२३ असोज , काठमाण्डौ ।
नेपालबाट मनसुन बाहिरिने क्रम सुरु भएपनि केही दिनयता निरन्तर असिनापानी परिरहेको छ । हाल देशका पहाडी र हिमाली भूभाग, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।

हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेस लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशको हिमाली र पहाडी भूभाग साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।
कोश प्रदेशको तराई भूभागका केही स्थानमा, मधेस प्रदेशको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
उता जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट सूचना नदिँदा पश्चिम नेपालमा किसानले काटेर सुकाएको धान भिजेको छ । विभागको आधिकारिक सूचना पत्याएर धान काटेका किसानको बाली यतिबेला खेतमै डुबेको छ ।
केही दिनअघि मौसमविज्ञ विनोद पोखरेललगायतले असोज १७ गते आसपासबाट वर्षाको सम्भावना रहेको भन्दै किसानलाई सचेत गराएका थिए । तर, मौसम पूर्वानुमान महाशाखाले एक औपचारिक सूचना नै जारी गर्दै ‘असोज १७ गतेदेखि तीन दिनका लागि भीषण वर्षा हुन्छ भनेर फैलिएको खबर भ्रामक रहेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएको’ दाबी ग¥यो ।
राज्यको आधिकारिक निकायले नै पानी पर्दैन र सामाजिक सञ्जालका हल्लाको पछि नलाग्न भनेपछि ढुक्क भएका किसानले असोज १७ र १८ गते खेतमा पाकेको धान काटेका थिए । तर, विभागको पूर्वानुमानविपरीत असोज २०, २१ र २२ गतेसहित पछिल्ला केही दिनयता परेको अविरल वर्षाले काटेर सुकाउन राखिएको धान खेतमै भिजेर नष्ट भएको छ ।
वर्षाका कारण विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा धानबालीमा क्षति पुगेको छ । लुम्बिनी प्रदेशका बर्दिया, बाँके, रूपन्देही र कपिलवस्तुलगायतका जिल्लामा पाक्न लागेको र काटेर खेतमा सुकाइएको धान पूर्ण रूपमा प्रभावित भएको छ ।
लुम्बिनी प्रदेश कृषि निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेका अनुसार हाल विभिन्न जिल्लाबाट धानबालीमा क्षति भएको विवरणहरू आइरहेका छन् । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमको कैलाली र लुम्बिनीको बर्दियामा १९ गते राति हावाहुरीसहित भारी वर्षा हुँदा किसानले ठुलो नोक्सानी बेहोर्नुपरेको छ ।
कैलालीमा खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालमा समेत क्षति पुगेको छ । यसैबीच मौसम प्रतिकुलका बीच दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौंको नयाँ बसपार्कमा गएरातिदेखि नै यात्रुको लामो लाइन लागेको छ । नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले हिजो राति ९ बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको जानकारी दिएका छन् ।
मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु हिजो रातिदेखि नै नयाँबसपार्कमा आएर टिकटको लाइनमा बसेको बताए । दसैँको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको छ ।
फूलपातीदेखि पूर्णिमासम्मका लागि रिजर्भ गाडी तथा लामो÷मध्यम दूरीका सवारीसाधनलाई नेपालभरका लागि रुट–परमिट खुला हुनेछ । चाडपर्वको अवधिमा सडकमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसीबोकाजस्ता अत्यावश्यक सामग्री बोक्ने गाडीहरूलाई मात्र प्राथमिकता दिइने भएको छ ।
यात्रुहरूलाई ठगिन वा कालाबजारी हुन नदिन र भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा स्टेसनहरूमा सहायता कक्ष राखिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैँलगायत चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि नहुने र पूर्वनिर्धारित भाडामा नै आवातजावतको व्यवस्था गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
वर्षा र प्राकृतिक प्रकोपका कारण धेरै ठाउँमा बाटो बिग्रिएकाले जोखिम मोलेर कुनै पनि सवारीसाधन नचलाउन चालकहरूलाई आग्रह गरिएको उनले बताएका छन् ।





