पूर्व राष्ट्रपति ओबामा र क्लिन्टनलाई पठाईएको शङ्कास्पद वस्तुको विषयमा अनुसन्धान जारी

८ कात्तिक ७५, शुक्रबार

न्यूयोर्क, कात्तिक ८
संयुक्तराज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन तथा अन्य डेमोक्राटिक पार्टीका नेता, अमेरिकी टेलिभिजन संस्था सिएनएनको कार्यालयमा पठाइएका पाइप बमका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले बताएका छन् ।

Advertisement

अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा अमेरिकी सुरक्षा व्यवस्थामा समेत चुनौती देखिएका छन् । केही समयदेखि यी सबै उच्च पदस्थ व्यक्तित्वलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले घृणाको नजरले हेर्ने गरेका छन् । यद्यपी बमका बारेमा अनुसन्धान शुरु भइसकेको अमेरिकी सङ्घीय अनुसन्धान व्युरो (एफबीआईं) ले जनाएको छ ।

आगामी नोभेम्बर ६ मा हुन लागेको मध्यावधि निर्वाचनअघि हिंसालाई प्रोत्साहित गर्ने गरी भएको यस्तो कार्यको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि निन्दा गरेका छन् ।

Advertisement

टेलिभिजन च्यानल सिएनएनको कार्यालय समेत रहेको न्यूयोर्कस्थित टाइम वार्नर भवनमा पनि त्यस्तै शंकास्पद वस्तु भेटिएपछि समाचारकक्ष खाली गरिएको थियो । यसअघि गत सोमबार पनि उदारवादी परोपकारी एवं अर्बपति जर्ज सोरोसको न्यूयोर्कस्थित निवासमा बम भेटिएको थियो ।

पूर्व अमेरिकी वरिष्ट अधिकारीहरूलाई पठाइने चिठी तथा पार्सलहरू नियमित रुपमा जाँच हुने गरेको र त्यसैक्रममा प्राविधिकहरूले शङ्कास्पद विस्फोटक पदार्थहरु फेला पारेको समाचारमा जनाइएको छ । यस्ता शंकास्पद वस्तुको कम्तीमा सात पोका भेटिएको छ ।

Advertisement

अमेरिकी सुरक्षा निकाय सिक्रेट सर्भिसले जारी गरेको एक विज्ञप्तिका अनुसार २३ अक्टोबरमा भेटिएको त्यस्तो वस्तु श्रीमती क्लिन्टनको नाममा थियो ।विज्ञप्तिका अनुसार त्यसपछि अक्टोबर २४ को बिहान दोस्रो त्यस्तै वस्तु पूर्व राष्ट्रपति बाराक ओबामाको निवासको ठेगानामा पठाइएको थियो ।

अझैसम्म कसैले घटनाको जिम्मेवारी लिएको छैन र यस घटनासँग सम्बन्धित कोही पनि पक्राउ परेका छैनन् ।
रासस ÷एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top