२१ असोज , काठमाण्डौ ।
हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हुरी र असिनासहित पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ११ः३५ बजे जनाएअनुसार यतिबेला काठमाडौँ उपत्यकालगायत बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्म वर्षा भइरहेको छ।
सचेत गराउँदै मौसम महाशाखाले अगाडि भनेको छ, ‘थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।’ यसैबिच पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा अर्घाखाँची सिमलपानी केन्द्रमा ५८.२ मिलिमिटर (भारी वर्षा) भएको छ। २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि पानी प¥यो भने भारी वर्षा हुन्छ।

तर अर्घाखाँचीमा एक घण्टामै भारी वर्षा भएको हो। विहान लमजुङको रैनामैना वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै २८.६ मिलिमिटर वर्षा मापन भएको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७ः५८ बजेसम्म रैनामैना केन्द्रमा उक्त वर्षा मापन गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो ३ः१५ बजेको समयमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र दोलखासहित कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरी र असिनापानी परेको हो।

काठमाडौंमा मेघगर्जनसहित असिनापानी परिरहेको र यी क्षेत्रहरूमा थप वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र प्रभावित भएको छ।
बुधबार बन्द सत्रमा महाधिवेशन प्रतिनिधिले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ। तर, अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले बताए। बुधबार बिहान साढे १० बजेदेखि सुरु गर्ने तय गरिएको थियो।
बन्द सत्रलाई खाजा समयपछि गर्ने भनेर साढे ११ बजेदेखि सुरु गर्ने तयारी थियो। एकाएक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै बन्द सत्र प्रभावित भएको छ। खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू आउन सकेका छैनन्। कांग्रेसले बन्द सत्र खुलामञ्चमा सञ्चाल गरिँदै आएको छ।
भृकुटीमण्डपमा खाना स्थल र राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले निर्वाचनको कम गरिरहेको छ। बिहीबार बिहान मतदान गर्ने तयारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुशार । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा र पहाडी भूभागको केही स्थानमा चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति कोशी प्रदेश सबै भूभाग तथा देशको हिमाली र पहाडी भूभाग साधरणतया बादल लाग्ने छ। देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागमा बिहानीपख कुहिरो पनि सम्भावना छ । देशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । देशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भाग र बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैले विशेषगरी कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिई आवश्यक तयारी तथा योजना बनाउन महाशाखाले अनुरोध गरेको छ ।
मनसुन बाहिरिँदै गरेकाले अब खासै पानी पर्दैन भनिएका बेला केही दिनयता एकाएक कतिपय स्थानमा भारी वर्षा पनि भइरहेको छ। तीन दिनसम्मको मौसम सम्भावना अनुमान गर्ने नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि खासै वर्षाको सम्भावना छैन भनेपछि धान काटेका किसान अहिले बाली बर्बाद भयो भनेर गुनासो गरिरहेका छन्।
यस बारेमा मौसमविद् रोजन लामिछानेले भनेका छन्, ‘हामीले ३ दिनको फोरकास्ट गर्दा ३ दिनसम्मचाहिँ त्यति वर्षा हुँदैन भनेका हौँ। ती दिनमा वर्षा भएको अवस्था थिएन। तर हामीले मौसम अनुमान प्रत्येक दिन अपडेट गरिरहेका छौँ। त्यस पछाडिका सूचना नहेर्नुभएको हुन सक्छ।
त्यही भएर उहाँहरूले पानी पर्ने समयमा चाहिँ धान काटेको हुन सक्छ। हामीले लगातार वर्षा हुँदैन क्षणिक हुन्छ भनेर त हामीले पूर्वानुमान गरेका नै थियौँ। धान काट्ने हिसाबले हाम्रो ठाउँअनुसार खेतमै केही दिन सुकाएर बाली भित्र्याउने,कहीँ आजै काट्ने,आजै भित्र्याउने अवस्था रहेकाले पनि ठाउँ विशेषअनुसार केही असर परेको हो।’



