दुई अर्बको लागतमा नारायणगढ मुग्लिन खण्डमा १४ ओटा पुल बन्ने, १८ महिनाभित्र सक्ने लक्ष्य

२९ कात्तिक ७५, शुक्रबार

काठमाडौं,कात्तिक ३०

नारायणगढ–मुग्लिन सडक खण्डमा रहेका १४ वटा पुराना पुल विस्थापन गरी नयाँ बनाउने प्रक्रिया शुरु भएको छ । विश्व बैंकको ऋण सहयोगमा ती पुल बनाउन लागिएको हो । सडक विभागका पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार माघ महीनाभित्रमा बोलपत्र आह्वान गर्ने गरी नक्साङ्कनको काम भइरहेको छ ।

महाशाखा प्रमुख थापाका अनुसार वि.सं. २०३८ मा ती पुल चिनियाँ प्राविधिकले निर्माण गरेकाले अहिले गरिएका नक्साङ्कनका बारेमा छलफल गर्न प्राविधिक विज्ञसमेत बोलाइएको छ । उनका अनुसार चीनको थोङजी विश्वविद्यालयका प्राध्यापक डा सेनलाई पुल नक्साङ्कनको अन्तिम रुप दिनका लागि छलफल गर्न बोलाइएको छ ।

Advertisement

उक्त पुलहरु निर्माणका लागि माघको तेस्रो साताभित्र बोलपत्र आह्वान हुने गरी काम अगाडि बढाइएको छ । ११ मिटर फराकिलो दुई वटा नयाँ पुल बनाइनेछ भने १२ वटा पुलको दायाँबायाँ थप गरी विस्तार गरिने योजना रहेको आयोजनाले बताएको छ ।

पुल बनेका छेउमा अग्ला पहाड भएकाले अर्को ठाउँबाट पुल बनाउन सहज भने नभएको थापाको भनाई छ । हाल सोही सडक खण्डमा चार ठाउँमा नयाँ पुल बन्दै गरेका छन् ।

Advertisement

सडक फराकिलो भइसक्दा पनि पुल साँघुरो भएपछि यातायात आवागमनमा समस्या हुँदै आएको छ । सो सडक विस्तार गरी नौदेखि ११ मिटर फराकिलो बनाइएको छ । नयाँ बन्ने र मर्मत गरिने सबै सडककै चौडाइअनुसार हुनेछन् ।

ती पुल नयाँ बनाउन र मर्मतका लागि दुई अर्ब लाग्ने अनुमान गर्दै विश्व बैंकले अर्थ मन्त्रालयसँग बुधबार अन्य योजनामा लगानी गर्ने सम्झौता गरिसकेको छ ।

तर नयाँ पुलभन्दा पुल भएकै ठाउँमा विस्तार गर्नुपर्ने देखिएकाले रु एक अर्ब हाराहारीमै काम सम्पन्न हुनसक्ने अनुमान गरिएको छ । १८ महीनामा पुल सम्पन्न हुने गरी काम गर्ने तयारी गरिएको सडक विभागको लक्ष्य छ । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top