन सरकारमाथि भने यथावत छन्।
तर, सरकार आफ्नो लक्ष्यमा अघि बढिरहेका बेला, प्रकृतिले एउटा कठोर परीक्षा लिइरहेको छ। रसुवामा हालै आएको महाविपत्तिले देशलाई गहिरो शोकमा डुबाएको छ। बाढी र पहिरोले पु¥याएको अकल्पनीय क्षतिले हाम्रा मुटुहरू छियाछिया भएका छन्।

सरकारका सम्पूर्ण संयन्त्र, राज्यका अंगहरू मात्र होइन हरेक नागरिक राहत तथा उद्धारमा प्रत्यक्ष रूपमा समर्पित भइरहेका छन्। देश यतिबेला शोकको घडीमा छ । जेनजी विद्रोहको एक वर्ष पूरा हुँदै गर्दा, आज हामीले ती ७६ जना बलिदानी युवाहरूलाई सम्झिँदै गर्दा, यो देशलाई कहिल्यै पुरानो दलदले बाटोमा फर्कन नदिने प्रण गर्नुपर्छ।
भदौ २३ र २४ गतेको त्यो विद्रोह कुनै एउटा पुस्ताको मात्र विद्रोह थिएन, त्यो त नेपाल आमाले आफ्ना सन्ततिहरूको उज्ज्वल भविष्यका लागि गरेको प्रसव वेदना थियो। आज हामीसँग एउटा यस्तो सरकार छ, जसले जनताको आवाज सुन्छ, जसले नागरिकको आवाज दबाउन सामाजिक सञ्जाल बन्द गर्दैन बरु त्यही सञ्जालबाट आएका नागरिकका गुनासाहरूलाई समाधान गर्छ।

प्रधानमन्त्री बालेन्द्र शाहको काँधमा ती ७६ सहिदका सपना मात्र होइनन्, तीन करोड नेपालीको आशा र भरोसा टिकेको छ। हामी सरकारलाई जेनजी विद्रोहको म्यान्डेट कहिल्यै नभुल्न आग्रह गर्दछौँ। हिजो बालुवाटारबाट हेलिकप्टरमा भाग्ने सत्ताको पतनबाट पाठ सिक्दै, सधैँ जनताको मनमा बस्ने सत्ताको रूपमा आफूलाई उभ्याउनु यो सरकारको प्रमुख दायित्व हो।
रसुवाको विपत्तिमा मलम लगाउँदै, देश निर्माणको महाअभियानमा अघि बढिरहेको बालेन सरकारलाई जेनजी विद्रोहको पहिलो वार्षिकीका अवसरमा हाम्रो हार्दिक शुभकामना छ। अबको नेपाल ती ७६ युवाको सपनाको नेपाल बन्नुपर्नेछ। रगत, आँसु र आगोले लेखिएको इतिहासको यो नयाँ पाना अब कहिल्यै च्यातिने छैन। बदलिएको यो नेपालमा अब शासन होइन, नागरिकको सेवा हुनेछ।




