सप्तरी, पुस २०
जाडोले कठयांग्रिएर सप्तरी जिल्लामा तीन जनाको मृत्यु भएको छ । पाँच दिन देखि शितलहरका कारण जनजीवन कष्टकर भएको छ । चिसोका कारण छिन्नमस्ता १ वीरपुरका ३६ वर्षिय कुलदिप राय सोही वडाको बरही टोलका ३५ वर्षिय रामदयाल राम र ७२ वर्षिय रजियादेवी रायको मृत्यु भएको छ ।
स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार स्वास्थ्य संस्थाहरुमा कोल्ड डायरिया, रुघाखोकी, ज्वरो, निमोनिया, दम लगायतका बिरामीको चाप बढेको छ ।
चिसो बढेसँगै न्यानो कपडा लगाउन , तातो खाना र झोल पदार्थ खान स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । चिसो हावासँगै शितलहर चल्न थालेपछि सप्तरीका सबै सामुदायिक विद्यालय ३ दिनका लागि बन्द गरिएको छ । चिसोका कारण विद्यार्थी विद्यालयसम्म पुग्न कठिन भएपछि जिल्लाका सबै चार सय १२ सामुदायिक विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले बताए ।