विराटनगर, पुस २
क्याम्पसमा अनियमितता गरेको आरोपमा विद्यार्थी संगठनहरुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका प्रमुखलाई कार्यकक्षमै थुनिदिएका छन । क्याम्पस प्रमुख बाबुराम तिम्सिनाको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा विद्यार्थीहरुले तोडफोड समेत गरेका छन् ।
नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी,अनेरास्वीयु र नयां शक्ति निकट विद्यार्थी संगठनको महेन्द्र मोरङ क्याम्पस इकाइ कमिटि आबद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुनेर तालाबन्दी गरेका हुन् ।
सोमबार दिउँसो साढे ३ बजे क्याम्पस प्रमुख विरुद्ध नाराबाजीगर्दै गएका उनिहरुले तोडफोड गर्नुकासाथै तालाबन्दी गरेका हुन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कोठा अघिल्लतिर रहेको सभाकक्षको कुर्सी टेबुल र नेमप्लेट तोडफोड गर्नुकासाथै कोठाका पर्दाहरु च्यातेर फालिदिएका छन् ।
केहि महिनायता क्याम्पसकालागि १ करोड बढीको कार्यालय तथा शैक्षिक सामाग्रि खरीद गरिएको र त्यसमा ब्यापक अनिमियता गरिएको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् । १ करोड बढीको सामाग्रि खरीद गरिएपनि कमिशनको लोभमा चारचार लाखको कोटेशनबाट ती सामाग्रि खरीद गरएको उनिहरुको आरोप छ ।
क्याम्पसमा जर्जर अवस्थामा रहेको लाइब्रेरी मर्मत सम्भारकालागि निकालिएको २१ लाखको टेण्डरमा समेत अनियमितता भएको र क्याम्पस परिसरभित्र रहेका रुखहरु जथाभावी कटान गरेर विक्रि गरिएको विद्यार्थी नेता जसवन्त पौडेलको भनाई छ ।
उनिहरुले नैतिकताका आधारमा क्याम्पस प्रमुख तिम्सिनाले राजिनामा दिन समेत माग गरेका छन् ।