विराटनगरका २ उद्यमीको शव खोला र जंगलमा भेटियो

८ कात्तिक २०८३, आइतबार
Share this
761shares

२०८३ कात्तिक ८ गते । कोशी प्रदेशको राजधानी औद्योगिक नगरी विराटनगर यतिबेला शोकमा छ। व्यवसाय गरेर आफ्नो भविष्य बनाइरहेका दुई व्यवसायीको शव एकै दिन फरक–फरक स्थानमा फेला परेपछि सिंगो विराटनगर स्तब्ध बनेको छ।

Advertisement

एकातिर पिजफायर रेस्टुरेन्ट का सञ्चालक ५१ वर्षीय मनोज खत्री, जसले विदेशको अनुभव र मेहनत स्वदेशमै लगाएर व्यवसाय विस्तार गरेका थिए। अर्कोतिर, तीन दशकदेखि विराटनगरमा ब्याट्री व्यवसाय गर्दै आएका ६५ वर्षीय लालजीप्रसाद गुप्ता, जसले यही सहरलाई आफ्नो कर्मथलो बनाएका थिए। तर, दुवैको जीवनको अन्त्य यति दुःखद र रहस्यमय बन्यो कि परिवार, आफन्त र व्यवसायिक क्षेत्र शोकमा डुबेको छ। एक जनाको शव मोरङको केराबारीस्थित जङ्गलमा र अर्कोको शव विराटनगर र सुनसरी जोड्ने केसलिया खोलानजिक बोराभित्र फेला परेको छ। यी दुई घटनाले अनेक प्रश्न उब्जाएका छन्। आखिर के भएको थियोरु दुवै घटनाको वास्तविकता के हो ? अहिले प्रहरी अनुसन्धानमा जुटेको छ।

विराटनगरको ‘पिजफायर रेस्टुरेन्ट’ का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीमा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, केराबारी गाउँपालिकास्थित धारापानी जंगलको बीचमा रुखमा झुण्डिएको अवस्थामा शनिबार अपरान्ह मृत फेला परेका हुन् । विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ । कहिलेकाही केराबारीसम्म पुग्ने गरेको खुलेपनि मृत्युको यकिन कारण भने हालसम्म खुल्न बाँकी रहेको उनले बताए । उनको शव फेला पर्दा परिवारका सदस्य भने भारत थिए । आफन्तले शनिबार राति शवको पहिचान गरेको प्रहरीले जनाएको छ । लामो समय रोजगारीको सिलसिलामा विदेशमा बिताएका खत्रीले स्वदेश फर्किएर विराटनगरको सेन्ट्रल मलबाट पिजफायर सुरु गरेका थिए । त्यसपछि काठमाडौं र मोरङको विराटचोकमा पनि पिजफायरको शाखा सुरु गरेका थिए ।

Advertisement

पछिल्लो समय भने विराटनगरको पिपल चोक र गोल्छा चोकमा ‘पिजफायर रेस्टुरेन्ट’ सञ्चालन गर्दै आएका थिए । विराटनगरमा आधुनिक ‘पिज्जा कल्चर’ भित्र्याउन र लोकप्रिय बनाउन खत्रीको योगदान रहेको व्यवसायीहरू बताउँछन् ।
अर्काेतर्फ , विराटनगरमा व्यवसाय गर्दै आएका एक भारतीय नागरिकको शव बोरामा बेरिएको अवस्थामा फेला परेको छ। मोरङको विराटनगर महानगरपालिका–६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने केशलिया खोलाको पुलनजिक ६५ वर्षीय लालजीप्रसाद गुप्ताको शव फेला परेको हो। प्रहरीका अनुसार सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरतर्फ खोलाको किनारमा आइतबार बिहान स्थानीयले बोरामा बेरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। गुप्ता विगत ३० वर्षदेखि विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए।

उनी ब्याट्री मर्मतसम्बन्धी व्यवसायमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएको छ। बोरामा बेरिएको अवस्थामा शव फेला परेकाले हत्या गरेर फालिएको हुनसक्ने आशंका गरिएको उनले बताए। घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरसहित प्राविधिक टोली परिचालन गरी घटनास्थलबाट प्रमाण संकलन गरेको छ। घटनाबारे विभिन्न कोणबाट विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top