विराटनगर, कार्तिक १७
विराटनगर ९ स्थित तुलसा मदर एण्ड चाईल्ड हस्पिटलमा नवजात शिशुको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । आफन्तले डाक्टरको लापरबाहीले बच्चाको मृत्यु भएको भन्दै उचित न्यायको माग गरेका छन् ।
विराटनगर– १४ मिल्स एरियाकी बब्लिकुमारी साहलाई प्रसुतिको लागि शुक्रबार अस्पताल भर्ना गरिएको थियो । शनिबार साँझ स्वस्थ्य बच्चा जन्मिएको भएपनि डाक्टरको लापरबाहीले बच्चाको मृत्यु भएको आफन्तजनले बताएका छन् ।
डाक्टरको लापरबाहीले बच्चाको मृत्यु भएको र आफूहरुले डक्टरसँग सोधपुछ गर्दा पनि प्रहरीले जबरजस्ती हात लगाएर बाहिर पठाएको मुतकका काका सुमन साहले बताए ।
उनले भने “जन्मिँदा बच्चाको अवस्था ठिकै थियो डाक्टरले हेरेनन्, बच्चाको मृत्युपछि मात्र डाक्टर आए ।” मृतक शिशुका बाबु सुभाषचन्द्र साहले डाक्टरले यसमा गम्भिर लापरबाही गरेको भन्दै डेलिभरी गर्दा पनि डाक्टर नआएको र बोलाउँदा नर्मल डेलिभरीमा आफू नआउने भनेको बताए ।
उनले भने “बच्चा जन्मिँदा हामीले डक्टरलाई बोलायौँ तर उहाँले आफुहरु नर्मल डेलिभरीमा आउन मिल्दैन भन्नुभयो ।” उनले डक्टर समयमा उपस्थित नहुँदा बच्चाको मृत्यु भएको गुनासो गरे ।
बच्चाको मृत्युपछि आफन्तले डक्टरले गम्भीर लापरबाही गरेको भनेर हस्पिटलमा विरोध गरिरहेका छन् । उनीहरुले शिशुको लाश पनि आफूहरुले नबुझ्ने चेतावनी दिएका छन् ।
यता अस्पतालले भने आफूहरुको कुनै लापरवाही नरहेको बताएको छ । शिशुको घाटीमा नाल बेरिएको र त्यो एक्सेरेमा पनि नदेखिने भएकाले घटना भएको डा.रेनुका राठीले बताइन् । घटनापछि अस्पतालमा प्रहरीको सुरक्षा बढाइएको छ ।