एजेन्सी,माघ १७
युएई भ्रमणमा रहेको नेपाल टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको छ ।युएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे ।नेपालको लागि सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाए भने अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ओपनर प्रदीप ऐरी शून्य रनमा आउट भए ।
कप्तान पारस खड्का आउट भएसँगै दबाबमा आएको थियो । नेपालका लागि सातौं विकेटको लागि सोमपाल कामी र सन्दीप जोराले ३९ रनको साझेदारी गर्दै इनिङ उकास्ने कोशिस गरेका थिए । तर सोमपाल आउट भएसँगै नेपाल खेल यूएईतर्फ मोडिएको थियो ।
सन्दीप जोराले भने उत्कृष्ट पारी खेल्दै आप्नो टी–ट्वान्टी क्रिकेटको डेब्यु खेलमा नै अर्धशतक बनाउँदै ५३ रनमा अविजित रहे । नेपालका अग्रपंक्तिका ब्याट्सम्यान चल्न नसक्दा यूएईसँग पहिलो खेलमा २१ रनको हार ब्यहोर्नु र्पयो ।
यूएईका लागि कप्तान मोहम्मद नाभिद, सुल्तान अहमद र जाहोर खानले समान २–२ विकेट लिए ।यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यूएईका लागि शैमन अन्वारले उत्कृष्ट ब्याटिङ गर्दै ५९ रन बनाएका थिए । त्यस्तै, मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रन बनाए । मोहम्मद बुता भने २० रन र सुल्तान अहमद ६ रनमा अविजित रहे ।
त्यस्तै, घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट हुदा कप्तान मोहम्मद नाभिद भने एक रनमा आउट भएका थिए ।नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले समान १–१ विकेट हात पारे ।तीन वटा टि–ट्वान्टी खेल खेल्ने नेपालले दोस्रो खेल भोलि शुक्रबार यूएईसँग खेल्दैछ ।