एजेन्सी, माघ १७
फ्रेन्च क्लब पिएसजीलाई ठूला खेलअगाडि ठूलो झट्का लागेको छ । युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ का खेलअघि टोलीका प्रमुख खेलाडी ब्राजिलियन नेइमार घाइते भएपछि पिएसजी संकटमा परेको हो ।
घरेलु प्रतियोगिता खेल्नेक्रममा घाइते भएका नेइमारले अब च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ का पहिलो र दोस्रो लेग दुवै खेल गुमाउने क्लब पिएसजीले पुष्टि गरेको छ । पिएसजीले अन्तिम १६ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धी पाएको छ ।
नेइमार गत मंगलबार फ्रेन्च कपअन्तर्गतको स्टार्सवर्गसँग खेल खेल्नेक्रममा घाइते भएका थिए । उनको दायाँ खुट्टामा चोट परेको छ ।
नेइमार गएको सिजन पनि लामो समय घाइते भएका थिए । लिग वानमा मार्सेलीविरुद्धको खेल दौरान घाइते भएका उनी ३ महिनापछि एकैपटक रसिया विश्वकपमा मात्रै मैदान फर्किएका थिए ।
यसअघि नेइमारले पहिलो लेग मात्रै गुमाउने चर्चा भए पनि उनको थप चेकजाँचपछि दुवै लेग गुमाउने क्लबले पुष्टि गरेको हो । क्लबले नेइमार मार्च अन्तिम सातापछि मैदान फर्किने बताइएको छ ।
च्याम्पियन्स लिगको पहिलो लेगमा पिएसजी र युनाइटेडको पहिलो लेगको खेल फेब्रुअरी १२ र दोस्रो लेग मार्च ५ मा हुँदैछ ।
पिएसजी गत सिजन अन्तिम १६ मा स्पेनिस रियल मड्रिडसँग पराजित हुँदै बाहिरिएको थियो । यसपटक पनि पिएसजीलाई उपाधि दाबेदार टोली मानिएको छ ।
स्रोत : फुटबल खबर