एजेन्सी, माघ १७
सातादिनदेखि विमानसहित बेपत्ता भइरहेका अर्जेन्टिनी फुटबलर इमिलिआनो सालाको खोजीमा ‘ब्रेक थ्रु’ मिलेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सालाको विमान बेपत्ता भएको सम्भावित क्षेत्रमा प्राविधिक टोलीले खोजी थालेको २ दिनपछि साला सवार विमानका दुईटा सिट फेला परेको खबर छ ।
आज सालाको खोजीमा खटिएको विशेषज्ञसहितको टोलीले एक प्रेस विज्ञप्ति जारी गर्दै सालाको खोजीबारे जानकारी गराएको हो । साला चढेको सानो विमान सोमबार रातिदेखि च्यानल आइल्यान्ड्सबाट हराइरहेको थियो । सोही क्षेत्रमा निजी क्षेत्रबाट खटिएको खोजी टोलीले साला सवार विमानका दुईटा आसन सिट फेला परेको हो ।
विमान दुर्घटना अनुसन्धान शाखाले जारी गरेको विज्ञप्तिअनुसार विमान बेपत्ता भएको सुरेनभिल्ले समुद्री किनारको कोटेन्टिन पेनिनसुला क्षेत्रबाट विमानका दुईटा सिट भेटिएको हो ।
खबरअनुसार विमानका सिट केही वरपर भेटिएको हो । खोजी टोलीका अनुसार एक सिट सोमबारै भेटिए पनि दोस्रो सिट भने आज मात्रै फेला परेको हो । विज्ञप्तिअनुसार विमानका दुईटै सिटी एकै क्षेत्र तर नजिकैको फरकमा भेटिएको हो ।
खोजी टोलीले भेटिएका सिट साला सवार विमानकै रहेको पनि पुष्टि गरेको छ । ‘प्राविधिक टोलीको जाँचपछि भेटिएका सिट बेपत्ता विमानकै भएको निष्कर्ष हामीले निकालेका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
खोजी टोलीले सिट भेटिएकै क्षेत्रमा थप जनशक्ति लगाएर खोजी तीब्र पार्ने तयारी गरेको छ ।
चर्चित फुटबलरहरूले व्यक्तिगत रूपमा मोटो रकम सहयोग गरेपछि निजी क्षेत्रबाट बेपत्ता खेलाडीको खोजी २ दिनअघिबाट पुनः थालिएको थियो ।
यसअघि सरकारी तथा प्रहरीले खोजी गरे पनि कुनै प्रगति नभएपछि खोजी टोली सम्भावित दुर्घटना क्षेत्रबाट ४ दिनअघि फर्किएको थियो । सालाको खोजी अन्तिमपटक बिहीबार साँझबाट बन्द भएको थियो ।
यसअघि ५ वटा हेलिकप्टर प्रयोग गरेर सालाको खोजीमा लगातार ८० घन्टा टोली परिचालन गरिएको थियो । तर, लामो समय खोजी गर्दा पनि कुनै प्रगति नभएपछि खोजी टोलीले ‘साला र पाइलट फेला पार्नु कठिन’ भन्दै खोजी रोकेको थियो ।
त्यसपछि निजी क्षेत्रमा विशेषज्ञसहितका टोलीले सालाको खोजी थालेको थियो । सालाको खोजीमा विश्वका चर्चित फुटबलहरूले करिब २ सय ७० मिलियन पाउन्ड रकम जुटाएका थिए । सालाको खोजीमा अहिले पनि ‘गो फन्ड मी’ अभियान जारी छ ।
को हुन साला ?
साला कीर्तिमानी रकममा इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भएको एक दिनपछि नै आफू चढेको विमानसँगै बेपत्ता भएका थिए । उनी चढेको एउटा सानो विमान सोमबार रातिदेखि च्यानल आइल्यान्ड्सबाट हराएको हो । सालासँगै विमानमा पाइलसमेत बेपत्ता छन् ।
२८ वर्षीय साला शनिबार मात्र फ्रान्सेली क्लब नान्टेसबाट इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भएका थिए । उनका लागि कार्डिफ सिटीले १ करोड ५० लाख पाउन्ड खर्चिएको थियो । कार्डिफ सिटीले कुनै पनि खेलाडीका लागि खर्चिएको यो सबैभन्दा ठूलो रकम हो ।
सोमबार राति च्यानल आइल्यान्ड्समा पुगेपछि साला चढेको विमानको सम्पर्क टावरसँग टुटेको थियो । स्थानीय प्रहरीले विमानको बारेमा कुनै जानकारी प्राप्त हुन सकेको बताएको छ ।
नान्टेसबाट साँझ ७ः१५ बजे उडेको उक्त विमानको जर्सी एयर ट्राफिक कन्ट्रोलसँग अन्तिमपटक सम्पर्क भएको थियो । त्यसबेला विमान ५ हजार फिटको उचाइमा उडिरहेको र विमानका चालकले आपत्कालीन अवतरणको अनुमति मागेको बताइएको छ । खबरअनुसार टावरसँग सम्पर्क विच्छेद हुँदाको समयमा विमान २ हजार ३ सय फिटको उचाइमा थियो ।
बेपत्ता खेलाडी सालाले मंगलबारदेखि आफ्नो नयाँ क्लब कार्डिफ सिटीमा अभ्यास गर्ने तयारी थियो । साला फ्रान्सेली लिग फुटबलका प्रभावशाली खेलाडी मानिन्छन् ।
स्रोत : फुटबल खबर