नेपाल एकीकरण अभियानको अवमूल्यन असम्भव

२५ पुस ७४, बुधबार

काठमाडौँ, पुस २६
राजतन्त्र अन्त्यसँगै आधुनिक नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्न खोजिए पनि पछिल्ला वर्षमा एकीकरण अभियानलाई पूर्ववत सम्मान दिने क्रम बढेको छ ।

शाहले गोरखा राज्यलाई विस्तार गरी सैन्य बलबाट वि.सं १८०१ असोज २ गते नुवाकोट विजय गरेपछि तत्कालीन बाइसे तथा चौबीसे राज्य एकीकरणमा बल पुगेको थियो । काठमाडौँ उपत्यकाभित्रका तीनवटै राज्यको एकीकरणपछि मुलुकमा शाहवंशीय राजसंस्थाको थालनी भएको थियो ।

दोस्रो जनआन्दोलन २०६२÷६३ मा पृथ्वीनारायण र उनका उत्तराधिकारीका सालिक तोडफोड गर्ने तथा इतिहासमा राष्ट्रियताको संरक्षणका लागि राजसंस्थाले निर्वाह गरेको भूमिका अवमूल्यन गर्न खोजिए पनि पछिल्ला दिनमा विभिन्न दल र सम्बन्धित पक्षले नेपालको एकीकरणमा शाहको योगदानलाई बिर्सन नहुने आवाज उठाउन थालेपछि केही वर्ष सरकारी स्तरबाट कटौतीमा परेको पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा यस वर्षदेखि पुनः बिदा दिने घोषणा गरिएको छ ।

Advertisement

यस पटकदेखि शाहको जन्मदिन पुस २७ लाई सरकारले राष्ट्रिय बिदा दिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत विभिन्न निकायले विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा एकता दिवस मनाइरहेका छन् ।

गोर्खाका राजा नरभूपाल शाह तथा रानी कौशल्यावतीका छोराका रुपमा शाहको जन्म १७७९ पुस २७ गते भएको थियो । २० वर्षमा गोर्खाको राजा भएका शाहले क्रमिकरुपमा विभिन्न राज्यमाथि आक्रमण गरी एकीकरण अभियानमा पूर्वमा टिष्टा नदीदेखि पश्चिममा काँगडा नदीसम्मका नेपालीलाई सहभागी गराएका थिए । नयाँनयाँ राज्यमा जित हासिल गरेपछि स्थानीय संस्कृति, चलन, परम्परालाई समेत निरन्तरता दिइएको पाइएको छ ।

Advertisement

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित तत्कालीन समयमा गोर्खामा एक हजार २०० घरधुरीका मानिस आर्थिक रुपमा विपन्न भएपनि शाहको अभियानलाई साथ दिएको बताउछन् । स्थानीय विसे नगर्चीको सुझावअनुसार राजा पृथ्वीनारायण शाहले त्यहाँका बासिन्दासँग प्रतिघरधुरी एक रुपैयाँका दरले कुल १२ हजार संकलन गरेर काशीबाट हतियार झिकाएका थिए ।

इतिहासकार डा सुरेन्द्र केसीले तत्कालीन समयमा दक्षिण एशियामा बढ्दै गएको अंग्रेजको साम्राज्यवादलाई नेपालमा पस्न नदिन शाहले खेलेको भूमिकाका कारण नै आज नेपालीको विश्वमा शान रहेको दाबी गर्छन् ।

काठमाडौँ उपत्यकालाई विजय गर्नुभन्दा अगाडि शाहले तीनपटक कीर्तिपुरमा युद्ध गर्नुपरेको इतिहास छ । विसं १८१४ र १८२१ मा कीर्तिपुरमा आक्रमण गरी पराजय भोगेका शाहले र १८२२ मा भने कीर्तिपुर जितेका थिए ।

प्रा जगमान गुरुङले गोर्खाका पाँडे, पन्त, अर्याल, खनाल, बोहरा र राना थर भएका रणनीतिज्ञले निर्माण गरेको युद्ध नीतिको एकीकरणमा महत्व रहेको जनाउँदै शाहले स–साना क्षेत्र भिरकोट, कास्की, लमजुङलाई आफ्नो राज्यमा विलय गर्दै आधुनिक नेपालको जग बलियो बनाएको बताए ।

गोर्खाका राजाले कीर्तिपुर हात पारेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका मल्ल राजालाई त्रासको मनोविज्ञान बढ्दै गएको इतिहास छ । विसं १८२५ असोज १३ गते इन्द्रजात्राका दिन नरदेवी, टुँडिखेल र भीमसेनस्थान तीनतिरबाट घेरा हालेर काठमाडौँमाथि विजय प्राप्त गरेका थिए । त्यतिखेर काठमाडौँमा जयप्रकाश मल्ल राजा थिए । सोही महिनाको असोज २५ गते ललितपुरका राजा तेजनरसिंह मल्ललाई पराजित गरिएको थियो ।

विसं १८२६ मंसिर १ गते भक्तपुरका राजा रणजित मल्ललाई पनि आत्मसमर्पण गराई शाहले उपत्यकामाथि जित हासिल गरेका थिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top