२३ कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो साढे १२ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ । दोस्रो खेल बेलुका ५ बजे चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । एनपीएलको पछिल्लो अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
५ खेल खेलेको लुम्बिनीले ३ जित, १ हार र १ नतिजाविहीन खेलसहित ७ अंक जोडेको छ । काठमाण्डौ गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, चितवन राइनोज ५ अंकसहित चौथो स्थानमा रहँदा जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्स समान ४ अंकसहित पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् ।


पोखरा एभेन्जर्स भने ४ खेलमा कुनै जित निकाल्न नसक्दा अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ । आज कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने दुवै खेल प्लेअफको दौडमा रहेका टोलीका लागि महत्वपूर्ण छन् । विशेषगरी कर्णाली र पोखरालाई प्रतियोगितामा आफ्नो सम्भावना जीवित राख्न जित आवस्यक छ भने काठमाण्डु र चितवन शीर्ष चारमा आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा हुनेछन् ।
तेस्रो संस्करणमा अहिलेसम्म १८ खेल सम्पन्न हुँदा लुम्बिनी लायन्स, काठमाण्डु गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज शीर्ष चारमा छन् । प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन् । शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।
सोमबारको पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दा दुवै टोली फरक परिस्थितिमा मैदानमा उत्रनेछन् । कर्णालीका लागि यो खेल प्लेअफको सम्भावना बलियो बनाउने अवसर हो भने पोखराका लागि प्रतियोगितामा पहिलो जित निकाल्ने चुनौती छ ।
कर्णालीले यस संस्करणमा चार खेल खेल्दा दुई जित र दुई हारसहित चार अंक जोडेको छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो । दोस्रो जित विराटनगर किङ्ससंग चार विकेटको थियो । तर काटमाण्डु गोर्खाजसंग ४ विकेट र सुदूरपश्चिम रोयल्ससंग ३९ रनले पराजित भएपछि टोलीको लयमा केही गिरावट आएको छ ।
कर्णालीको ब्याटिङमा विदेशी खेलाडी र नेपाली खेलाडीबीचको तालमेल महत्वपुर्ण हुनेछ । टोलीले ठूला योगफल बनाउन सक्ने क्षमता देखाएपनि पछिल्लो खेलमा सुदूरपश्चिमसंग १७६ र रनको लक्ष्य पछ्याउँदा सात विकेट गुमाएर १३७ रन मात्रै बनाउन सकेको थियो । त्यसैले पोखराविरुद्ध ब्याटिङ सुधार गर्नु कर्णालीको मुख्य आवस्यकता हुनेछ ।
अर्कातर्फ पोखरा एभेन्जर्सको अवस्था निकै कठिन छ । चार खेल खेलिसक्दा पोखराले एउटै खेल जित्न सकेको छैन । सुदूरपश्चिमसंग ६ विकेट, जनकपुरसंग नौ रन, लुम्बिनीसंग आठ विकेट र चितवनसंग ३० रनले पराजित भएको पोखरा अंकविहिन छ । पोखराले पछिल्लो खेलमा चितवनसंग १५१ रनको लक्ष्य पाएको थियो ।
तर १९ ओभरमा १२१ रनमै समेटिएपछि ३० रनको हार बेहोर्नुपरेको थियो । यसले पोखरको ब्याटिङमा अझै सुधार आवस्यक रहेको देखाउँछ । यता कर्णालीका लागि पोखरासंगको खेल जित्न सके अंकतालिका सुधार्ने राम्रो अवसर हुनेछ । कर्णालीसंग यो खेलपछि लुम्बिनी र चितवनसंग खेल्न बाँकी रहनेछ ।
त्यसैले बाँकी तीनवटै खेल जित्नसके टोलीले अधिकतम १० अंक पुर्याउन सक्छ । पोखराको अवस्था भने थप कठिन छ । चार खेलमा चार हार बेहोरेको पोखरासंग अब तीन खेलमात्रै बाँकी छन । बाँकी तीनवर्ट खेल जितेपनि अधिकतम ६ अंकमात्रै पुग्नेछ । त्यसैले पोखरालाई प्लेअफको दौडमा रहनका लागि अब सबै खेल जित्नुपर्नेछ ।
साथै अन्य टोलीको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ । यता आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिष्पर्धा हुनेछ । यो खेल बेलुका ५ बजे सुरु हुनेछ । दुवै टोली पछिल्लो समय राम्रो लयमा देखिएकाले यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
चितवनले यस संस्करणमा चार खेल खेल्दा दुई जित, एक हार र एक खेलमा नतिजाविहीन हुँदै पाँच अंक जोडेको छ । चितवनले पहिलो खेलमा विराटनगरलाई ८ रनले पराजित गरेको थियो । दोस्रो खेलमा लुम्बिनीसंग वर्षाका कारण नतिजा नआएपछि एक अंक बाँडेको थियो ।
त्यसपछि सुदूरपश्चिमसंग पाँच विकेटले पराजित भएको चितवनले पछिल्लो खेलमा पोखरालाई ३० रनले हराउँदै पुनरागमन गरेको थियो । चितवनका लागि ब्याटिङ र बलिङ दुवैमा सन्तुलन कायम राख्नु महत्वपुर्ण हुनेछ । यता काठमाण्डुले पछिल तीन खेल लगातार जितेको छ ।

सुरुवाती खेलमा जनकपुरसंग ८ विकेटले पराजित भएको काठमाण्डुले त्यसपछि कर्णालीलाई ४ विकेट, विराटनगरलाई ९ विकेट र लम्बिनीलाई ३६ रनले हराएको थियो । काठमाण्डुले पछिल्लो खेलमा लुम्बिनीलाई १६१ रनको लक्ष्य दिएको थियो । जवाफमा लुम्बिनीलाई १२४ रनमै समेट्दै ३६ रनको प्रभावशाली जित निकालेको थियो ।
यस जितसंगै काठमाण्डुले लिगमा आफ्नो दाबेदारी थप बलियो बनाएको छ । काठमाण्डुको ब्याटिङमा डेभिड वार्नर, स्मिथ पटेललगायतका खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ । बलिङमा जहाँदाद खानलगायतका खेलाडीले पछिल्लो समय प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।
चितवनसंग पनि टोलीले यही लयलाई निरन् तरता दिन चाहनेछ । काठमाण्डु र चितवनबीचको खेलले शीर्ष चारको समीकरणमा प्रत्यक्ष प्रभाव पार्नेछ । काठमाण्डुले जितेमा ८ अंकसहित आफ्नो स्थान थप सुरक्षित बनाउन सक्छ । चितवन विजयी भए ७ अंक पुग्नेछ र शीर्ष स्थानका टोलीलाई चुनौती दिनेछ ।
काठमाण्डुका तीन तथा चितवनका तीन खेल अझै बाँकी छन् । त्यसैले दुवै टोलीसंग प्लेअफमा पुग्ने पर्याप्त अवसर छ । तर सोमबारको खेलको नतिजाले आगामी खेलमा उनीहरुको दबाब र रणनीति दुवै निर्धारण गर्नेछ । कर्णालीका लागि पनि पोखरासंगको जितले प्लेअफ यात्रालाई सहज बनाउने छ ।
कर्णालीले त्यसपछि लुम्बिनी र चितवनसंग खेल्नुपर्नेछ । पोखराले भने अब कुनै पनि खेलमा हार बेहोर्ने अवस्था छैन भन्दा पनि हुन्छ । बाँकी तीन खेल जित्नु र अन्य टोलीको नतिजा अनुकुल हुनु उसको प्लेअफ यात्राका लागि अनिवार्यजस्तै बनेको छ ।
उता हिजो लक्ष्मी पूजाका दिन कुनै खेल भएन । त्यस्तै पर्सि बुधबार भाइटीकाका दिन पनि कुनै खेल हुने छैन । भोली मंगलबार भने सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने छन् । यस्तै भाइटीकाको अर्को दिन बिहीबार पनि दुई खेल छन् ।
विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबिच बिहीबार प्रतिस्पर्धा हुने तालिका छ । अर्थात लगातार चार खेल हुनेछन् र यसैले प्ले अफ–समीकरणको अन्तिम स्वरूप तयार पार्नेछ । गणितीय रूपमा सबै टिमको अर्को चरण पुग्ने सम्भावना कायम छ ।
शीर्ष र सातौं स्थानमा रहेको टिमबीचको अन्तर तीनै अंक मात्र रहेको हुनाले सबै प्रकारको सम्भावना खुला छ । हुन सक्छ, ८ अंक प्ले–अफ प्रवेशका लागि कम्तीको प्रदर्शन मानिए तापनि त्योभन्दा कम अंकले पनि कुनै भाग्यमानी टिमलाई इलिमिनेटरसम्म पु¥याउन सक्छ । ८ अंक नै जोड्ने टिम पनि प्ले अफमा नपुग्न सक्छ ।



