५ कार्तिक , काठमाण्डौ ।
बडादशैंको विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम विहानैदेखि जारी छ । आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ ।
दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहन्छ।

दसैँको टीकाको दोस्रो दिन आज पनि टाढा टाढा रहेका आफन्त तथा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ। देवीको प्रसाद भएकाले विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका लगाउने शास्त्रीय र सामाजिक परम्परा रहिआएको छ।
दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद मान्यजनबाट ग्रहण गरिन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने धार्मिक परम्परा छ ।

नौ दिनसम्म नवदुर्गाको पूजा–आराधना गरी देवी विसर्जन गरेपछि सुरु हुने टीका र आशीर्वाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीका दिन आफन्तकहाँ गएर टीका लगाउन छुटेकाहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न सक्छन् ।
दसैँमा परिवारका सदस्य तथा आफन्तजन भेला भएर टीका, जमरा र आशीर्वाद आदानप्रदान गर्ने परम्पराले पारिवारिक भेटघाट र पुनर्मिलनको अवसरसमेत प्रदान गर्छ । हिन्दु पात्रोअनुसार आश्विन शुक्ल पक्षको एघारौँ तिथिलाई पापाङ्कुशा एकादशी भनिन्छ ।
वैष्णव परम्परामा यस एकादशीलाई विशेष महत्त्वका साथ लिइन्छ । यस दिन भगवान् विष्णुको पद्मनाभ स्वरूपको पूजा–आराधना गर्ने धार्मिक मान्यता छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार यस एकादशीको व्रत र भगवान् विष्णुको उपासनाले पापबाट मुक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
यस दिन व्रत बस्ने, फलाहार गर्ने, पूजा–पाठ गर्ने तथा एकादशी महात्म्यको कथा श्रवण गर्ने चलन छ । व्रतको सुरुवात बिहान स्नान गरी चोखो वस्त्र धारण गरेर गरिन्छ । पूजापाठ तथा मन्दिर दर्शनपछि एकादशीको महिमा सुन्ने र अन्न तथा गेडागुडी नखाई फलफूल वा फलाहार ग्रहण गर्ने धार्मिक परम्परा रहेको छ ।
पापाङ्कुशा एकादशीमा सुन, तिल, जौ, अन्न, भूमि, छाता तथा जुत्ता दान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आफ्नो क्षमताअनुसार गरिब, दुःखी तथा असहायलाई सहयोग गर्नु पनि धर्मको महत्त्वपूर्ण पक्ष मानिन्छ ।
भागवत पुराणलगायत धार्मिक ग्रन्थमा भगवान् विष्णुका भक्त अर्थात् वैष्णवहरूका लागि एकादशी व्रतको विशेष महत्त्व उल्लेख गरिएको छ । यस दिन विष्णु सहस्रनामको पाठ, भगवान् राम र कृष्णको स्तुति तथा भजन–कीर्तन गर्ने चलन पनि छ ।
पापाङ्कुशा एकादशीलाई विष्णुभक्त वैष्णवका साथै शिवभक्तहरूले पनि महत्त्वपूर्ण दिनका रूपमा लिने धार्मिक मान्यता छ । यस दिन पूजा, व्रत, दान र परोपकारका काम गर्नाले पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।
पापाङ्कुशा एकादशी धार्मिक आस्था र उपासनासँगै दसैँको पारिवारिक भेटघाटको परम्परासँग पनि जोडिएको छ । विजयादशमीमा टीका थाप्न छुटेका आफन्तहरूका लागि कोजाग्रत पूर्णिमासम्म टीका र आशीर्वाद ग्रहण गर्ने अवसर रहन्छ ।
मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ। बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा हिजो टीकाको शुभसाइतपछि सडकमा सवारी साधनको सङ्ख्या बढेको छ।
सार्वजनिक यातायातमा यात्रुको चाप बढेसँगै आज पनि विहानैदेखि भीडभाड पनि देखिन थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार उपत्यका प्रवेश गर्ने प्रमुख नाकासहित काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य सडकमा सवारी साधनको चाप बढेको छ।
नेपाल प्रहरीसँगको समन्वयमा यात्रु सुरक्षाका लागि सवारी साधनको यान्त्रिक परीक्षण, तीव्र गति नियन्त्रण तथा चालकले मादक पदार्थ र लागुऔषध सेवन गरे–नगरेको परीक्षणलाई निरन्तरता दिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्ने भएकाले प्रमुख नाका र राजमार्गमा सोहीअनुसार व्यवस्थापन गरिने प्रहरीले जनाएको छ। सुरक्षा निकायको अनुमानअनुसार दसैँका अवसरमा काठमाडौं उपत्यकाबाट करिब १० लाख नागरिक बाहिरिएका थिए ।



