बिराटनगर,माघ २४
बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालको आयोजनमा माघ २२ गते संचालन भएको इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । बिराटनगर ९, स्थित मदरटेरेसा स्कुलको खेलमैदानमा आयोजित प्रतियोगितामा भारतले नेपालका छात्रा तथा छात्रको टिमलाई पराजित गर्दे उपाधि जितेको हो ।
प्रतियोगितामा नेपालबाट ७५ जना र भारतबाट ७५ जना गरी १५० जना खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगिताको फाइभ्स इभेन्टको तेश्रो खेलमा छात्रतर्फ भारतले ३५/१८, ३५/१८ स्कोरले नेपाललाई पराजित गरेको थियो भने छात्रा तर्फ ३५/१३,३५/२० भारतले पराजित गरेको थियो ।
डबल इभेन्टको छात्र तर्फ भारतले ३५÷३१, ३५÷१७ स्कोरले पराजित गरेको थियो भने छात्रातर्फ भारतले नै ३५/१७, ३५/१८ स्कोरले पराजित गरेको थियो । मिक्स डवल इभेन्टमा भारतका सुभम् पाण्डे र श्रुतीजिवानेको जोडी र नेपालका राजिव राय र ज्योति यादवको जोडीले प्रतिस्पर्धा गरेको थियो । उक्त प्रतियोगितामा भारतले ३५/२२, ३५/१८ स्कोर गरी नेपाललाई पराजित गरेको थियो ।
प्रदेश नं.१ का सांसद जयराम यादबको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार बितरण तथा समापन कार्यक्रममा यादबले दुई देशीय सम्बन्धलाई यस खेल प्रतियोगिताले अझ मजबुत बनाएको प्रष्ट पारे । कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य राजेशकुमार दास, अभिभावक संघ नेपाल प्रदेश नं.१ का अध्यक्ष देवी पन्थी, प्याब्सन मोरंगका अध्यक्ष अर्जुन बस्नेतले मन्तव्य राखेका थिए ।
प्रतियोगितामा बल ब्याटमिन्टन फेडेरेशन अफ एसियाले तय गरेका नियमानुसार फाइवइभेन्ट, मिक्स इभेन्ट र डबल इभेन्ट खेलहरु संचालन गरिएको महासचिव अमिष रेग्मीले बताए ।