२४ कार्तिक , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्यरूपमा समाप्त भएको दाबी गरेका छन् । इरानमाथि तत्काल आक्रमण पुनः सुरु गर्ने आवश्यकता नरहेको उनले बताएका छन् । तर इरानले आणविक कार्यक्रमबारे अमेरिकी चासो सम्बोधन नगरे सैन्य कारबाहीका लागि तयार रहेको उनले स्पष्ट पारेका छन् । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व कमजोर बनाइएको दाबी गरे । युद्धको दीर्घकालीन समाधान खोजिरहेको उल्लेख गर्दै उनले कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत क्षेत्रीय सहयोगी राष्ट्र पनि युद्धको वर्तमान अवस्था कायम राख्न इच्छुक रहेको बताए ।
आठ महिनादेखि जारी युद्ध, इन्धनको मूल्यवृद्धि र विश्व अर्थतन्त्रमा परेको प्रभावप्रति अमेरिकी मतदाताको असन्तुष्टि बढिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । मध्यावधि निर्वाचनमा उनको रिपब्लिकन पार्टीले कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटिक पार्टीसँग पराजय व्यहोरेको थियो । ट्रम्पले इरानसँग वार्ता भइरहेको र सकारात्मक सङ्केत प्राप्त भएको दाबी गर्दै युद्ध अन्त्य हुने सम्भावना राम्रो रहेको बताए । तर आवश्यक परे अमेरिकी सेना जुनसुकै बेला कारबाही गर्न तयार रहेको उनको भनाइ थियो । इरानी तेलको आपूर्ति रोक्न लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने उनले स्पष्ट पारे । यसैबीच, कतारका अधिकारीहरूले गत साता इरानको आणविक कार्यक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको यस विषयमा जानकार दुई मध्यपूर्वी सरकारी अधिकारीले बताएका छन् । इरानले भने वार्ताअघि बन्दरगाहमाथिको नाकाबन्दी र आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, रोक्का गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, युद्धको क्षतिपूर्ति दिनुपर्ने तथा क्षेत्रीय शत्रुता अन्त्य गर्नुपर्ने सर्त राख्दै आएको छ ।यसैबीच अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले भने युद्धसम्बन्धी आगामी निर्णय राष्ट्रपतिमा निर्भर रहेको बताएका छन् । युद्ध सुरु गर्न कङ्ग्रेसको अनुमति नलिएको भन्दै उनीमाथि आलोचना भइरहेको छ । केन्टकीका रिपब्लिकन सांसद थोमस मेसीले सोमबार उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन मतदानको माग गरेका थिए । ट्रम्पले इरानसँग बलियो सम्झौताको प्रगति भए पुनः आक्रमणको सम्भावना कम रहेको बताए । तर सैन्य कारबाही पुनः सुरु भए इरानका ३८ वटा पुलसहितका पूर्वाधारलाई निशाना बनाउने चेतावनी उनले दिएका थिए । युद्ध अन्त्यको सङ्केत गरे पनि अमेरिकाले इरानमा सीमित आक्रमण जारी राखेको छ । गत साता इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी कम्तीमा दुईपटक आक्रमण गरिएको थियो ।
अमेरिकी नौसैनिक नाकाबन्दी तोड्न खोजेको आरोपमा शनिबार एउटा व्यापारिक जहाजमाथि गोली प्रहार गरी निष्क्रिय पारिएको अमेरिकी सेनाले जनाएको छ ।रिपब्लिकन सांसद थोमस म्यासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउँदै यसै साता प्रतिनिधिसभामा मतदान गराउने तयारी गरेका छन् । उनले हेगसेथमाथि अमेरिकी संविधान उल्लंघन गरेको आरोप लगाएका छन् । “कंग्रेसको स्वीकृतिबिना ९० दिनभन्दा बढी समयदेखि इरानमा सैन्य गतिविधि सञ्चालन गरेर मन्त्री हेगसेथले कानुन उल्लंघन गरिरहेका छन् । उनलाई जवाफदेही बनाउनुपर्छ,” म्यासीले भने । आगामी जनवरीसम्म कंग्रेसमा रिपब्लिकनहरूको बहुमत कायम रहने भएकाले महाभियोग प्रस्ताव पारित हुने सम्भावना न्यून छ । म्यासीका अनुसार डेमोक्रेटहरूले आफ्नै महाभियोग प्रक्रिया सुरु गर्नुअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हेगसेथलाई पदबाट हटाउन दबाब दिनु उनको मुख्य उद्देश्य हो ।

म्यासीले सोमबार प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्तावमार्फत हेगसेथविरुद्ध महाभियोगका औपचारिक आरोपहरू दर्ता गराएका हुन् । “म यो काम गरिरहेको छु, किनभने यो सही कदम हो,” प्रस्ताव दर्ता गराएपछि उनले पत्रकारहरूसँग भने । यस विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा हेगसेथले आफू चिन्तित नरहेको प्रतिक्रिया दिए । उनले मंगलबार बिहान यसै विषयमा पत्रकार सम्मेलन गर्ने पनि बताएका छन् । हेगसेथले यसअघि गत मे महिनामा पत्रकार सम्मेलन गरेका थिए । केन्टकीका सांसद म्यासी इरान युद्ध सुरु भएदेखि नै ट्रम्प प्रशासन र युद्धका आलोचक रहँदै आएका छन् । यस्तै, दिवंगत यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित संघीय सरकारी फाइल सार्वजनिक गर्न प्रशासनमाथि दबाब दिने नेतामध्ये उनी पनि एक हुन् । म्यासीले पहिलोपटक गत सेप्टेम्बरमा हेगसेथविरुद्ध महाभियोग प्रस्ताव ल्याएका थिए । गत साता भएको मध्यावधि निर्वाचनमा रिपब्लिकनहरूले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत गुमाएपछि उनले प्रस्ताव पुनः अघि बढाएका हुन् ।
उनले हेगसेथलाई पदबाट हटाउने आफ्नो प्रयास आगामी वर्ष डेमोक्रेटहरूले कंग्रेसका दुवै सदनको नियन्त्रण लिएपछि हुन सक्ने महाभियोग प्रक्रियाभन्दा कम विवादास्पद हुने दाबी गरेका छन् । यसैबीच यता रुस, युक्रेनसंग पनि अमेरिकाको वार्ता जारी छ । तीनै देशबीच मंगलबार र बुधबार अबुधाबीमा नयाँ चरणको त्रिपक्षीय वार्ता हुँदै छ । यसवर्ष जनवरी र फेब्रुअरीमा अमेरिकी मध्यस्थतामा भएका वार्ताबाट ठोस निष्कर्ष ननिस्किएपछि पुनः वार्ता हुन लागेको हो । अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण, मानवीय सहयोग र शान्तिका लागि आगामी कदमबारे छलफल हुनेछ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, बन्दी आदानप्रदान, तीनै देशका शीर्ष नेताबीच बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन् ।
युक्रेनी प्रतिनिधिमण्डलका सदस्य तथा सांसद दाभिड अराखामियाले तत्काल ठूलो प्रगतिको अपेक्षा नरहेको बताएका छन् । लामो अन्तरालपछि त्रिपक्षीय वार्ता पुनः सुरु हुनु नै सकारात्मक उपलब्धि भएको उनको भनाइ छ । अमेरिकाबाट विशेष दूत विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नर सहभागी हुनेछन् । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार भ्लादिमिर मेडिन्स्कीको नेतृत्वमा उच्चस्तरीय सैन्य तथा गुप्तचर अधिकारीहरूको टोली पठाएको छ । युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व वैदेशिक गुप्तचर सेवाका प्रमुख रुस्तेम उमेरोभले गर्नेछन् । टोलीमा सांसद अराखामियासहित कूटनीतिक र सैन्य अधिकारीहरू पनि रहनेछन् । यसैबीच, अबुधाबीमा हुने रुस–युक्रेन वार्ताअघि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सोमबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँग साझा रणनीतिबारे छलफल गरेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत त्रिपक्षीय वार्ताबाट ठोस नतिजा आउने आशा व्यक्त गरेका छन् । भोन देर लेयनले पनि ईयू आफ्ना सहयोगीसँगै वार्तामा उपस्थित रहने पुष्टि गरेकी छन् ।
युरोपेली प्रतिनिधिहरूसँग छुट्टै ढाँचामा बैठक गर्ने तयारी रहेको बताइएको छ । यसमा जर्मन चान्सलर फ्रेडरिक मर्जका विदेश तथा सुरक्षा नीति सल्लाहकार गुन्टर साउटर, फ्रान्सका कूटनीतिक सल्लाहकार इमानुएल बोन्ने, बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीका कूटनीतिक सल्लाहकार फाब्रिजियो साग्जियो सहभागी हुनेछन् । त्यस्तै, युरोपेली आयोगकी अध्यक्षका प्रमुख स्वकीय सचिव ब्योर्न साइबर्ट र नेटो महासचिव मार्क रुट्टेका प्रमुख स्वकीय सचिव जियोफ्री भान पनि उपस्थित हुनेछन् । तर, सम्भावित शान्ति सम्झौतासम्बन्धी वार्तामा युरोपेली प्रतिनिधिहरू औपचारिक रूपमा सहभागी हुने वा नहुने अझै स्पष्ट छैन । तर, वार्तामा उनीहरूको भूमिका स्पष्ट भइसकेको छैन ।
रुसले भने वार्ता युक्रेन, रुस र अमेरिकाबीच मात्र हुने जनाएको छ । विदेश नीति अनुसन्धान संस्था ‘युक्रेनी प्रिजम’ सुरक्षा अध्ययन निर्देशक हान्ना शेलेस्टले उनीहरूले बढीमा पर्यवेक्षकको भूमिका मात्र पाउने आकलन गरेकी छन् । रुसी प्रतिनिधिमण्डलले युरोपेली प्रतिनिधिहरूलाई वार्तामा बोल्न नदिने सम्भावना रहेको उनको भनाइ छ । यसअघि बर्लिन भ्रमणका क्रममा जर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई ७० अर्ब युरो सहयोग दिने ईयूको प्रतिबद्धता दोहो¥याउँदै युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गम्भीर हुन आग्रह गरेका थिए ।



