काठमाडौँ,कात्तिक ८
जापानले बीपी राजमार्ग पुन र्निर्माणका लागि नेपाललाई १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका छन् । १६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ को गोर्खा भूकम्पले क्षति पुगेको छ ।
काभ्रेको बनेपाबाट सिन्धुलीको बर्दिबास जोड्ने उक्त राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो । कार्यक्रममा राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक अनुदान सहायता भएको जानकारी दिए र यसलाई पूरा गर्न २० वर्ष लागेको बताए ।
भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति र्पुयाएको र त्यसको पुनर्निर्माणको काम अब छिट्टै शुरु हुने उनले बताए । राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम सम्पन्न गर्ने उनले जानकारी गराए ।