‘क्याप्टेन’ देशैभर हाउसफूल, हलमा देखियो अनमोलको क्रेज

१८ फागुन ७५, आइतबार

काठमाडौँ, फागुन १८
नेपाली फिल्मका हिट मेशिन अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ यस वर्षको दोस्रो सबैभन्दा ठूलो ओपनिङ फिल्म बनेको छ ।शुक्रवार बिहानदेखि साँझसम्म ७० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको फिल्मले शनिबार भने बिहानैदेखि देशभर हाउसफुल व्यापार गरेको छ ।

Advertisement

फिल्मका वितरक मनोज राठीले यसलाई बम्पर ब्यापार भनेका छन् । राजधानी र मोफसलका अधिकांश सिंगल थिएटर र मल्टिप्लेक्सहरुमा फिल्मको व्यापार बम्पर छ । शनिबार बिहानैदेखि काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, गंगा, गुण लगायतका हलमा दर्शकको चाप उच्च देखियो । काठमाण्डौ बाहिर पनि बिहानैदेखि दर्शक हलमा पुगेका थिए ।

गोपीकृष्णका म्यानेजर प्रदीप दाहालले ‘क्याप्टेन’ले ‘छक्का पञ्जा ३’ पछि ठूलो ओपनिङ गरेको दाबी गरे । उनले फिल्म हेरेका अधिकांश दर्शकले तारिफ गरेको पनि बताए । शुक्रबार दिवा शोको समयमा नायक अनमोल केसी दुई नायिकाको साथमा गोपिकृष्ण मुभिज र अष्टनारायण हल पुगेका छन् ।

Advertisement

उनलाई प्रहरीको भ्यानले स्कटिङ गरेर हलसम्म ल्याएको थियो भने, ४ जना पर्सनल बडिगार्डले सुरक्षा दिएका थिए । तर, पनि हलमा देखिएको दर्शकको उच्च चापले अनमोललाई भिडबाट जोगाउन सुरक्षागार्डलाई हम्मेहम्मे भएको थियो । १६ देखि २५ उमेर समुहका युवा दर्शकहरुको हलमा अत्याधिक भीड देखिएको थियो । राष्ट्रिय झन्डाको साथमा हल पुगेका अनमोलले दर्शकसँग राष्ट्रिय गान पनि गाएका थिए ।

Advertisement

साथै, अनमोलले गोपीकृष्णमा आफ्नो अटोग्राफसहितको फुटबल दर्शकलाई दिएका थिए । अनमोलले कस्तो लाग्यो ‘क्याप्टेन’ ? भनेर सोध्दा ३ हजार बढी दर्शकले एकै स्वरमा ‘दाम्मी’ भन्दै जवाफ फर्काएका थिए । अनमोलले फिल्म रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए । उनको साथमा पिता भुवन केसी पनि थिए ।

फिल्मका दुई अभिनेत्री प्रियंका एमभी र उपासना सिंह ठकुरी पनि अनमोलको साथमा नै गोपीकृष्ण हल पुगेका थिए ।उनीहरुले पनि आफ्नो अभिनय रुचाएकोमा दर्शकलाई धन्यवाद दिए ।त्यस्तै फिल्ममा ‘कोच’को भुमिकामा रहेका अभिनेता प्रशान्त ताम्राकारलाई देखेपछि दर्शकहरुले हुटिङ गरेका थिए ।

वितरक राठीले दुई दिनमा फिल्मले अनुमानित १ करोड ६० लाख ग्रस कलेक्सन गर्ने बताए । राठी शनिबार फिल्मले देशभर आक्रामक व्यापार गरेको बताउँछन् । उनका अनुसार, राजधानीसँगै मोफसलका मेजर स्टेशनहरुमा फिल्मले सानदार व्यापार गरेको छ । बुटबल, चितवन, पोखरा, विराटनगरलगायतका शहरमा फिल्मले बम्पर व्यापार गरेको रिपोर्ट आफूलाई प्राप्त भएको उनले बताए । १ करोड ८० लाख निर्माण लागत बताइएको फिल्मले अब शिवरात्रीको विदामा बम्पर कमाई गर्ने विश्वास निर्माण टिमको छ ।

यो फिल्ममा अनमोल फुटबल खेलाडी इशानको भूमिकामा छन् । पिता (सरोज खनाल) को फुटबलबाट देशका लागि गोल्ड मेडल जित्ने सपना पूरा गर्न संघर्षरत मध्यम वर्गीय परिवारको एक युवकको कथामा फिल्म केन्द्रित छ । फिल्मबाट अभिनेत्री उपासनाले राम्रो सम्भावना देखाएकी छन् । फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् भने कथा सामिप्यराज तिमल्सिनाको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top