विश्वका घुम्नलायक उत्कृष्ट सहरमा काठमाडौं

काठमाडौँ ,फागुन ५

लोन्ली प्लानेटले विश्वका घुम्नलायक उत्कृष्ट दश सहर मध्ये काठमाडौं‌को नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ ।

पर्यटन प्रवर्द्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश सहरको सूचीमा काठमाडौंलाई समावेश गरेर नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ।

Advertisement

सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको र सो अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितका नीति तथा कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा लोन्ली प्लानेटको पछिल्लो विवरणले थप बल पुर्‍याएको छ।

विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएका पुरातात्विक महत्वका सम्पदाको पुनः निर्माणले गति लिएको र धेरै जसो पुनः निर्माण पनि सम्पन्न भइसकेको भन्दै काठमाडौँ घुम्नलायक सहरको रूपमा रहेको उक्त संस्थाको ठहर छ। मन्दिर, कला र संस्कृतिले भरिपूर्ण काठमाडौँ उपत्यकामा पछिल्लो समय सूचना तथा प्रविधिको पनि सहज प्रयोग गर्न पाइने पनि विवरणमा उल्लेख छ।

Advertisement

क्षति भएका पूरातात्विक महत्वका सम्पदाको पुनः निर्माण, तथा नेपालीको पाहुनालाई स्वागत गर्ने शैलीका कारण पनि जो कोहीलाई आकर्षित गर्न सक्छ। यस्तै पुराना स्मारक तथा अन्य परम्परागत कला कौशल पनि पर्यटकका लागि अर्को आकर्षणको विषय बन्न सक्छ। ढुङ्गे धारा, हिटी, देवल तथा काठमाडौँ, पाटन र भक्तपुर दरबार स्वायर पर्यटकका लागि खुला सङ्ग्रहालय जस्तै लाग्न सक्छ।

प्लानेटले घुम्नलायक उत्कृष्ट दश सहरको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभीसाड, चौथोमा अमेरिकाको मियामी, पाँचौँमा काठमाडौँ, छेटौँमा मेक्सिकोको मेक्सिको सहर, सातौँमा सेनेगलको डाकार, आठौँमा अमेरिकाको सिएटल, नवौँमा क्रोएशियाको जदार र दशौँमा मोरक्कोको मेक्नेसलाई समावेश गरेको छ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top