६ असोज ,काठमाण्डौ ।
इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार न्यूयोर्क पुगेका छन् । इरानको विदेश मन्त्रालयका अनुसार उनले महासभामा सहभागी हुने इरानी कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।
न्यूयोर्क आगमनपछि विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोनमार्फत संवाद गरेका छन् । सो अवसरमा महासभाको कार्यसूची तथा विभिन्न अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघको महासभालाई इरानी जनताको अधिकार र हितसँग सम्बन्धित विषयमा आफ्नो देशको धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताइएको छ ।
यसअघि इरानी सञ्चारमाध्यमहरूले राष्ट्रपति मसुद पेजेस्कियानले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जानकारी दिएका थिए । पछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले विदेशमन्त्री अराघ्ची महासभामा सहभागी हुने कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्वमा रहेको जानकारी दिएका छन् ।

प्रवक्ता बाघाईका अनुसार विदेशमन्त्री अराघ्चीले महासभामा सहभागी विभिन्न देशका अधिकारी तथा विदेशमन्त्रीहरूसँग भेटवार्ता गर्नेछन् । भेटवार्ताका क्रममा पारस्परिक चासोका विषय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिबारे विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ ।
अमेरिकाले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन इरानी प्रतिनिधिमण्डललाई अनुमति दिएको छ । यद्यपि, न्यूयोर्क बसाइका क्रममा प्रतिनिधिमण्डलका लागि केही विशेष प्रावधान लागू गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
अराघ्ची आइतबार साँझ इरानबाट न्यूयोर्कका लागि प्रस्थान गरेका थिए । न्यूयोर्क पुग्नुअघि उनले कतारमा छोटो समय बिताएका थिए । यसैबीच, इरानले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्यबाट तेल तथा ग्यासको ढुवानी पुनः सञ्चालन गर्ने विषयमा अमेरिकासमक्ष केही सर्तहरू प्रस्तुत गरेको जनाएको छ ।
इरानका अनुसार कतारले मध्यस्थको भूमिका निर्वाह गर्दै ती विषयहरू अमेरिकासमक्ष पु¥याएको हो । अमेरिकाले इरानी बन्दरगाहसँग सम्बन्धित केही प्रतिबन्धात्मक कदमहरू अघि बढाइरहेको जनाएको छ । यस पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा हुने कूटनीतिक संवाद तथा उच्चस्तरीय भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।
यता यमनका हुथी विद्रोहीहरूसँगको लडाइँमा बेलायतले साउदी अरबलाई सहयोग उपलब्ध गराउने भएको छ । हुथीको आक्रमणको जवाफमा बेलायतले साउदी अरबलाई ‘रक्षात्मक हावाबाट हावामा इन्धन भर्ने जहाज’ सहयोग उपलब्ध गराउने बेलायतका प्रधानमन्त्री एन्डी बर्नहामले बताएका छन् ।
यो सहयोग आगामी केही दिनमै सुरु हुने र त्यसका लागि साइप्रसस्थित ‘आरएएफ अक्रोतिरी’मा रहेको बेलायती वायुसेनाको एउटा ‘भोयाजर’ विमान प्रयोग हुने बताइएको छ । बर्नहमले साउदी अरबबाट आएको ‘सैन्य सहयोग’को अनुरोधपछि रक्षामन्त्री वेस स्ट्रिटिङ र परराष्ट्रमन्त्री एड मिलिब्यान्डको सल्लाहमा आफूले यो सहमति दिएको बताएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार, यो सहयोग सीमित समयका लागि हुनेछ र पहिलो चरणमा ‘केही हप्ता’सम्म रहने सम्भावना छ । हुथीहरू यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारसँग गृहयुद्धमा छन्, जसलाई साउदी अरबको समर्थन रहेको छ ।
हालैका दिनमा यमनका हुथीहरूले साउदी राजधानी रियाधका साथै लाल सागर तटमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र ब्यालिस्टिक मिसाइलबाट आक्रमण गरेको दाबी गरेका छन् । बेलायती अधिकारीहरूका अनुसार, रक्षात्मक सहयोगअन्तर्गत साउदी वायुसेनाका जेटहरूलाई आउँदै गरेका हुथी मिसाइल र ड्रोन खसाल्न आवश्यक हवाई इन्धन भर्ने सहयोग उपलब्ध गराइनेछ ।
यो भोयाजर विमान रोयल एयर फोर्सको मुख्य नौवटा विमानमध्ये एक हो । तीमध्ये आठवटा सैन्य र एउटा नागरिक दर्तामा छन् । आवश्यक परेमा सैन्य प्रयोगका लागि फिर्ता बोलाउन सकिने गरी आरएएफसँग अन्य पाँचवटा विमान पनि उपलब्ध छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने क्रममा आफूसँगै यात्रा गरिरहेका पत्रकारहरूसँग कुरा गर्दै बर्नहामले जीवनयापनको लागतमा परेको दबाबलाई समेत यो निर्णयसँग जोड्दै आफूले यस विषयमा अघि राखेको धारणा दोहो¥याए । “म जीवनयापनको लागतमा परेको दबाब र बेलायत तथा फराकिलो क्षेत्रको हित सुरक्षित गर्न चालिएका कदमबारे मैले भनेको कुरामा पुनः जोड दिन्छु,” उनले भने ।
लाल सागर हुँदै जाने समुद्री मार्गहरू विश्व अर्थतन्त्रका महत्त्वपूर्ण मार्ग मानिन्छन् । हुथीहरूले हालै रणनीतिक रूपमा महत्त्वपूर्ण बन्दरगाह सहर मोखा र साउदी अरबले प्रयोग गर्ने प्रमुख समुद्री मार्गको प्रवेशद्वार मानिने पेरिम टापु माथि नियन्त्रण कायम गरेको दाबी गरेका छन् ।
यता अमेरिकाले इरानमाथि पुनः आक्रमण सुरु गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको इरानको केन्द्रीय सैन्य कमान्डले जनाएको छ । इरानको सशस्त्र बलको रेखदेख गर्ने ‘खातम अल–अम्बिया केन्द्रीय मुख्यालय’ले आइतबार यस्तो चेतावनी जारी गरिएको हो ।
योसँगै महिनाौँको सुस्ततापछि प्रत्यक्ष भिडन्तको नयाँ शृंखला सुरु हुन सक्ने सम्भावना बढाएको अलजजिराले जनाएको छ । इरानले अमेरिकाद्वारा हुने कुनै पनि नयाँ आक्रमणको जवाफमा पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडा र हितहरूमाथि कडा प्रतिशोध लिइने बताएको छ ।
खाडी क्षेत्रका देशहरूलाई अमेरिकालाई सहयोग नगर्न चेतावनी समेत दिएको छ । इरानी सैन्य कमान्डले अमेरिकी आक्रमणमा सहयोग पु¥याउन आफ्ना भूभाग वा सुविधाहरू प्रयोग गर्न दिने राज्यहरूलाई साझेदार मानिने र उनीहरूले पनि इरानी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ‘फक्स न्युज’ सँग कुरा गर्दै आफू इरानको विषयमा निर्णायक मोडमा रहेको बताएका छन् । आफ्ना विकल्पहरूमा थप सैन्य कारबाही, आर्थिक दबाब वा सम्झौता सामेल रहेको उल्लेख गरे ।
उनले यसै हप्ता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभाका क्रममा इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग भेट्न आफू तयार रहेको बताएका थिए । तर त्यहाा इरानका परराष्ट्रमन्त्री अब्बास अराघ्ची पुगेका छन्।
यसैबीच इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले आइतबार सांसदहरूलाई सम्बोधन गर्दै इरानले कुनै पनि लाभ सुरक्षित गर्न कूटनीतिको बाटो रोज्नुअघि आफ्ना विरोधीहरूलाई पछाडि धकेल्न सैन्य बलको प्रयोग गर्नुपर्ने बताएका छन् ।
यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो देशले लगाएको प्रतिबन्धका कारण इरानी एयरलाइन्सहरूलाई दुई दिन विश्वभर काम गर्न कठिन हुने बताएका छन् । सीएनबीसीलाई सोमबार अन्तर्वार्ता दिँदै बेसेन्टले बुधबार, सेप्टेम्बर २३ मा विश्वभर इरानी एयरलाइन्स बन्द हुने घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘यदि इरानी हवाईजहाज कतै अवतरण गर्छन् भने तपाईं तिनलाई इन्धन दिन सक्नुहुन्न, अवतरण सेवा प्रदान गर्न सक्नुहुन्न, टिकट बेच्न सक्नुहुन्न । त्यसो गर्नाले तपाईंलाई डलर–निर्धारित वित्तीय प्रणालीबाट बाहिर निकालिनेछ।’
यस वर्ष फेब्रुअरी अन्त्यमा अमेरिका र इजरायलले संयुक्त आक्रमण सुरु गरेपछि जवाफमा इरानले तेल र ग्यास आपूर्तिका लागि महत्त्वपूर्ण समुद्री मार्ग हर्मुज स्ट्रेट बन्द ग¥यो । पछि द्वन्द्व मध्यपूर्वका अन्य भागमा फैलियो र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढ्यो ।
यसै क्रममा यस महिनाको सुरुमा अमेरिकाले सबै इरानी एयरलाइन्सविरुद्ध प्रतिबन्ध लगाएको हो । अमेरिकाको अर्थ मन्त्रालयले इरानको उड्डयन क्षेत्रलाई सहयोग गर्ने कम्पनीहरूलाई पनि निसाना बनाएको छ, जसमा इरानबाहिरका कम्पनी पनि छन् ।
चीनका उपप्रधानमन्त्री हे लाइफेङसँग आर्थिक वार्ता गरेको एक दिनपछि अर्थमन्त्री बेसेन्टको टिप्पणी आएको हो । उक्त वार्ता राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच आगामी बिहीबार हुने शिखर सम्मेलनका लागि आधार तयार पार्ने उद्देश्यले गरिएको बीबीसीले जनाएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङले सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको राजकीय भ्रमण गर्दै छन्। राष्ट्रपति ट्रम्पको निमन्त्रणमा सीले अमेरिका भ्रमण गर्न लागेको चीनको विदेश मन्त्रालयले सोमबार जनाएको छ।
‘भ्रमणमा राष्ट्रपति सीले चीन–अमेरिका सम्बन्ध तथा विश्व शान्ति र विकाससँग सम्बन्धित प्रमुख विषयहरूमा राष्ट्रपति ट्रम्पसँग गहन विचारविमर्श गर्नुहुनेछ,’ चीनको विदेश मन्त्रालयका प्रवक्ता कुओ जियाकुनले भनेका छन् ।
यसअघि गत मेमा ट्रम्पले बेइजिङ भ्रमण गरेका थिए। चार महिनामै हुन लागेको अर्को भेट ऐतिहासिक र कोसेढुंगा साबित हुन सक्ने प्रवक्ता कुओको भनाइ छ । पछिल्लो समय एआईका विषयमा भइरहेको झगडाको प्रभाव यो भेटमा पनि पर्न सक्ने अड्कल काटिँदै छ।
अमेरिकी कम्पनीहरूले एआईको विकास खतरनाक चरणमा पुगेको भन्दै यसलाई धिमा बनाउनुपर्ने आवाज उठाएका थिए। चीनले भने यो चिनियाँ प्रविधिको विकासलाई रोक्ने चालबाजीका रूपमा अथ्र्याएको छ।



