धर्मेश्वर अस्पतालमा शल्यक्रियापछि दुई सुत्केरीको मृत्यु, छानबिन गर्न सीडीओको माग

६ असोज ८३, मंगलबार
Share this
726shares

राजविराज — सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर अस्पताल प्रालिमा शल्यक्रियामार्फत प्रसूति गराइएका दुई सुत्केरी महिलाको मृत्यु भएको घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मन्त्रालयलाई पत्र पठाउँदै अस्पतालमा शल्यक्रियापछि दुई सुत्केरी महिलाको मृत्यु भएको घटनाको कारण पत्ता लगाउन तथा अस्पतालको उपचार व्यवस्थापनमा कमजोरी भए–नभएको छानबिन गर्न आग्रह गरेका हुन्।

Advertisement

जिल्ला प्रशासन कार्यालयका अनुसार कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराएपछि दुई महिलाको मृत्यु भएको छ। प्रशासनले अस्पतालमा शल्यक्रियालगायत जटिल अवस्थाका बिरामीको उपचारका लागि आवश्यक अनुमति, पूर्वाधार तथा विशेषज्ञता उपलब्ध छ कि छैन भन्ने विषयमा समेत छानबिन गर्न अनुरोध गरेको छ।

पत्रमा उल्लेख भएअनुसार जिल्ला सप्तरी अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ बस्ने अमितकुमार चौधरीकी श्रीमती २८ वर्षीया निर्मला चौधरी प्रसूति व्यथा लागेपछि धर्मेश्वर अस्पतालमा लगिएकी थिइन्। अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराएपछि उनको अवस्था गम्भीर बनेको र थप उपचारका लागि अर्को अस्पतालमा रेफर गरिएको थियो। उपचारका क्रममा २०८३ असार ४ गते उनको मृत्यु भएको प्रशासनले जनाएको छ।

Advertisement

त्यस्तै, सप्तरी सकराही नगरपालिका–११ बस्ने रामसागर खड्गाकी २८ वर्षीया श्रीमती पुष्पा खड्गाको पनि शल्यक्रियामार्फत प्रसूति गराएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। उनलाई थप उपचारका लागि अर्को अस्पतालमा रेफर गरिएकोमा उपचारकै क्रममा सोही दिन मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको पत्रमा उल्लेख छ।

लगातार दुई सुत्केरी महिलाको शल्यक्रियापछि मृत्यु भएपछि प्रशासनले घटनालाई गम्भीर रूपमा लिँदै स्वास्थ्य मन्त्रालयसँग छानबिनको माग गरेको हो। जिल्ला प्रशासनले विशेषगरी दुवै महिलाको मृत्युको वास्तविक कारण, अस्पतालको उपचार प्रक्रियामा कमजोरी भए–नभएको तथा शल्यक्रियालगायत जटिल अवस्थाका बिरामीको उपचार गर्न अस्पतालसँग आवश्यक अनुमति, पूर्वाधार र विशेषज्ञ जनशक्ति भए–नभएको विषयमा छानबिन गर्न आग्रह गरेको छ।

Advertisement

प्रशासनले घटनाको तथ्यगत छानबिन गरी आवश्यक कारबाही तथा सुधारका लागि मन्त्रालयबाट पहल हुनुपर्ने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top