एजेन्सी,कात्तिक १२
प्रिमियर लिग क्लब लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको निधन भएको पुष्टी भएको छ। शनिबार वेस्ट ह्याम युनाइटेडविरुद्धको खेलपछि भएको हेलीकप्टर दुर्घटनामा उनको मृत्युको पुष्टि भएको हो ।
श्रीवद्धनाप्रभासँगै लेस्टरका थप दुई स्टाफ, पाइलट र अर्का एक यात्रीको निधन भएको पुष्टी भएको छ । हाल लण्डनमा बस्दै आएका श्रीवद्धनाप्रभा थाइल्याण्डको चौथो धनी थिए।
खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट नै हेलिकप्टर उडेको थियो। हेलिकप्टर दुर्घटना हुने बितिक्कै क्लबका गोलरक्षक क्यास्पर स्माइकल पनि दुर्घटनास्थल तर्फ कुदेका थिए।
प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर एक्कासी बन्द भएर आकाशमा घुम्दै कार पार्कमा बजारिएको थियो । वरपर रहेका प्रहरीले हेलिकप्टरको सिसा फोड्न खोज्दा एक्कासी आगो लागेर पड्कदा कसैलाई बचाउन सकिएको थिएन ।

मालिक विचाईले लेस्टरको स्वरुप फेर्न मुख्य भूमिका खेलेका थिए । क्लबले सन् २०१६ मा प्रिमियर लिग उपाधि जित्दा उनले प्रत्यक खेल मैदानमा आएर हेर्थे ।
उनले सन् २०१० क्लब किनेयता क्लबले लगातार राम्रो प्रदर्शन गरेको छ । सन् २०१४ मा प्रिमियर लिगमा उक्लिएको लेस्टरले त्यसको दुई वर्षमा नै उपाधि जितेको थियो ।
 
				
 
                                                     
                                                    






 
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    


