एजेन्सी,कात्तिक १७
लिग वन अन्तर्गत शुक्रबार भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिललाई २–१ ले पराजित गरेको छ ।युवा फरवार्ड किलियन एमबाप्पेले गोल र असिस्ट गरेपछि फ्रान्सेली क्लब पीएसजीले जित हात पार्न सफल भएको हो ।
लिगमा लगातार १२ औं जित दर्ता गर्दै पीएसजीले शीर्ष स्थानमा अग्रता बढाउन सफल भएको छ । जित दिलाउन निकै प्रतिस्पर्धात्मक खेलमा किलियन एमबाप्पे र नेयमारले गोल गरे । खेलको अन्तिम समयमा लिलले सान्त्वना गोल फर्काएपनि त्यसले नतिजामा असर परेन ।
गोलरहित रहेको पहिलो हाफमा पीएसजीले पाएको मौका सदुपयोग गर्न सकेन । दोस्रो हाफमा युवा फरवार्ड एमबाप्पेले पीएसजीलाई अग्रता दिलाए । उनले मिडफिल्डबाट आएको थ्रु पासलाई ७० औं मिनेटमा गोल गरे । त्यसको १४ मिनेटपछि नेयमारले एमबाप्पेको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।
निकोलस पेपेले खेलको अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । यस जितसँगै पीएसजीले १२ खेलमा ३६ अंक पुर्याएको छ । दोस्रो स्थानमा रहेको लिलको २५ अंक छ ।