२९ असोज , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाए ।
एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको दाबी गर्दै अडियो सार्वजनिक भएपछि उनी विवादमा ।

यस प्रकरणमा उठेका प्रश्नको लिखित प्रतिक्रिया दिन रास्वपा केन्द्रीय अनुशासन आयोगले मंगलबार सुनारलाई पत्र पठाएको थियो ।
आयोगमा जवाफ पठाउँदै सुनारले आफूमाथि लगाएको आरोप अस्वीकार गरेको आयोगका एक सदस्यको जानकारी ।

आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरी महिलासँग ‘ब्ल्याकमेलिङ’ गरेको सुनिने अडियो सोमबार जनआस्थाले सार्वजनिक गरेको थियो ।
उक्त अडियोलाई लिएर चौतर्फी आलोचना बढेपछि रास्वपाले सत्यतथ्य अनुसन्धान गरी छानबिन प्रक्रिया अगाडि बढाउन पार्टी अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।
अयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले पहिलो चरणमा लिखित प्रतिक्रिया लिने काम सम्पन्न भएको र दोस्रो चरणको छानबिन प्रक्रिया अगाडि बढेको बताए ।



