मरेको बच्चा बोकेको हात्तीको तस्बिरले जित्यो उत्कृष्ट पुरस्कार

२८ असोज ८३, बुधबार
Share this
672shares

२८ असोज , काठमाण्डौ ।

Advertisement

नामिबियाको मरुभूमिमा मृत जन्मेको छावा बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ । फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ ।

भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका थिए । पोथी हात्तीले मृत बच्चालाई सुँडमा बोकेर हिँडिरहेको थियो । कहिलेकाहीँ बच्चालाई भुइँमा राखेर खानेकुरा खाने वा पानी पिउने गरे पनि उसले फेरि बच्चालाई उठाएर आफ्नो यात्रा जारी राखेको थियो ।

Advertisement

सुरुमा उक्त दृश्यलाई आफ्नै सन्तान गुमाएकी आमाको शोकका रूपमा हेरिएको थियो । तर,पछि अनुसन्धानका क्रममा ती हात्ती मृत बच्चाकी आमा नभएको खुलेको बीबीसीमा समाचार छ । नामिबियाका मरुभूमि हात्तीको संरक्षणमा काम गर्ने संस्था एलिफ्यान्ट ह्युमन रिलेसन एडका संरक्षण कार्यक्रम निर्देशक क्रिस्टिन विन्टरका अनुसार १४ वर्षीया उक्त पोथी हात्तीले दुई वर्षअघि आफ्नै बच्चा गुमाएकी थिइन् ।

त्यसयता उनले अन्य हात्तीका मृत बच्चालाई अलग÷अलग ठाउँमा बोकेर हिँडेको अभिलेख गरिएको छ । यस क्षेत्रमा यस्तो व्यवहार पहिलोपटक अभिलेख गरिएको विन्टरको भनाइ छ । हात्तीले मृत बच्चालाई लामो समयसम्म बोकेर हिँड्नुको कारणबारे विभिन्न अनुमान गरिएका छन् ।

Advertisement

संरक्षणकर्मीहरूका अनुसार यो व्यवहार बच्चाको मृत्यु स्वीकार गर्न नसकेको अवस्था,भावनात्मक पीडा वा मृत शरीरलाई सिकारीबाट जोगाउने प्रयाससँग सम्बन्धित हुन सक्छ । यद्यपि,यसको वास्तविक कारण भने स्पष्ट भइसकेको छैन ।

अफ्रिकी सवाना हात्तीकी विशेषज्ञ तथा संरक्षण संस्था एलिफ्यान्ट भ्वाइसेजकी संस्थापक जोयस पूलले पनि हात्तीले आफ्ना सन्तान वा अन्य हात्तीको मृत्युमा शोक व्यक्त गर्ने व्यवहार देखाउने बताएकी छन्। उनका अनुसार हात्तीहरू मृत हात्तीका अवशेष नजिक जाने, हड्डी छुने र लामो समयसम्म त्यहाँ उभिने गरेको देखिएको छ।

यस्ता दृश्यले हात्तीमा पनि जटिल भावना र शोक अनुभव गर्ने क्षमता रहेको बुझ्न मद्दत गर्ने उनको भनाइ छ । यसैबीच नामिबियाका मरुभूमि हात्तीको सङ्ख्या पछिल्ला दुई दशकदेखि निरन्तर घटिरहेको संरक्षणकर्मीहरूले बताएका छन्।

लामो समयसम्मको खडेरी,पानीको अभाव र मानिससँग बढ्दो द्वन्द्व उनीहरूको सङ्ख्या घट्नुका प्रमुख कारण हुन् । संरक्षणकर्मी विन्टरका अनुसार हात्ती र मानिसबीचको द्वन्द्व प्रायः पानीका स्रोतलाई लिएर हुने गरेको छ।

हात्तीले पानीका ट्याङ्की भत्काउने, पाइप तान्ने र पम्पमा क्षति पु¥याउने गरेपछि स्थानीय बासिन्दामा हात्तीप्रति असन्तुष्टि बढ्ने गरेको छ । नवजात छाबाको उच्च मृत्युदर पनि गम्भीर चिन्ताको विषय बनेको छ ।

विन्टरका अनुसार सन् २०१४ देखि २०२२ सम्म अभिलेख गरिएका १६ बच्चामध्ये दुईवटा मात्रै बाँचेका थिए। मृत जन्मिएका बच्चा सामान्य स्वस्थ बच्चाभन्दा निकै साना हुने गरेको पनि उनले बताएकी छन्। छाबा समयअगावै जन्मिनुमा पोथी हात्तीको कमजोर शारीरिक अवस्था र मानिससँगको द्वन्द्वका कारण उत्पन्न दीर्घकालीन तनावको भूमिका हुन सक्ने अनुमान गरिएको छ।

यसबारे थप तथ्य पत्ता लगाउन संरक्षणकर्मी तथा अनुसन्धानकर्ताहरूले हात्तीको गोबरका नमुना सङ्कलन गरी वातावरणीय प्रदूषण र तनावसँग सम्बन्धित हर्मोनको अध्ययन गरिरहेका छन् । नामिबियाका मरुभूमि हात्ती छुट्टै प्रजाति नभई सुख्खा वातावरणमा अनुकूलित भएका अफ्रिकी हात्ती हुन्।

उनीहरू पानी र खानाको खोजीमा लामो दूरीसम्म यात्रा गर्छन्। संरक्षणकर्मीहरूका अनुसार खडेरी र मानव–वन्यजन्तु द्वन्द्वका कारण यो जनसङ्ख्या थप जोखिममा परेको छ। भेरोनेसीले खिचेको तस्बिरले हात्तीको दुर्लभ व्यवहारलाई अभिलेख गर्नुका साथै वन्यजन्तुको भावनात्मक जीवन र तिनको संरक्षणको आवश्यकतामाथि ध्यानाकर्षण गराएको छ।

लन्डनस्थित प्राकृतिक इतिहास सङ्ग्रहालयले आयोजना गर्ने ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ प्रतियोगितामा उक्त तस्बिरले सन् २०२६ को सर्वोच्च पुरस्कार जितेको हो । हात्तीहरूको गतिविधि नियालिरहेका बेला भेरोनेसीले नामिबियाको सुक्खा नदीको बालुवामा घिसारिएको जस्तो देखिने असामान्य पदचिह्न फेला पारेका थिए ।

ती चिह्न पछ्याउँदै जाँदा उनले एउटा पोथी हात्तीले मृत बच्चालाई बोकेको देखे । बच्चाको एउटा खुट्टा हात्तीको दाह्रा र सुँडको बीचमा अड्किएको थियो । वन्यजन्तुको तस्बिर खिच्न थालेको २० वर्षको अनुभवमा यो सबैभन्दा हृदयविदारक, रोचक र नाटकीय क्षण भएको भेरोनेसीले बताएका छन् ।

उनले आफ्नो तस्बिरले मानिसहरूलाई जनावरको बाहिरी रूपभन्दा पर हेर्न र तिनलाई आफ्नै सम्बन्ध, स्मृति तथा भावना भएका जीवका रूपमा बुझ्न प्रेरित गर्ने आशा व्यक्त गरेका छन् । यस वर्षको प्रतियोगितामा हात्ती, कीरा, समुद्री जीव, चराचुरुङ्गी, उभयचर र वनस्पतिसहित प्रकृतिका विविध पक्ष समेटिएका तस्बिर पुरस्कृत भएका छन् ।

जिम्बाब्वे र बेलायतसँग सम्बन्धित युवा फोटोग्राफर ओस्कार ह्विटफिल्डले गोबरको डल्लो गुडाउँदै गरेको गोब्रे कीराको तस्बिरका लागि ११ देखि १४ वर्ष उमेर समूहको युवा विधामा पुरस्कार जितेका छन्। जिम्बाब्वेको जाम्बेजी राष्ट्रिय निकुञ्जमा खिचिएको तस्बिरमा कीराले आफ्नो शरीरभन्दा निकै ठूलो गोबरको डल्लो बालुवामा गुडाउँदै गरेको देखिन्छ ।

बेलायतकी एमिली डेभिसले भने आफ्नो बगैँचामा बुबाको स्मार्टफोन प्रयोग गरेर खिचेको भमराको तस्बिरका लागि १० वर्ष वा सोभन्दा कम उमेर समूहमा पुरस्कार जितेकी छन् । ‘फ्लाइट अफ द बम्बलबी’ नाम दिइएको तस्बिरमा फूलमा बस्न लागेको भमराको पखेटाको एक क्षणलाई कैद गरिएको छ ।

बेलायतकै जेम्स लेविनले केन्याको च्युलु हिल्स राष्ट्रिय निकुञ्जमा पानीको मुहानमा जेब्रातर्फ पानी छ्याप्दै गरेको जवान भाले हात्तीको तस्बिर खिचेका छन् । इन्फ्रारेड प्रविधिमा रूपान्तरण गरिएको क्यामेरा प्रयोग गरेर खिचिएको उक्त श्यामश्वेत तस्बिर ‘एनिमल्स इन देयर इन्भाइरोन्मेन्ट’ विधामा पुरस्कृत भएको छ ।

प्रतियोगितामा पुरस्कृत केही तस्बिरले जलवायु परिवर्तन र मानव गतिविधिका कारण वन्यजन्तु तथा तिनको बासस्थानमा देखिएका परिवर्तन पनि उजागर गरेका छन् । बेलायतका आरोन स्यान्डर्सले कर्नवालको पोर्थकेरिस समुद्री तटमा खिचेको अक्टोपसको तस्बिर ‘एनिमल पोट्र्रेट्स’ विधामा पुरस्कृत भएको छ ।

सामान्यतः न्यानो भूमध्यसागरीय क्षेत्रमा पाइने साधारण अक्टोपस पछिल्लो समय दक्षिणपश्चिमी बेलायतमा पनि बढी देखिन थालेका छन् । विश्वव्यापी तापक्रम वृद्धिका कारण वसन्त ऋतुमा समुद्रको पानी न्यानो बन्दै जाँदा यसको उपस्थितिमा वृद्धि भएको विवरणमा उल्लेख छ ।

दक्षिण अफ्रिकाका इसाक प्रिटोरियसले युगान्डाको माबाम्बा दलदलमा दुईवटा सुबिल चराले गुँड बनाउन घाँस र पात बोकेको तस्बिर खिचेका छन् । जंगलमा वयस्क सुबिलको संख्या पाँच हजार तीन सयभन्दा कम रहेको अनुमान छ । पेलिकन, बकुल्ला र आइबिस चरासँग नजिकको सम्बन्ध भएको यो दुर्लभ चरा संरक्षणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

त्यस्तै, थाइल्यान्डको बैंककस्थित लुम्फिनी पार्कमा खिचिएको पानीगोहोरोको तस्बिरले सहरभित्र वन्यजन्तुको अनुकूलन क्षमता देखाएको छ । बेलायती फोटोग्राफर सेथ फरेस्टसनले सहरका अग्ला भवनको पृष्ठभूमिमा माछा समातेको पानीगोहोरोको तस्बिर खिचेका हुन् ।

दक्षिण तथा दक्षिणपूर्वी एसियाका विभिन्न सहरमा पाइने यस्ता गोहोरोले उपलब्ध खाद्यस्रोतअनुसार आफ्नो आहार अनुकूल बनाउने गरेका छन् । प्रतियोगिताका अन्य तस्बिरले मानिसका गतिविधि, सहरीकरण र औद्योगिक विकासले प्रकृतिमा पारिरहेको प्रभावलाई पनि प्रस्तुत गरेका छन् ।

कोलम्बियाका एलेक्स भिस्बालले अमेरिकाको उटाहस्थित ग्रेट साल्ट लेकको तस्बिर खिचेका छन् । ‘द ग्रेट डिभाइड’ नाम दिइएको उक्त तस्बिरले जलस्रोतमा बनाइएको एउटा कृत्रिम रेखाले कसरी सिमसारको स्वरूप परिवर्तन गर्न सक्छ भन्ने देखाउँछ । तस्बिरमा तालको एक भाग गुलाबी र अर्को भाग फिक्का नीलो देखिन्छ ।

गुलाबी रङ अत्यधिक नुनिलो पानीमा फस्टाउने सूक्ष्मजीवका कारण बनेको हो । उक्त क्षेत्रमा ताजा पानीको आपूर्ति अवरुद्ध भएपछि पानीको अवस्था परिवर्तन भएको विवरणमा उल्लेख छ । चिलीका फोटोग्राफर फ्रान्सिस्को नेग्रोनिले अर्जेन्टिनाको पाटागोनियास्थित सान्ता क्रुज प्रान्तमा तारको बारमा झुन्ड्याइएको मृत पुमाको तस्बिर खिचेका छन् ।

‘वार्निङ साइन’ नाम दिइएको उक्त तस्बिर ‘फोटो पत्रकारिता’ विधामा पुरस्कृत भएको हो । सान्ता क्रुजमा सन् २०२५ मा पुमाको सिकार प्रतिबन्धित गरिए पनि अवैध रूपमा तिनको हत्या गर्ने क्रम जारी रहेको विवरणमा उल्लेख छ ।

अमेरिकाका लोरेन इलियटले सान फ्रान्सिस्कोमा बस्ने कोयोटको जीवनमाथि तयार पारेको तस्बिर–कथाले फोटो पत्रकारिता विधामा विशेष पुरस्कार पाएको छ । सहरमा करिब एक सय कोयोट रहेको अनुमान छ ।

तिनले घरपालुवा जनावरलाई आक्रमण गर्न सक्ने भए पनि रोग फैलाउने मुसाको संख्या नियन्त्रण गर्न पनि सहयोग गर्छन् । त्यसैले सहरवासीमा तिनलाई लिएर फरक–फरक धारणा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top