१४ कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार २ खेल हुने तालिका छ । तर निरन्तर वर्षाका कारण खेल हुने सम्भवना निकै कम देखिएको छ । वर्षाको पानीले त्रिवि क्रिकेट मैदान जलमग्न भएको छ । आज पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज खेल्ने तालिका छ ।
सो खेल दिउँसो साढे १२ बजे सुरु हुने तालिका छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्नेछन् । सो खेल अपराह्न ५ बजे सुरु हुनेछ । तर बिहीबार रातिदेखि जारी वर्षाले आजका लागि तोकिएका दुवै खेल हुने सम्भावना न्यून छ । आजका लागि तोकीएका खेल वर्षाका कारण हुन नसके दुवै टोलीले अंक बाँड्नेछन् ।

लुम्बिनी र चितवनले लिगको पहिलो खेलमा जित निकाल्दै विजय सुरुवात गरेका छन् । लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो । चितवनले पनि विराटनगरलाई ८ रनले हराउँदै जित हात पारेको थियो । वर्षा रोकिएर खेल भएको अवस्थामा दुवै टोली स्पष्ट जितको खोजीमा मैदान उत्रनेछन् ।
एनपीएलका एक खेलमा जित र एक खेलमा हार भोगेको सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो । लगातार दोस्रो हार भोगेको विराटनगरले भने पहिलो जित निकाल्न चाहन्छ ।

विराटनगर पहिलो खेलमा चितवनसँग चितवनसँग ८ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने कर्णाली याक्ससँग ४ विकेटको हार बेहोरेको थियो । तर आज हुने पहिलो खेल रद्द हुने सम्भावना बढेको छ । दोस्रो खेल पनि हुने वा नहुने अन्योलमा परेको छ ।
मौसमविद्ले दिउँसो २ बजेसम्म काठमाडौंमा वर्षा जारी रहने पूर्वानुमान गरेका छन् । मौसमविद् विनोद पोखरेलका अनुसार दिउँसो १ देखि २ बजेसम्म धेरै स्थानमा वर्षा हुने सम्भावना छ। त्यसपछि भने वर्षा क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ।
वर्षा रोकिए पनि मैदान खेलका लागि तयार पार्न पर्याप्त समय नहुने देखिन्छ । लामो समयको वर्षाका कारण मैदानको बाहिरी भागमा पानी जमेको र जमिन भिजेर हिलाम्मे भएको हुन सक्छ। यस्तो अवस्थामा पिचलाई कभरले जोगाइएको भए पनि आउटफिल्ड खेल्नयोग्य बनाउन थप समय लाग्नेछ ।
मैदानमा पानी जमेको अवस्थामा बलरलाई दौडिएर बलिङ गर्न र फिल्डरलाई दौडिन तथा दिशा परिवर्तन गर्न कठिन हुन्छ। यसले खेलाडीको सुरक्षामा समेत जोखिम निम्त्याउन सक्छ । त्यसैले वर्षा रोकिएलगत्तै खेल सुरु गर्न सम्भव नहुन सक्छ । पहिलो खेलका लागि समय पनि चुनौतीपूर्ण छ।
दोस्रो खेल साँझ ५ बजेका लागि तय भएकाले पहिलो खेलमा कम्तीमा पाँच ओभरको खेल गराउन दिउँसो करिब ३ः४० देखि ३ः५५ बजेसम्मको समयसीमा रहने देखिन्छ । मैदानलाई खेल्नयोग्य बनाउन दुईदेखि तीन घण्टा लाग्न सक्ने भएकाले वर्षा दिउँसो १ बजेसम्म नरोकिने हो भने पहिलो खेल हुने सम्भावना निकै कम हुनेछ ।
पहिलो खेलपछि मैदानको अवस्था र वर्षा रोकिने समयले दोस्रो खेलको सम्भावना निर्धारण गर्नेछ । एनपीएलमा कुनै पनि खेलका लागि रिजर्भ डे राखिएको छैन । त्यसैले वर्षाका कारण खेल हुन नसके दुवै टोलीले अंक बाँड्नुपर्ने अवस्था आउन सक्छ ।
यस्तै टस हुनुअघि नै खेल रद्द भए टिकट खरिद गरेका दर्शकलाई रकम फिर्ता गर्ने व्यवस्था पनि रहेको टिकटिङ साझेदारले जनाएको छ । यसअघि बिहीबारको खेल वर्षाबीच पनि सम्पन्न भएको थियो । यस्तोमा आज लुम्बिनी र चितवन दुवै टोली पहिलो खेलको लयलाई निरन्तरता दिने लक्ष्यमा रहे पनि शनिबारको मौसमले खेलको नतिजामा प्रभाव पार्न सक्छ ।
वर्षाका कारण खेल प्रभावित भए दुवै टोलीको लगातार दोस्रो जितको लक्ष्य पूरा नहुन सक्छ । दुवै टोलीले १–१ अंक बाँड्ने छन् । लुम्बिनी लायन्स अघिल्लो सिजनको पाँचौं खेलदेखि अपराजित छ । अर्थात् लुम्बिनीले लगातार ६ खेल जितेको छ ।
दोस्रो सिजनमा प्लेअफ पुग्न नसकेको चितवन राइनोजले भने यस सिजन खेलेको पहिलो खेलमा जित निकालेको थियो । एनपीएलका अघिल्ला दुई सिजनमा लुम्बिनी र चितवनबीच दुई खेल भएका छन्। दुवै खेलमा लुम्बिनी विजयी भएको थियो ।
पहिलो सिजनमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको थियो। दोस्रो सिजनमा पनि लुम्बिनीले चितवनलाई चार विकेटले हराएको थियो। यससँगै हेड टु हेडमा लुम्बिनी २–० ले अघि छ । तर यसपटक दुवै टोलीले पहिलो खेल जित्दै प्रतियोगितामा राम्रो सुरुवात गरेका छन्।
त्यसैले चितवन लुम्बिनीविरुद्धको पुरानो नतिजा बदल्ने लक्ष्यमा हुनेछ । यता विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स दुवै टोलीका लागि पनि आजको खेल महत्वपूर्ण हुनेछ । दुवै खेलमा देखिएका कमजोरी सुधार्दै विराटनगर पहिलो जित निकाल्ने योजनामा हुनेछ।
ब्याटिङमा लोकेश बमले राम्रो लय देखाएका छन्। तर टोलीले अन्य ब्याटरबाट पनि साथ पाउनुपर्नेछ। कर्णालीविरुद्धको खेलमा छुटेका क्याच र ओभर थ्रोका कारण गुमाएको अवसरलाई विराटनगरले यसपटक दोहो¥याउन चाहने छैन।
यता सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरे पनि दोस्रो खेलमा काठमान्डु गोर्खाज विरुद्ध जित निकाल्दै पुनरागमन गरेको छ । पहिलो खेलमा हारपछि जितको लय समातेको सुदूरपश्चिम त्यसलाई निरन्तरता दिन चाहन्छ।
टोलीमा उपलब्ध खेलाडीको संयोजन मिलाउनु उसका लागि महत्वपूर्ण हुनेछ । पछिल्लो लयको कुरा गर्नुपर्दा विराटनगरले अघिल्लो सिजनको क्वालिफायर १ र क्वालिफायर २ तथा यस सिजनको सुरुवाती दुई खेल गरी लगातार चार खेल हारेको छ ।
सुदूरपश्चिमले भने अघिल्लो सिजनको फाइनलमा लुम्बिनी लायन्ससँग पराजित भएपछि यस संस्करणको पहिलो खेलमै फेरि लुम्बिनीसँगै हार बेहोरेको थियो । दोस्रो खेलमा काठमान्डुलाई हराउँदै जितको लय समात्ने बाटोमा छ ।
एनपीएलका अघिल्ला दुई संस्करणमा विराटनगर र सुदूरपश्चिम तीन पटक आमनेसामने भएका छन्। पहिलो सिजनको लिग चरणमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले हराएको थियो । दोस्रो सिजनको लिग चरणमा भने विराटनगरले ६ विकेटको जित निकाल्दै हिसाब बराबर गरेको थियो ।
दोस्रो सिजनकै क्वालिफायर १ मा यी दुई टोली फेरि भिडेका थिए। त्यस खेलमा सुदूरपश्चिमले ७७ रनको फराकिलो जित निकाल्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । यसरी अघिल्ला तीन भेटमध्ये दुई खेल सुदूरपश्चिमले जितेको छ भने एक खेल विराटनगरले आफ्नो पक्षमा पारेको छ ।



