२ कार्तिक , काठमाण्डौ ।
फ्लाई दुबईको घटना सेलाउन नपाउँदै इजराइलबाट उडान भरेको एउटा विमानमा फेरि बमको धम्की आएको छ । आइतबार बम राखिएको धम्की आएपछि इजरायलबाट अस्ट्रिया जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको विमान बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ ।
आइतबार राति तेल अभिभबाट भियनातर्फ उडेको एयरबस ए ३ २० विमान बुल्गेरियाको राजधानी सोफियामा अवतरण गरिएको बुल्गेरियाको यातायात मन्त्रालयले जनाएको छ । विमान अवतरणपछि यात्रुलाई बाहिर निकालिएको थियो ।

यातायात मन्त्रालयका अनुसार विमानको सुरक्षाका लागि बुल्गेरियाली वायुसेनाले मिग–२९ लडाकु विमान परिचालन गरेको थियो । घटनामा कोही घाइते भएको खबर छैन । घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।
बुल्गेरिया र इजरायलका सञ्चारमाध्यमले विमानमा बम राखिएको धम्की आएको जनाएका छन् । अस्ट्रियन एयरलाइन्सले पनि धम्की आएको पुष्टि गरेको छ । यद्यपि, धम्कीको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

एएफपी समाचार संस्थालाई एयरलाइन्सका एक प्रवक्ताले विमानमा ५१ जना यात्रु र चालक दलका छ जना सदस्य रहेको बताएका छन् । धम्कीको सूचना प्राप्त भएको करिब ३० मिनेटपछि विमान सोफियामा अवतरण भएको थियो ।
विमान मार्ग परिवर्तन गर्दा रोमानियाको आकाशमा उडिरहेको थियो । उडानसम्बन्धी तथ्याङ्कअनुसार विमान आइतबार साँझ तेल अभिभस्थित बेन गुरियन विमानस्थलबाट उडेर करिब तीन घण्टापछि सोफियास्थित भासिल लेभ्स्की विमानस्थलमा अवतरण गरेको थियो ।
गत महिना पनि तेल अभिभतर्फ जाँदै गरेको फ्लाइदुबईको विमान अपहरण गर्ने प्रयास भएको थियो । विमानका पाइलटमाथि आक्रमण गरेका एक व्यक्तिलाई चालक दल र यात्रुले नियन्त्रणमा लिएका थिए । त्यसपछि विमानलाई साउदी अरेबियामा सुरक्षित अवतरण गराइएको थियो ।
त्यस्तै, गत साता ग्रिसको कोर्फु टापुबाट जर्मनीको न्युरेम्बर्गतर्फ जाँदै गरेको व्यावसायिक उडानबाट गल्तीवश अपहरणसम्बन्धी आपत्कालीन सङ्केत जारी भएपछि क्रोएसिया र जर्मनीले पनि लडाकु विमान परिचालन गरेका थिए ।
यसैबीच उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली जनतालाई वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नै पुनः निर्वाचित गर्न अपिल गरेका छन् । उनले नेतान्याहूलाई ‘बीबी’ उपनामले सम्बोधन गर्दै उनीबाट इजरायली जनता कहिल्यै निराश नहुने दाबी गरे ।
ट्रम्पले चेतावनी दिँदै इजरायलले नेतन्याहूबाहेक अन्य नेतालाई प्रधानमन्त्री चुनेमा अमेरिकाले इरानविरुद्धको युद्ध एक्लै लड्नुपर्ने अवस्था आउन सक्ने बताए । तर, आफूले त्यस्तो परिस्थिति नचाहने उनको भनाइ छ ।
इजरायली जनताका नाममा जारी सन्देशमा ट्रम्पले नेतन्याहूलाई ‘बलियो, साहसी र दूरदर्शी’ नेताका रूपमा चित्रण गरे । ट्रम्पले नेतन्याहूलाई अत्यन्तै जटिल र कठिन परिस्थितिमा काम गरिरहेको आफूले देखेको बताए ।
उनका अनुसार, यस्तो चरम दबाबमा सामान्य मानिस कमजोर हुन सक्थे, तर नेतन्याहू भने चट्टानझैँ अडिग रहे । ट्रम्पले इरानले विगत ५१ वर्षदेखि इजरायल र अमेरिकालाई समाप्त पार्ने धम्की दिँदै आएको आरोप लगाए ।
ट्रम्पले इरानको सैन्य तथा आर्थिक शक्तिलाई योजनाबद्ध रूपमा कमजोर पारिएको दाबीसमेत गरे । इरानले तत्काल आफ्नो व्यवहारमा सुधार नगरे अमेरिकाले बाँकी काम पनि चाँडै पूरा गर्ने उनको चेतावनी छ ।
इजरायलमा अक्टोबर २७ मा हुने भनिएको आम निर्वाचनअघि सार्वजनिक चारवटा प्रमुख मतसर्वेक्षणले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी ग्याडी आइजनकोटको याशर पार्टीभन्दा पछाडि रहेको देखाएका छन् ।
चारवटै सर्वेक्षणको औसतअनुसार याशर पार्टीले २१.५ सिट र लिकुड पार्टीले १९ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । मारिभको सर्वेक्षणमा लिकुड पार्टीले १८ सिट पाउने अनुमान गरिएको छ । च्यानल १३ को सर्वेक्षणमा पनि लिकुडले १८ सिट पाउने र याशर पार्टीले २० सिट प्राप्त गर्ने अनुमान छ ।
कान न्युजको सर्वेक्षणमा पनि याशर पार्टी अगाडि देखिएको छ । च्यानल १२ को सर्वेक्षणमा याशर पार्टीले २३ सिट र लिकुड पार्टीले २० सिट प्राप्त गर्ने अनुमान गरिएको छ । यद्यपि, इजरायली संसद् सेनेटमा सरकार गठनका लागि आवश्यक ६१ सिटको स्पष्ट बहुमत कुनै पनि गठबन्धनले प्राप्त गर्ने सम्भावना देखिएको छैन ।
नेतन्याहू नेतृत्वको सत्तारूढ गठबन्धनले ४९ देखि ५३ सिट र आइजनकोट नेतृत्वको विपक्षी गठबन्धनले ५० देखि ५४ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । यसैबीच, अरब राजनीतिक दलहरूले औसतमा १३.७५ सिट प्राप्त गर्न सक्ने अनुमान गरिएको छ ।
यस्तो अवस्थामा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने क्रममा ती दलहरूको भूमिका निर्णायक बन्न सक्ने देखिएको बताइएको छ । यता इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगीहरूले ठुलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् ।
इरानी संसद्बाट विश्वासको मत प्राप्त गरेपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै अखलाघीले अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावना न्यून रहेको बताए । तर, त्यस्तो कदम चालिए अमेरिका र सम्पूर्ण क्षेत्रले गम्भीर परिणाम भोग्नुपर्ने उनको भनाइ थियो ।
“जनता ढुक्क भए हुन्छ, उनीहरूले हामीमाथि आक्रमण गर्ने आँट गर्ने सम्भावना निकै कम छ । तर, यदि उनीहरूले त्यसो गरे भने, उनीहरू आफैँ र सम्पूर्ण क्षेत्रले ठुलो क्षति बेहोर्नुपर्नेछ”, अखलाघीले भने । इरानी संसद्का सदस्यहरूले उहाँलाई नयाँ रक्षामन्त्रीका रूपमा नियुक्त गर्न अनुमोदन गरेका हुन् ।
सरकारी टेलिभिजनका अनुसार, आइतबार भएको मतदानमा उनले खसेको कुल २७७ मतमध्ये २३७ मत प्राप्त गर्नुभएको थियो । उनले रक्षा तथा सशस्त्र बलको रसदसम्बन्धी मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । अखलाघीले पूर्वरक्षामन्त्री अजिज नासिरजादेहको स्थान लिएका छन ।
नासिरजादेहको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणमा मृत्यु भएको थियो । उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित वरिष्ठ सैन्य कमान्डरहरू पनि मारिएका थिए ।
इरानको सरकारी समाचार संस्था आइएसएनएका अनुसार, मतदानअघि अखलाघीले आफूले जिम्मेवारी पाए देशको रक्षाका लागि संवेदनशील परिस्थितिको गहन विश्लेषण र पूर्ण तयारी आवश्यक हुने बताएका थिए ।
उनले वर्तमान परिस्थितिको सही मूल्याङ्कन, घटनाक्रम पछाडिका कारणको बुझाइ, प्रभाव पार्ने प्रवृत्तिको पहिचान तथा भविष्यमा उत्पन्न हुनसक्ने विभिन्न अवस्थाको सामना गर्ने तयारीलाई देशको रक्षाका लागि महत्वपूर्ण मानेका छन् ।
सैन्य दर्जा नभए पनि अखलाघीले इरानको रक्षा मन्त्रालयमा ४२ वर्ष काम गरिसकेका छन् । सन् २०१३ देखि उनले इरानको सरकारी हतियार उत्पादक निकाय रक्षा उद्योग सङ्गठनको नेतृत्वसमेत सम्हाल्दै आएका छन् ।
संयुक्त राष्ट्रसङ्घले सन् २००७ मा परमाणु तथा ब्यालेस्टिक क्षेप्यास्त्रसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा अखलाघीमाथि प्रतिबन्ध लगाएको थियो । अमेरिका र इजरायलको आक्रमणपछि इरानले प्रतिकारस्वरूप विभिन्न सैन्य कारबाही सञ्चालन गरेको थियो ।
यस्तो अवस्थामा नयाँ रक्षामन्त्रीको चेतावनीले मध्यपूर्वमा पुनः सैन्य तनाव बढ्न सक्ने चिन्ता थपिएको छ ।



