२१ कार्तिक , काठमाण्डौ ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि औपचारिक रूपमा सुरु भएको छ। यमपञ्चकको पहिलो दिन आज घरघरमा कागको पूजा गरी काग तिहार मनाइँदैछ। यमराजको दूतका रूपमा मानिने कागलाई मीठा खानेकुरा दिएर पूजा गर्ने परम्परासँगै तिहारको उल्लास सुरु भएको हो।
हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहक मानिन्छ। कागले यमराजसमक्ष राम्रो खबर पु¥याओस् र परिवारमा कुनै अनिष्ट नहोस् भन्ने कामनासहित आज कागको पूजा गर्ने चलन छ। यस दिन कागलाई मनपर्ने खानेकुरा, विशेषगरी दही–भात खुवाउने धार्मिक परम्परा छ।

कागलाई खुसी पार्दा यमराजसमक्ष शुभ सन्देश पुग्ने र परिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेको दिन काग तिहार मनाउनुपर्छ। सोहीअनुसार यस वर्ष आज कागको
पूजा गर्न लागिएको हो। भट्टराईका अनुसार बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीप दान गर्ने र सूर्योदयकालमा त्रयोदशी परेका दिन काग तिहार मनाउने शास्त्रीय व्यवस्था छ। यसअनुसार यमदीप दान भने शुक्रबार बेलुकी नै गरिएको थियो।
यस वर्ष तिथिको घटबढका कारण तिहारका केही पर्व एकैदिन परेका छन्। धनवन्तरी जयन्ती आज अर्थात् कात्तिक २१ गते शनिबार परेको छ। कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
त्यस्तै कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ। कात्तिक २४ गते मंगलबार गोरुपूजा, हलितिहार, गोवद्र्धन पूजा, बलीपूजा तथा आत्म (म्ह) पूजा मनाइने समितिले जनाएको छ। यमपञ्चकको सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा रहेको भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ।
समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटलाई निर्धारण गरेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने यो पर्व तिहारको मुख्य आकर्षण मानिन्छ।
काग तिहारका अवसरमा आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना गरिन्छ।
यी मन्दिरमा कागको पूजा गर्न भक्तजन पुग्ने परम्परा छ। तिहारलाई उज्यालो, फूल, माला र आपसी सद्भावको पर्वका रूपमा पनि लिइन्छ। काग, कुकुर, गाई र गोरुलगायत पशुपक्षीको पूजा गर्दै मनाइने यस पर्वले प्रकृति र जीवजन्तुप्रतिको सम्मानसमेत झल्काउँछ।
आजदेखि लगातार सार्वजनिक बिदा सुरु भएकाले बजार तथा घरआँगनमा तिहारको चहलपहल थप बढेको छ। फूलमाला, मिठाई र पूजाका सामग्री किनमेल गर्नेको भीडसँगै घरघरमा सरसफाइ र सजावटले चाडपर्वको रौनक थपिएको छ। कागको पूजा गर्दै सुरु भएको यमपञ्चक अब क्रमशः कुकुर तिहार, लक्ष्मीपूजा हुँदै भाइटीकासम्म पुग्नेछ।



