२९ कार्तिक , काठमाण्डौ । आधुनिक प्रविधिको माध्यमबाट रोबट सेना र एआइमार्फ हातहतियार निर्माणमा जुटेको चीनले स्वदेशमै विकास गरेको १० टन वर्गको विद्युतीय व्यावसायिक विमान तयार पारेको छ। जुन जहाजले पहिलोपटक मानवसहितको सफल परीक्षण उडान गरेको छ । शनिवार चीनको पूर्वी शान्दोङ प्रान्तस्थित बिन्झाउमा ‘सीई–२५ए’ नामक उक्त विमानले पहिलो मानवसहितको बौद्धिक परीक्षण उडान पूरा गरेको हो । चीनको व्यावसायिक विमान निर्माण कम्पनी (कोम्याक) ले विकास गरेको उक्त विमानमा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर सवार थिए । परीक्षण उडानका क्रममा विमानले सामान्य रूपमा काम गरेको र सबै प्राविधिक सूचक अपेक्षाअनुसार रहेको जनाइएको छ ।
सीई–२५ए विमानले एकपटकमा १९ जनासम्म यात्रु बोक्न सक्ने क्षमता राख्छ। विद्युतीय प्रविधिमा आधारित यस विमानको सफल मानवसहितको परीक्षणलाई चीनको व्यावसायिक हवाई यातायात तथा विद्युतीय विमान विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यस प्रविधिको विकासले भविष्यमा छोटो दूरीका हवाई यात्रालाई थप सहज बनाउन तथा परम्परागत इन्धनमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।परम्परागत विमानमा पेट्रोलियम इन्धन प्रयोग हुँदै आएकोमा यो विमान भने पूर्ण रूपमा विद्युतीय प्रणालीबाट सञ्चालन हुने गरी निर्माण गरिएको हो। चीनको सरकारी विमान निर्माता कम्पनी चाइना कमर्सियल एयरक्राफ्ट कर्पोरेसन (कोम्याक) ले विकास गरेको यो विमानले नोभेम्बर १४, २०२६ मा पहिलो पटक चालकसहित सफल परीक्षण उडान गरेको छ। यो चीनले विकास गरेको पहिलो विद्युतीय व्यावसायिक विमान हो। सीई–२५ए विशेषगरी छोटो दूरीका सहरबीचको व्यावसायिक उडानका लागि डिजाइन गरिएको हो। यसमा एकैपटक १९ जना यात्रु बोक्न सकिन्छ। यसको अधिकतम उडान भार १० टन रहेको छ भने प्रतिघण्टा ३०० किलोमिटरको गतिमा उड्न सक्छ। यसले अधिकतम २ हजार ४०० मिटर उचाइमा उडान गर्न र एकपटकको चार्जमा करिब ४०० किलोमिटर दूरी पार गर्न सक्ने क्षमता राख्छ।यस विमानको विशेषता भनेको पखेटामा जडान गरिएका विद्युतीय डक्टेड फ्यान अर्थात् हावालाई नलीभित्रबाट प्रवाह गराउने विशेष पङ्खाहरू हुन्। यी पङ्खाहरू विद्युतीय मोटरबाट सञ्चालन हुन्छन् र विमानलाई अगाडि बढाउन आवश्यक थ्रस्ट उत्पादन गर्छन्।कोम्याकले चीनको ब्याट्री निर्माता कम्पनी सीएटीएल, सांघाई जिया ओतोङ विश्व विद्यालयलगायतका संस्थासँग सहकार्य गरेर यो विमान विकास गरेको हो। यसले यसअघि सन् २०२६ फेब्रुअरी २ मा चालकविहीन पहिलो स्वचालित परीक्षण उडान गरेको थियो। नोभेम्बर १४ मा भने दुई पाइलट र एक परीक्षण इन्जिनियरसहित पहिलो पटक चालकयुक्त उडान सम्पन्न गरेको हो। यसले १९ पटक चालकविहीन उडान समेत परीक्षण गरिसकेको छ। चीनको नागरिक उड्डयन प्रशासनले यसको मोडल प्रमाणीकरणका लागि आवेदनसमेत स्वीकार गरिसकेको छ। तर, नियमित व्यावसायिक उडानका लागि अझै प्रमाणीकरण आवश्यक छ।
परम्परागत विमानमा जेट इन्धन वा एभिएसन ग्यासोलिन प्रयोग गरिन्छ। इन्धन जलाएर इन्जिन सञ्चालन गरिन्छ र त्यसबाट उत्पन्न शक्तिले विमानलाई उडाउँछ। तर विद्युतीय विमानमा ब्याट्रीमा सञ्चित विद्युत् ऊर्जाबाट मोटर चलाइन्छ। यसले पङ्खा घुमाएर विमानलाई उडाउँछ।परम्परागत विमानले उडानका क्रममा कार्बन डाइअक्साइडसहितका उत्सर्जन गर्छ। तर पूर्ण विद्युतीय विमानले उडानका क्रममा इन्धन जलाउँदैन र प्रत्यक्ष रूपमा कार्बन डाइअक्साइड उत्सर्जन गर्दैन। विद्युतीय मोटरमा चल्ने भएकाले यसको सञ्चालनमा आवाज र कम्पन पनि कम हुन सक्छ। सीई–२५एले व्यावसायिक उडान सुरु गरेपछि छोटो दूरीका हवाई यात्रालाई सस्तो, सहज र वातावरणमैत्री बनाउन सहयोग पुग्न सक्छ। विशेषगरी ४०० किलोमिटरसम्मको दूरीमा रहेका सहरलाई हवाई सेवाबाट जोड्न सकिनेछ। यसले सडक यात्रामा लाग्ने समय घटाउन सक्छ। त्यस्तै, परम्परागत इन्जिनको तुलनामा विद्युतीय मोटरमा चल्ने प्रणालीको मर्मतसम्भार खर्च कम हुन सक्ने सम्भावना छ। इन्धनमा निर्भरता घट्ने, स्थानीय वायु प्रदूषण कम हुने र स्वच्छ ऊर्जाको प्रयोग बढ्ने फाइदा पनि हुन सक्छ। तर यसको सबैभन्दा ठूलो चुनौती ब्याट्रीको क्षमता, तौल, चार्ज गर्न लाग्ने समय र सीमित उडान दूरी हो। त्यसैले अहिले नै लामो दूरीका अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने ठूला विमानलाई विस्थापित गर्ने अवस्था भने नदेखिएको विज्ञहरु बताउँछन् ।

अर्काेतर्फ चीनमा विकसित मानवरूपी रोबोटले जटिल तथा कठिन भूभागमा स्वचालित रूपमा हिँड्न सक्ने क्षमता प्रदर्शन गरेको छ । चीनमा निर्मित ‘एजीबोट ए३ अल्ट्रा’ नामक उक्त रोबोटले सिँढी चढ्ने, साँघुरो ठाउँबाट शरीरलाई छड्के पारेर निस्कने तथा बाटोमा आउने विभिन्न अवरोध पार गर्ने क्षमता देखाएको हो । रोबोटले तीन आयामिक (थ्रीडी) वातावरणमा रहेका जटिल अवरोध पहिचान गर्दै आफ्नो गति र चाललाई वास्तविक समयमै समायोजन गर्न सक्छ । यसले कुनै मानवीय निर्देशनबिना नै वरपरको वातावरणको मूल्याङ्कन गरी सुरक्षित रूपमा अगाडि बढ्न सक्ने क्षमता राख्छ । प्रदर्शनका क्रममा रोबोटले अग्ला सिँढी चढ्नुका साथै साँघुरा खाली ठाउँबाट शरीरलाई आवश्यकताअनुसार मोडेर पार गरेको थियो । त्यस्तै, विभिन्न अवरोधलाई पहिचान गर्दै आफ्नो सन्तुलन कायम राखेर अघि बढेको थियो । यस प्रविधिले मानवरूपी रोबोटको गतिशीलता, वातावरण बुझ्ने क्षमता र स्वचालित निर्णय प्रक्रियामा भइरहेको विकासलाई देखाएको छ । भविष्यमा यस्ता रोबोटलाई कठिन भूभागमा काम गर्न, औद्योगिक क्षेत्रमा सहयोग गर्न तथा जोखिमपूर्ण स्थानमा मानवीय कार्यको विकल्पका रूपमा प्रयोग गर्न सकिने सम्भावना देखिएको छ ।
प्रविधिमा चीनले फड्को मारिरहेका यी खबरका बीच अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारिएको अवस्थामै प्रदर्शनमा राखिएको अन्तरिक्षयानको चर्चा गरौं । अमेरिकाको क्यालिफोर्नियामा अन्तरिक्षयानलाई अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारिएको अवस्थामै प्रदर्शनमा राखिएको छ । विश्वकै पहिलो र एकमात्र वास्तविक अन्तरिक्षयानलाई प्रक्षेपणको पूर्ण संरचनासहित प्रदर्शनमा राखिएको यो दृश्य अन्तरिक्षप्रेमी तथा सर्वसाधारणका लागि आकर्षणको केन्द्र बनेको छ । क्यालिफोर्निया साइन्स सेन्टरमा निर्माण गरिएको नयाँ ‘स्यामुएल ओस्चिन एयर एन्ड स्पेस सेन्टर’ शुक्रवारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो। उक्त केन्द्रमा करिव २० तले भवनको उचाइ बराबर देखिने अन्तरिक्षयान ‘स्पेस सटल एन्डेभर’ लाई प्रक्षेपणका लागि तयार पारिएको अवस्थामै राखिएको छ । अन्तरिक्षयानसँगै यसको बाहिरी इन्धन ट्याङ्की र दुईवटा ठोस इन्धनबाट चल्ने रकेट बुस्टरसमेत जोडेर प्रदर्शन गरिएको छ । यसरी पूर्ण संरचनामा राखिएको अन्तरिक्षयानले प्रक्षेपण हुनै लागेको वास्तविक दृश्यको झल्को दिने आयोजकले बताएका छन् । यसले दर्शकलाई अन्तरिक्ष अन्वेषणको ऐतिहासिक उपलब्धिलाई नजिकबाट अवलोकन गर्ने दुर्लभ अवसर प्रदान गरेको छ ।
स्पेस सटल एन्डेभरले सन् १९९२ मा पहिलो अन्तरिक्ष उडान गरेको थियो। सन् २०११ मा अवकाश लिनुअघि यसले २५ वटा अन्तरिक्ष अभियान पूरा गरेको थियो । अमेरिकी अन्तरिक्ष अन्वेषणको इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको यस अन्तरिक्षयानले तीन जना अन्तरिक्षयात्री एकैपटक अन्तरिक्षमा बाहिर निस्केर काम गरेको पहिलो अभियानदेखि हबल स्पेस टेलिस्कोप मर्मत अभियानसम्म महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसैगरी अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) निर्माणमा समेत एन्डेभरको महत्वपूर्ण योगदान रहेको थियो । अन्तरिक्ष अन्वेषणका विभिन्न ऐतिहासिक अभियानमा सहभागी भएको यो यान सन् २०११ मा आफ्नो अन्तिम उडानपछि अवकाशमा गएको थियो । नासाले एन्डेभरको अन्तिम अभियानअघि नै यसलाई स्थायी रूपमा राख्न क्यालिफोर्निया साइन्स सेन्टर छनोट गरेको थियो । क्यालिफोर्नियाको समृद्ध अन्तरिक्ष तथा एयरोस्पेस इतिहासलाई उजागर गर्ने उद्देश्यले यसलाई त्यहाँ राख्ने निर्णय गरिएको थियो ।
सन् २००१ मा एन्डेभरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र पुगेका पूर्वनासा अन्तरिक्षयात्री ड्यानियल बर्सले यसको पूर्ण संरचना प्रत्यक्ष देख्न पाउनु अद्भुत अनुभव भएको बताएका छन् । उनले यसलाई विश्वकै आश्चर्यमध्ये एकको संज्ञा दिँदै यति नजिकबाट अन्तरिक्षयान अवलोकन गर्न पाउनु अविश्वसनीय रहेको बताए । अन्तरिक्षयानको उचाइतर्फ हेर्दा आफूलाई अझै पनि चक्कर लाग्ने अनुभव हुने उनको भनाइ छ । बर्सले वास्तविक अन्तरिक्षयानलाई आफ्नै आँखाले देख्नु सबैभन्दा उत्कृष्ट अनुभव भएको उल्लेख गर्दै यसलाई अन्तरिक्षमा आफैँ चढेर यात्रा गर्नुबाहेक अरू कुनै अनुभवले उछिन्न नसक्ने बताए । एन्डेभरको पूर्ण प्रक्षेपण संरचनामा गरिएको यो प्रदर्शनले अमेरिकी अन्तरिक्ष इतिहासका महत्वपूर्ण उपलब्धि र अन्तरिक्ष प्रविधिको विकासलाई नयाँ पुस्तामाझ परिचित गराउने अपेक्षा गरिएको छ ।



