११ मंसिर , काठमाण्डौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । लामो समयदेखि भारतको राजधानी नयाँदिल्लीमा निर्वासनको जीवन बिताइरहेकी हसिनाको यो घोषणालाई बंगलादेशको अन्तरिम सरकारले सामान्य राजनीतिक अभिव्यक्तिका रूपमा मात्र नलिई गम्भीर चुनौतीका रूपमा हेरेको छ । उनको सम्भावित स्वदेश फिर्तीले आन्तरिक राजनीतिसँगै भारत र बंगलादेशबीचको कूटनीतिक सम्बन्धलाई समेत थप जटिल बनाउने संकेत देखिएको छ।
मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाइएकी हसिनालाई बंगलादेश फर्किएलगत्तै पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता छ। यस्तो अवस्थामा हसिनाले सार्वजनिक रूपमै स्वदेश फर्किने मिति घोषणा गर्नुले ढाकाको राजनीतिक वातावरण थप तनावपूर्ण बन्न सक्ने आकलन गरिएको छ। यसअघि पनि उनले पटक–पटक बंगलादेश फर्किने प्रतिबद्धता व्यक्त गर्दै आएकी थिइन्। तर यसपटक भने डिसेम्बर १६ को निश्चित मिति तोक्दै यात्राको तयारीसमेत भइरहेको बताएकी छन्।७९ वर्षीया हसिना सन् २०२४ अगस्टमा विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी थिइन्। उनको १५ वर्ष लामो शासन विद्यार्थी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमका कारण अन्त्य भएको थियो। संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार उक्त आन्दोलनका क्रममा सुरक्षा निकायको कारबाहीबाट करिब १ हजार ४०० जनासम्मको ज्यान गएको थियो। त्यसपछि हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दा अघि बढाइएको थियो। उनको अनुपस्थितिमै भएको सुनुवाइपछि अदालतले मृत्युदण्डको फैसला सुनाएको हो। यद्यपि, हसिनाको पक्षले उक्त न्यायिक प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको छ। अर्कोतर्फ, बंगलादेश सरकारले भने उनलाई कानुनी प्रक्रियाबाट उन्मुक्ति दिन नसकिने स्पष्ट पारेको छ। उनको राजनीतिक दल अवामी लिगलाई समेत बंगलादेशमा प्रतिबन्ध लगाइएको छ। हसिनाका निकट सहयोगी अबु ओबैदा अरिनका अनुसार पूर्वप्रधानमन्त्रीले नयाँदिल्लीबाट बंगलादेश फर्किन हवाई यात्राको व्यवस्था गरिदिन आग्रह गरेकी छन्। त्यसका लागि आवश्यक सहयोग उपलब्ध नभए व्यावसायिक हवाई उडान प्रयोग गर्ने वा स्थलमार्गबाट सीमा पार गर्ने विकल्पसमेत खुला राखिएको उनको भनाइ छ।अरिनले बीबीसीसँग कुरा गर्दै हसिना आवश्यक परे पैदल हिँडेरै बंगलादेश प्रवेश गर्न तयार रहेको बताएका छन्। उनका अनुसार हसिनाका समर्थकहरूले भारत र बंगलादेशबीचको सीमामा रहेका नौवटा सम्भावित प्रवेश नाका पहिचान गरेका छन्। यो योजना सामान्य अभिव्यक्ति नभई निकै सोचविचार गरेर तयार गरिएको उनको दाबी छ।
भारत र बंगलादेशबीच पश्चिम बंगाल, असम, मेघालय, त्रिपुरा र मिजोरम हुँदै करिब ४ हजार ९६ किलोमिटर लामो सीमा जोडिएको छ। यति लामो सीमाबाट फर्किने सम्भावनाले दुवै देशका सुरक्षा तथा प्रशासनिक निकायलाई थप सतर्क बनाएको छ। तर बंगलादेश सरकारले हसिनाको स्वेच्छिक फिर्तीको घोषणालाई स्वीकार गर्ने संकेत दिएको छैन। विदेश मामिला राज्यमन्त्री हुमायुन कबिरले उनको स्वदेश फिर्ती र कानुनी प्रक्रियाबीच स्पष्ट अन्तर रहेको बताएका छन्। उनका अनुसार हसिना सामान्य यात्रुका रूपमा बंगलादेश प्रवेश गर्न सक्ने अवस्था छैन। सरकारले सुपुर्दगीको माग गर्दै आएको छ र उनलाई पक्राउ गरेरै ल्याउनुपर्ने धारणा राखेको छ। यता भारतको विदेश मन्त्रालयले बंगलादेशबाट प्राप्त सुपुर्दगीसम्बन्धी अनुरोध स्थापित प्रक्रियाअनुसार विचाराधीन रहेको जनाएको छ। हसिना आफैँ स्वदेश फर्किने विषय भने सुपुर्दगीको प्रक्रियाभन्दा फरक रहेको भारतको भनाइ छ।

हसिना भारतमा बसे पनि अवामी लिगको संगठनात्मक संरचनालाई सक्रिय राख्ने प्रयासमा रहेको उनका सहयोगीहरूको दाबी छ। अरिनका अनुसार उनले टेलिग्राममार्फत अडियो संवाद गर्दै पार्टीका नेता तथा कार्यकर्तासँग नियमित सम्पर्क कायम राखेकी छन्। पछिल्लो १८ महिनामा मात्रै उनले ३०० भन्दा बढी बैठक गरेको अरिनले बताएका छन्। ती बैठकहरू बंगलादेशका ६४ जिल्ला र ३०० निर्वाचन क्षेत्रसम्मका समर्थकलाई समेटेर सञ्चालन गरिएको उनको दाबी छ। पार्टीका ७८ वटा संगठनात्मक इकाइमार्फत यस्ता संवाद आयोजना हुने गरेका छन्। कतिपय बैठक चारदेखि पाँच घण्टासम्म चल्ने गरेको पनि उनले बताएका छन्।यस्ता संवादमा हसिनाले कार्यकर्ताका गुनासा सुन्ने, स्थानीय राजनीतिक अवस्था बुझ्ने र पार्टीको आगामी रणनीतिबारे छलफल गर्ने गरेको बताइएको छ। हसिनाको स्वागतमा सीमादेखि राजधानी ढाकासम्म ठूलो संख्यामा समर्थक परिचालन गर्न सकिने अरिनको दाबी छ। उनले लाखौँ मानिस मानव साङ्लो बनाएर स्वागत गर्न तयार रहेको बताएका छन्।तर अवामी लिगको वास्तविक संगठनात्मक अवस्था भने सहज छैन।
अवामी लिगका समर्थकहरूले विभिन्न जिल्लामा प्रदर्शन जारी राखेका छन्। पछिल्ला महिनामा आकस्मिक प्रदर्शनको संख्या बढेको र कतिपय स्थानमा ती गतिविधि हिंसात्मक बनेको समाचार सार्वजनिक भएका छन्। बंगलादेशका विभिन्न क्षेत्रमा बम विस्फोट, आगजनी, तोडफोड र सडक अवरोधका घटना भएका छन्। विशेषगरी हसिनाको गृहजिल्ला गोपालगञ्ज प्रशासनका लागि चुनौतीपूर्ण क्षेत्र बनेको छ। केही स्थानमा प्रहरी कार्यालयमाथि आक्रमण, सवारीसाधनमा आगजनी तथा सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता र उनीहरूका कार्यालयलाई निशाना बनाइएको समाचारमा उल्लेख छ। राजमार्ग अवरुद्ध गर्न रूख ढाल्ने र टायर बाल्ने गतिविधिका कारण कतिपय क्षेत्रमा यातायातसमेत प्रभावित भएको छ। सम्भावित आक्रमणको जोखिम बढेपछि केही स्थानमा प्रहरी पछि हट्न बाध्य भएको बताइएको छ।सशस्त्र द्वन्द्व तथा राजनीतिक हिंसाका घटनाको निगरानी गर्ने संस्था एसीएलईडीका तथ्यांकअनुसार नोभेम्बर २३ सम्म अवामी लिगसँग सम्बन्धित ४० वटा प्रदर्शन र १४० भन्दा बढी दंगाका घटना भएका छन्। यस महिनाको राजनीतिक हिंसामा कम्तीमा ११ जनाको मृत्यु भएको र तीमध्ये दुई जना सर्वसाधारण रहेको उल्लेख गरिएको छ। मृतकमध्ये छ जनाको मृत्यु प्रत्यक्ष रूपमा अशान्तिसँग सम्बन्धित रहेको संस्थाको तथ्यांक छ।
हसिनाको स्वदेश फिर्तीको घोषणाले भारतलाई पनि असहज अवस्थामा पु¥याएको छ । सन् २०२४ मा सत्ता गुमाएपछि भारत पुगेकी पूर्वप्रधानमन्त्रीलाई दिल्लीले आश्रय दिँदै आएको छ। तर भारतमै बसेर उनले गर्ने राजनीतिक अभिव्यक्ति र गतिविधिले ढाकाको असन्तुष्टि बढाएको छ।बंगलादेशले हसिनालाई सुपुर्दगी गर्न भारतसँग माग गरिरहेको छ। भारतले भने व्यापार, सीमा सुरक्षा र अन्य द्विपक्षीय विषयमा वार्ता अघि बढाएर सम्बन्ध सुधार्ने प्रयास गर्दै आएको छ । तर दुई देशबीच विश्वासको वातावरण अझै सहज बन्न सकेको छैन ।प्रधानमन्त्री तारिक रहमान सत्तामा आएको झन्डै १० महिना बितिसक्दा पनि भारत भ्रमणमा गएका छैनन्। यसअघि अगस्टमा उनको भारत भ्रमण हुने चर्चा चले पनि दिल्लीमा हसिनाले पत्रकार सम्मेलन गरेपछि सम्बन्ध सुधार्ने प्रयास प्रभावित भएको थियो। लन्डनस्थित एसओएएस विश्वविद्यालयका राजनीति तथा अन्तर्राष्ट्रिय अध्ययनका अध्यापक अविनाश पालिवालका अनुसार हसिनाको पछिल्लो घोषणाले भारतमाथि रहेको कूटनीतिक दबाब केही हदसम्म बंगलादेश सरकारतर्फ सारेको छ। भारतले नयाँ सरकारसँग सहकार्यका लागि उच्चस्तरीय राजनीतिक नियुक्ति, सुरक्षा वार्ता र व्यापारसम्बन्धी पहल गरे पनि अपेक्षित परिणाम आउन नसकेको उनको भनाइ छ।
भारतले अवामी लिगलाई बंगलादेशको राजनीतिबाट पूर्ण रूपमा बाहिर राख्नु आफ्नो दीर्घकालीन हितमा नहुने पनि विश्लेषकहरूको धारणा छ। उनीहरूका अनुसार पार्टीको सामाजिक तथा राजनीतिक प्रभाव अझै कायम रहेकाले नयाँ नेतृत्वमार्फत त्यसलाई राजनीतिक प्रक्रियामा समेट्नु दीर्घकालीन स्थिरताका लागि आवश्यक हुन सक्छ।तर बंगलादेशभित्र भारतले अवामी लिगलाई पुनः स्थापित गर्न खोजिरहेको आशंका बढ्दै गएको छ। हसिनाको सुपुर्दगी प्रक्रिया टुंगिन नसकेको, व्यापार तथा पारवहनसम्बन्धी विषयमा प्रगति नदेखिएको र गंगा जल सम्झौताको भविष्यसमेत अनिश्चित बनेको भन्दै भारतप्रति असन्तुष्टि व्यक्त भइरहेको छ।विश्लेषकहरूका अनुसार हसिना बंगलादेश फर्किएमा उनको मुद्दा, अवामी लिगको भविष्य र देशको राजनीतिक स्थिरतासँग सम्बन्धित विषयले नयाँ मोड लिन सक्छन्। नयाँ सुनुवाइको अवसर उपलब्ध गराउने र पार्टीलाई नयाँ नेतृत्वअन्तर्गत राजनीतिक प्रक्रियामा फर्काउने विकल्पले केही हदसम्म सन्तुलन कायम गर्न सक्ने पालिवालको विश्लेषण छ।
तर डिसेम्बर १६ मा हसिना वास्तवमै बंगलादेश फर्किन्छिन् वा उनको यात्रा पुनः स्थगित हुन्छ भन्ने विषय अझै निश्चित छैन। मृत्युदण्डको फैसला सामना गर्नुपर्ने अवस्थाका कारण उनी फर्किने सम्भावना कम रहेको एसीएलईडीकी दक्षिण एसिया विश्लेषक पर्ल पाण्ड्याको भनाइ छ। यद्यपि उनको घोषणाले समर्थकहरूमा उत्साह बढाएको उनले बताएकी छन्।हसिनाको प्रस्तावित स्वदेश फिर्तीको मिति नजिकिँदै जाँदा बंगलादेशमा प्रदर्शन, राजनीतिक भिडन्त र सुरक्षा चुनौती बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। उनको निर्णयले केवल एउटा पूर्वप्रधानमन्त्रीको व्यक्तिगत राजनीतिक भविष्य मात्र होइन, बंगलादेशको आन्तरिक स्थिरता र भारतसँगको सम्बन्धको दिशा पनि प्रभावित पार्न सक्ने देखिएको छ।





