गुर्जा हिमाल आरोहण गर्न गएका आठजनाको मृत्यु

बेनी, असोज २७
म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ ।

गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये आठ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

उनका अनुसार, आधार शिविरमा उनीहरुको शव अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न सकिएको छैन् । उद्धारको लागि पुगेको हेलिकप्टरसमेत उद्धारमा कठिनाई देखिएपछि फर्किएको र थप स्रोत र साधन लिएर पुन उद्धारमा जाने तयारी भएको बताइएको छ ।

Advertisement

असोज २१ गते सात हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा चार कोरियन र तीनजना नेपाली टोली आधार शिविरमा पुगेका थिए ।

सो टोलीलाई भेट्न २४ गते एक नेपाली र एक कोरियाली नागरिक आधार शिविरमा पुगेका थिए । आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्कसमेत विच्छेद भएपछि गुर्जाबाट खोजीको लागि गएका स्थानीयवासीको टोलीले उनीहरु मृत अवस्थामा भेटिएको पुष्टी गरेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।

Advertisement

‘‘ पछिल्लो टोली एक दिनमात्रै बसेर फर्कने तालिका थियो, तर उनीहरु नै दुर्घटनामा पर्नुले असोज २४ गते नै घटना घटेको देखिन्छ, जब त्यो टोली फर्कन ढिला गरेपछि आङ्शका बढ्यो, किन ढिलाइ गर्यो भनेर खोजी गर्दा शव भेटिए’’– वडाध्यक्ष छन्त्यालले भने ।

यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले आधार शिविरमा पर्यटकको शव भेटिएको गुर्जाका स्थानीयवासीबाट खबर आएपछि उद्धारको लागि पुगेको हेलिकप्टर आधार शिविरमा बस्न नसकेर फर्किएको जानकारी दिए ।

हेलिकप्टरबाट ८ जनाको सब जस्तो देखिएको खवर आएपनि उद्धारमा कठिनाई भएकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरि आधार शिविरतर्फ लागेको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top