१ असोज , काठमाण्डौ।
पूर्वी नवलपरासी (नवलपुर) को हुप्सेकोट गाउँपालिका–६, पेलेगास्थित घाँगी भीरमा विगत ६ महिनादेखि जमिनमुनिबाट निरन्तर निस्किरहेको धुवाँमा ‘कार्बन मोनोअक्साइड’ ग्यास रहेको पाइएको छ । खानी तथा भूगर्भ विभागका प्रतिनिधिहरूले गरेको प्रारम्भिक अध्ययनका क्रममा उक्त विषालु ग्यास भेटिएको पुष्टि भएको हो ।
धुवाँ निस्किनुको वास्तविक कारण पत्ता लगाउन टोलीले घटनास्थलबाट माटो, ढुंगा तथा धुवाँको अवशेष संकलन गरी प्रयोगशाला परीक्षणका लागि लगेको छ । प्रयोगशालाको विस्तृत रिपोर्टपछि मात्रै यसबारे थप तथ्य खुल्ने विभागले जनाएको छ ।


पेलेगा र भडारी गाउँको बीचमा पर्ने घाँगी भीरमा दुई वर्षअघि पहिरो गएको थियो । सोही पहिरो गएको ठाउँबाट गत चैतदेखि निरन्तर रूपमा धुवाँको मुस्लो निस्किरहेको छ । धुवाँ निस्किरहेको ठाउँभन्दा करिब ५ सय मिटर नजिकै रहेको पेलेगा गाउँका ४४ घरधुरीका करिब ५ सय नागरिक अहिले त्रासमा छन् ।
स्थानीयका अनुसार धुवाँ अमिलो र बारुदजस्तो गन्ध आउने खालको छ, जसका कारण नजिकैको बस्तीमा श्वास फेर्न समेत समस्या हुन थालेको छ । धुवाँको मुस्लो निस्किरहेको ठाउँमा सुकेको घाँस वा दाउरा राख्दा आफैँ आगो बल्ने गरेको छ ।
साथै, धुवाँ निस्किएको तल्लो भेगको खोला किनार सबै पहेँलो भएको छ भने त्यहाँको पानी फिटकिरीको जस्तो स्वाद आउने स्थानीयवासी बताउँछन् । यता स्थलगत अध्ययन तथा त्यहाँका नमुनाहरूको प्रारम्भिक परीक्षणपछि चट्टानबाट निस्किरहेको धुवाँ कार्बन मोनोअक्साइड रहेको पत्ता लागेको हो ।
खानी तथा भूगर्भ विभागका खानी विज्ञ प्रकाश लुइँटेलले त्यहाँको चट्टान, निस्किरहेको धुवाँको रङ र गन्धसमेत अध्ययन गर्दा उक्त धुवाँ बाक्लो कार्बन मोनोअक्साइडयुक्त रहेको पाइएको बताएका छन् । लुइँटेलले धुवाँ निस्किरहेको कार्बनयुक्त चट्टानभित्रको पाइराइट खनिज अक्सिजनसँग मिसिएपछि सल्फर डाइअक्साइड ग्यास निस्किएको र त्यही ग्यास निस्किने बेलामा उत्पन्न भएको तापले कार्बनयुक्त चट्टानलाई बल्न मद्दत गरेको हुनसक्ने बताए ।
फलाम र सल्फरको समिश्रणबाट पाइराइट बन्ने गर्छ। यसलाई ढुंगामा हिर्काउँदा वा घोट्दा झिल्का निस्कन्छ भने हावा र पानीको सम्पर्कमा आउँदा उत्पन्न हुने रासायनिक प्रतिक्रियाले ताप पैदा गर्छ । धुवाँ निस्किरहेको ठाउँमा जमिन भासिएको र स्थानीयका अनुसार पहिरो गएपछि धुवाँ निस्किन थालेकोले पहिरो गएपछि पाइराइट अक्सिजनसँग मिसिएर कार्बन जल्न थालेको उनले बताए ।
लुइँटेलका अनुसार पानी परिरहेको बेला र ओसमा पाइराइट अझ बढी बल्ने भएकाले अहिले पानी परिरहँदा धुवाँ धेरै देखिने गरेको हो । त्यहाँ निस्किने धुवाँ पनि अरूभन्दा फरक सेतो खालको रहेको र त्यसबाट सल्फरको जस्तो गन्ध आइरहेको लुइँटेलले बताए ।
पहिरो गएपछि चट्टानमा धुवाँ निस्किने र त्यसको तल खोल्सीको पानीसमेत एसिडयुक्त भएर रातो बनेको छ । त्यहाँको धुवाँ मात्र होइन, पानीसमेत मानिस र बस्तुभाउको स्वास्थ्यका लागि घातक हुने लुइँटेलले बताए । उनले त्यहाँ उडिरहेको धुवाँ नजिक नजान, नसुँघ्न र पानी प्रयोग नगर्न आग्रह गरेका छन् ।
कार्बन मोनोअक्साइडले मानिसहरूमा टाउको दुख्ने, रिँगटा लाग्ने, जीउ झुम्म हुने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने र अचानक बेहोस भई मृत्युसमेत हुन सक्छ। घरपालुवा तथा जङ्गली जनावरमा समेत यसको ग्यासले असर पार्न सक्छ। हावामा थोरै मात्रामा कार्बन मोनोअक्साइड हुँदा पनि चराचुरुङ्गीहरू तत्कालै मर्न सक्छन् ।
यो क्षेत्र ऐतिहासिक रूपमा फलाम खानी भएको क्षेत्र मानिन्छ । धेरै पहिले यहाँबाट फलाम निकालेर खुकुरी बनाउने गरिएको स्थानीयको भनाइ छ । प्रसिद्ध धौवादी फलाम खानी पनि यसै क्षेत्र नजिकै पर्ने भएकाले यहाँ कुनै ग्यास वा बहुमूल्य धातुको खानी हुन सक्ने अनुमान गरिएको छ ।
यसअघि करिब १८ वर्ष पहिले पनि सोही क्षेत्रको दक्षिण भेगमा यस्तै धुवाँको मुस्लो निस्किएर केही समयपछि आफैँ हराएको स्थानीय बताउँछन् । घाँगी भीरको जमिन भासिएर धुवाँ फैलिँदा वरपरका बोटबिरुवा समेत पोलिएका छन् । पानी परेको समयमा धुवाँ झनै फैलिने गरेको पाइएपछि गाउँपालिकाले यसलाई गम्भीरतापूर्वक लिएको छ ।
हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थलगत अनुगमनपछि यो सामान्य घटना नभएको भन्दै समस्याको पहिचान र समाधानका लागि संघीय सरकारसँग समन्वय गरिरहेको बताइन् । जमिनमुनिबाट घातक ग्याससहितको धुवाँ निरन्तर निस्किरहँदा बस्ती नै स्थानान्तरण गर्नुपर्ने हो कि भन्ने चिन्तामा स्थानीय रहेका छन् ।

विभागको अन्तिम परीक्षण प्रतिवेदनपछि मात्रै घटनाको यथार्थ बाहिर आउनेछ । स्थानीयका अनुसार घाँगी भीरमा यसअघि पनि लामो समयसम्म धुवाँ निस्कने गरेको थियो । ‘अठार–उन्नाइस वर्ष पहिलेदेखि यो घाँगी भीरमा धुवाँ आउने गरेको थियो । केही समय अगाडि डाँडाको दक्षिण भेगमा आफैं निभ्यो । अहिले फेरि अर्कोतर्फ धुवाँ निस्किएको छ,’ स्थानीय भन्छन्, ‘लगातार पहिरो खसिरहेको स्थानबाट धुवाँ आउने र कहिलेकाहीँ ठूलो आवाजसमेत आउने गरेको छ ।’
स्थानीयले बस्तीमा खतरा हुन सक्ने भन्दै धुवाँ निस्कनुको कारण तत्काल पत्ता लगाउन माग गरेका छन् । उनीहरूले त्यहाँ कुनै बहुमूल्य ग्यास वा धातुको खानी हुन सक्ने भन्दै त्यसबारे पनि अनुसन्धान गर्न आग्रह गरेका छन् । अघिल्लो साता प्रतिनिधिसभा बैठकमा नवलपरासी पूर्व–१ का सांसद राजन गौतमले समेत यसबारे सरकारको विशेष ध्यानाकर्षण गराएका थिए ।
उनले धौबादी फलाम खानीसँग जोडिएको भौगोलिक क्षेत्र रहेकाले सामान्य घटनाका रूपमा लिन नहुने बताएका थिए । उनले प्रकृतिले दिएका संकेतलाई बेवास्ता गर्न नहुने समेत बताएका थिए । ’त्यस क्षेत्रमा ३५ घरधुरीसमेत जोखिममा रहेका छन् ।
इन्डोनेसियामा भूगर्भीय गतिविधिका संकेतले निम्त्याएको विपद्बाट हामीले सिक्नुपर्ने पाठ एउटै हो, प्रकृतिले दिएको संकेतलाई बेवास्ता नगरौँ । धुवाँ÷ग्यासको वैज्ञानिक परीक्षण र समग्र भूगर्भीय अध्ययन तत्काल गरियोस्,’ उनले भनेका थिए ।
धुँवा निस्किएको क्षेत्रनजिकै धौवादी फलाम खानी रहेको छ । सरकारले त्यहाँ फलाम खानी सञ्चालन गरी फलाम र स्टिल उत्पादन गर्ने भनेको छ । सरकारले धौवादी फलाम कम्पनी नै खोलिसकेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहने गरी धौवादी फलाम कम्पनी लिमिटेड २०७६ असोज ९ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइसकेको छ ।
फलाम खानी भण्डार पूर्व–पश्चिम राजमार्गको कावासो
तीदेखि करिब २० किलोमिटर दूरी उत्तरमा हुप्सेकोट गाउँपालिकाअन्तर्गत पश्चिम नाम्जाकोटदेखि पूर्व धौवादी क्षेत्रमा रहेको छ ।




