अन्तिम खेलमा मेस्सीको हातमा रोतो र पहेँलो कार्ड, बिदाइ हुँदा मेस्सीले के भने ?

२१ असोज ८३, बुधबार
Share this
728shares

२१ असोज , काठमाण्डौ ।

Advertisement

एउटै पुस्ताका दुई महान् फुटबलर। एउटै उमेरको आसपासको अन्तिम अध्याय। तर राष्ट्रिय टोलीसँग उनीहरूको बिदाइको कथा भने बिल्कुल फरक देखियो । फुटबलले एउटै पुस्तामा दुई यस्ता खेलाडी जन्मायो, जसको तुलना पुस्तौँसम्म भइरहनेछ ।

कतिपयले भन्ने गरेका छन्, यो पुस्ताले यही क्षमताका महान खेलाडीहरु सम्भव देख्न पाउने छैनन् । उनीहरु हुन् लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो। एकले खुट्टामा बल टाँसेर फुटबललाई कविताजस्तो बनाए भने अर्काले गति, शक्ति, अनुशासन, फिटनेस र अदम्य महत्वाकांक्षालाई आफ्नो पहिचान बनाए ।

Advertisement

क्लब फुटबलदेखि व्यक्तिगत कीर्तिसम्म, यी दुईबीचको प्रतिस्पर्धाले करिब दुई दशक विश्व फुटबललाई परिभाषित ग¥यो। तर अहिले उनीहरूको राष्ट्रिय टोलीको कथा भने दुई फरक दिशामा पुगेको छ। मेस्सी अर्जेन्टिनाको जर्सीमा भावुक बिदाइ लिएर बाहिरिएका छन् तर रोनाल्डो भने पोर्चुगलको जर्सीमा अर्को अध्याय लेख्ने कि यहीँबाट विवादको पर्दा झार्ने भन्ने मोडमा उभिएका छन्।

मेस्सी शानदार बिदाइमा सहभागी बनिरहदा रोनाल्डो विवाद, आक्रोश, पश्चाताप र रणभूल्लमा देखिन्छन् । बुधबार बिहान अर्जेन्टिनाको ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालाको वातावरण सामान्य फुटबल खेलजस्तो थिएन।

Advertisement

८५ हजारभन्दा बढी दर्शकबीच अर्जेन्टिनाले बेनिनसँग खेलेको खेल लियोनेल मेस्सीका लागि राष्ट्रिय टोलीको अन्तिम खेल थियो। खेलको १०औँ मिनेटमा नै मेस्सीको सम्मानमा खेल रोकियो र पूरा रंगशाला उनको नाममा गुञ्जियो।

त्यो केवल एउटा सुपरस्टारको बिदाइ थिएन। त्यो एक समय आफ्नै देशबाट निरन्तर आलोचना खेपेका खेलाडी र त्यही देशबीच बनेको असाधारण सम्बन्धको अन्तिम खेल जीवनको बिदाई उत्सव थियो।
सन् २०१४ को विश्वकप फाइनल, कोपा अमेरिकाका निराशाजनक फाइनलहरू र सन् २०१६ को पीडापछि मेसीले त अन्तर्राष्ट्रिय फुटबलबाट अस्थायी सन्याससमेत घोषणा गरेका थिए।

तर त्यसपछि कथा बदलियो। कोपा अमेरिका २०२१, फाइनलिसिमा २०२२, विश्वकप २०२२ र कोपा अमेरिका २०२४—मेसीले अर्जेन्टिनालाई लगातार उपाधि दिलाए। विश्वकप जितेपछि त अर्जेन्टिनामा मेसीप्रतिको दृष्टिकोण नै परिवर्तन भयो।

जसलाई कुनै समय ‘देशका लागि असफल’ भनिन्थ्यो, त्यही खेलाडी अन्ततः अर्जेन्टिनाको फुटबल इतिहासकै सबैभन्दा ठूलो नायक बने। उनी अर्जेन्टिनीका लागि मात्रै होइनन् विश्वकै आइडल बनेका छन् । यसैले हरेक खेलाडी आफू भित्र मेस्सी बन्ने दौडमा छन् ।

आज बिहानै सम्पन्न भएको बेनिनविरुद्धको अन्तिम खेलमा पनि मेसीले आफ्नो शैलीमा एक गोल र दुई असिस्टसहित अर्जेन्टिनालाई ३–० को जित दिलाए । मेसीले अन्तिम अन्तर्राष्ट्रिय खेल खेले, अन्तिम खेल हेर्न हजारौं दर्शक मैदानमा आएका थिए भने लाखौं समर्थक चोक, सडक, गल्ली र घरमै लाइभ हेरिरहेका थिए ।

खेलमा मेस्सीले १ गोल २ असिस्ट गरेपछि अर्जेन्टिना ३–०ले विजयी भयो। खेलमा रेफ्रिको भूमिका थिए, चिलीका फर्नान्डो भेहार। जब उनले खेलसकिएको सिठी बजाए, मेसी हात मिलाउन उनिभएतिर आए। त्यसपछि भेहारले गोजीबाट पहेँलो र रातो दुवै कार्ड निकाले, अनि मेस्सीलाई दुवै कार्ड दिँदै उनीप्रति सम्मान व्यक्त गरे।

यस्तै मेस्सीले खेलपछि विश्वकै लागि भावुक बिदाइ सन्देश दिएका छन् । उनले अर्जेन्टिनाका समर्थकलाई वर्षौँसम्म दिएको साथका लागि धन्यवाद दिँदै राष्ट्रिय टोलीबाट टाढा हुनु आफूका लागि ‘गहिरो पीडादायी’ हुने बताए ।

खेलपछि ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा समर्थकलाई सम्बोधन गर्दै मेस्सीले भने, ‘२० वर्षभन्दा बढी समय यो जर्सी लगाउन पाउनु मेरो लागि ठूलो गर्वको विषय हो ।’ ‘हामीले र मैले भोगेका सबैभन्दा खराब क्षणमा पनि मैले कहिल्यै संघर्ष गर्न छाडिनँ । म कहिल्यै पछि हटिनँ । अब यहाँ आउन नपाउनु निकै पीडादायी हुनेछ,’ उनले भने ।

उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट जीवनभर खेलिरहन चाहेको समेत बताए । ‘म जीवनभर खेलिरहन चाहन्छु, किनकि अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि खेल्नु तपाईंलाई हुन सक्ने सबैभन्दा सुन्दर कुरा हो,’ मेस्सीले भने । मेस्सीले अब क्लब फुटबलमा भने इन्टर मियामी बाट खेललाई निरन्तरता दिनेछन् ।

भावुक सम्बोधनका क्रममा मेसीले आफ्ना दिवंगत बुबा जर्ज मेस्सीलाई सम्झिए । अगस्टमा बुबाको निधन भएपछि राष्ट्रिय टोलीसँगको अन्तिम खेलमा उनले आफ्नो करिअरका विभिन्न उतारचढाव सम्झिएका थिए । ‘आज केही भन्न निकै कठिन भइरहेको छ । यति धेरै भावनाहरू छन् । सबैभन्दा पहिले म मेरा बुबाको बारेमा सोच्छु,’ उनले भने ।

आफ्नो अन्तर्राष्ट्रिय करिअरको सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा उनले निरन्तर संघर्ष र हार नमान्ने कुरालाई सम्झिए । मेस्सीले सन् २०२२ को विश्वकपलाई आफ्नो करिअरको विशेष क्षणका रूपमा सम्झिए । अर्जेन्टिनाले कतारमा भएको विश्वकप जित्दा आफ्नो र पूरै देशको सपना पूरा भएको उनले बताए ।

उनले विश्वकप यात्राका क्रममा टोलीले निकै कठिन परिस्थितिको सामना गरेको पनि बताए । तर, खेलाडीहरूले अर्जेन्टिनाको जर्सीका लागि सधैँ आफ्नो सबै कुरा दिएको उनको भनाइ थियो । ‘हरेक साथीले यो जर्सीका लागि सबै कुरा दिए’ मेस्सीले अर्जेन्टिनाका आफ्ना सबै सहकर्मी खेलाडीको प्रशंसा गरे ।

‘हामी असाधारण समूह थियौँ र त्यसैले हामीले जे–जे हासिल ग¥यौँ, त्यो सम्भव भयो,’ मेसीले थपे । उनले अर्जेन्टिनाका विभिन्न सहरमा समर्थकले दिएको साथ पनि सम्झिए । ‘म देशभर यात्रा गर्ने भाग्यमानी भएँ । म जहाँ गएँ, तपाईंहरूले रंगशाला भरिदिनुभयो र हामीसँगै रहनुभयो । त्यसका लागि म सधैँ आभारी रहनेछु,’ उनले भने ।

मेसीले सन् २०२२ को विश्वकप जितेपछि अर्जेन्टिनाको घरेलु मैदान मोनुमेन्टलमा समर्थकमाझ फर्किएको क्षणलाई आफ्नो करिअरकै सबैभन्दा सुन्दरमध्ये एक बताए । तर, त्यही रंगशालामा राष्ट्रिय टोलीसँग बिदाइ लिँदा भने उनी भावुक बने ।

‘आज म यहाँ आफ्नो करिअरकै सबैभन्दा दुःखद दिनमा छु । यही दिन मैले राष्ट्रिय टोली र तपाईंहरू सबैलाई बिदाइ भन्नुपरेको छ,’ मेसीले भने । अन्तिम सम्बोधनमा मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीलाई आगामी दिनमा पनि एकताबद्ध भएर समर्थन गर्न समर्थकलाई आग्रह गरे ।

‘सधैँ एकताबद्ध रहनुहोस् । ठूलो परिवर्तन हुँदा कठिन समय आउँछन्, जस्तो सधैँ हुने गर्छ । तर हामी सबै एकजुट रहनुपर्छ,’ मेसीले भने । उनले राष्ट्रिय टोलीबारे नकारात्मक टिप्पणी गर्नेहरू आउन सक्ने भन्दै टोलीको समर्थनमा उभिन पनि समर्थकलाई आग्रह गरे ।

उता ठीक यही समयमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको कथा भने असहज मोडमा पुगेको छ। ४१ वर्षीय रोनाल्डो राष्ट्रिय टोलीबाट सन्यास लिने तयारीमा छैनन्। बरु उनले स्पष्ट रूपमा आफु शारीरिक रूपमा फिट रहेर क्लब फुटबलमा राम्रो प्रदर्शन गरिरहेका अवस्थामा आफू पोर्चुगलका लागि उपलब्ध रहने भनेका छन्।

तर उनी अहिले राष्ट्रिय टोलीको प्रशिक्षण शिविरबाट बाहिर छन्। कारण हो मुख्य प्रशिक्षक जोर्जे जेसुससँगको विवाद । विवादको सुरुवात नर्वेविरुद्धको नेसन्स लिग खेलबाट भयो। रोनाल्डोका अनुसार उनलाई सुरुमा नर्वे र डेनमार्कविरुद्धका खेलमा आराम दिने योजना थियो।

तर नर्वेविरुद्धको खेलअघि जेसुसले उनलाई करिब ३० मिनेट खेलाउने बताएका थिए। रोनाल्डो मध्यान्तरदेखि वार्मअप गर्दै मैदान प्रवेशको प्रतीक्षा गरिरहे। तर अन्ततः उनी मैदान प्रवेश नगरी खेल सकियो।

विवाद यत्तिमै रोकिदैन, नर्वेविरुद्धको खेलपछि त झन रोनाल्डो र जेसुसबीचको सम्बन्ध थप चिसियो। रोनाल्डोका अनुसार पछि भएको छलफलमा अल नासरका खेल निर्देशक सिमाओ काउटिन्होको उपस्थितिमा घटनाबारे सार्वजनिक रूपमा स्पष्टीकरण दिने सहमति भएको थियो। त्यसका लागि आठ बुँदाको दस्तावेजसमेत तयार गरिएको उनको भनाइ छ।

त्यसमा रोनाल्डोले खेल्ने समय माग नगरेको, प्रशिक्षकको निर्णयको सम्मान गरेको र उनलाई वार्मअप गराएर मैदानमा नउतारिएको घटना गल्ती भएको विषय स्पष्ट पारिने भनिएको थियो। तर रोनाल्डोको दाबीअनुसार जेसुसले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति निजी छलफलमा भएको सहमतिसँग मेल खाएन।

त्यसपछि रोनाल्डोले यसलाई दोस्रोपटक वाचा तोडिएको भनेका छन्। त्यसपछि उनले प्रशिक्षण शिविर छाड्ने निर्णय गरेका थिए । जेसुसको पक्ष भने फरक छ। उनले त्यस्तो कुनै सहमति नभएको बताएका छन्। तर रोचक कुरा त के छ भने उनले रोनाल्डोका लागि राष्ट्रिय टोलीको ढोका बन्द नभएको पनि स्पष्ट गरेका छन्।

अर्थात् विवाद छ, तर सम्बन्ध पूर्ण रूपमा समाप्त भने भइसकेको छैन। त्यति मात्र होइन रोनाल्डोले अझै पनि आफू पोर्चुगलका लागि खेल्न तयार रहेको सन्देश पनि दिएका छन्। यही बिन्दुमा अहिलेको घटनालाई ‘रोनाल्डोले पोर्चुगल छाडे’ भनेर बुझ्नु गलत हुन्छ।

रोनाल्डोले आफ्नो पछिल्लो वक्तव्यमा आफू सम्भावित निलम्बनको सजाय भोगिसकेपछि राष्ट्रिय टोलीका लागि उपलब्ध हुने पनि बताएका छन्। उनले पोर्चुगलका लागि अझै प्रतिस्पर्धा गर्न र जित्न चाहेको स्पष्ट पारेका छन्।

साथै, प्रशिक्षण शिविर छाडेको घटनाप्रति आफ्ना सहकर्मी र पोर्चुगिज समर्थकसँग माफी माग्दै फुटबल महासंघले गर्ने सम्भावित कारबाही स्वीकार गर्ने बताएका छन्। यहीँबाट मेसी र रोनाल्डोको अन्तिम अध्यायबीचको सबैभन्दा ठूलो अन्तर देखिन्छ।

मेसीले अर्जेन्टिनालाई लामो समय उपाधि दिलाउन नसक्दा आलोचना खेपे। तर अन्ततः उनले विश्वकपसहित ठूला उपाधि जिते र आफ्नो देशको भावनासँग पूर्ण रूपमा जोडिए। त्यसैले जब उनले राष्ट्रिय टोली छाड्ने निर्णय गरे, अर्जेन्टिनाले उनलाई रोक्नेभन्दा पनि भव्य रूपमा बिदाइ गर्ने बाटो रोज्यो।

रोनाल्डोको परिस्थिति फरक छ। उनले पनि पोर्चुगलका लागि इतिहास बनाएका छन्। तर अहिले प्रशिक्षकको नजरमा महान् विगतभन्दा वर्तमान प्रदर्शन र टोलीको संरचना ठूलो हो कि होइन भन्ने प्रश्न छ? रोनाल्डोले आफू फिट र क्लबमा राम्रो प्रदर्शन गरिरहेको अवस्थामा पोर्चुगलका लागि उपलब्ध हुने बताएका छन्।

प्रशिक्षक जेसुसले पनि फर्किने ढोका खुला राखेका छन्।त्यसैले आगामी समय रोनाल्डोका लागि केवल फुटबलको प्रश्न होइन, आफ्नो विरासत कसरी अन्त्य गर्ने भन्ने प्रश्न पनि हुनेछ। के उनी प्रशिक्षकसँगको विवाद बिर्सेर फेरि पोर्चुगलको जर्सी लगाउनेछन् त ?

के जेसुस र रोनाल्डोबीच सम्बन्ध सुधार हुनेछ त वा नम्बर ७ को युग अब विस्तारै अन्त्यतिर पुग्दैछ? यी प्रश्नको उत्तर समयले नै दिनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top