Nepal Times
Nepal Times
3
Shares

माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?

माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?

चिप्लेढुङ्गा,चैत १

सुन्दर नगरी पोखरा । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छ्रे हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन् । प्रकृतिप्रेमीहरुले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ’ जस्ता गीत रचेका छन् ।

कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाल विश्वका सुन्दर हिमालको सूचीमा सातौं नम्बरमा पर्छ । पछिल्लो समय यस हिमालको आरोहण खोलिनुपर्छ वा पर्दैन भन्ने विषयले बहस निम्त्याएको छ । ६ हजार ९९३ मिटरको उचाइबाट पोखरामा आउनेहरुलाई स्वागत गरे झै आभाष दिलाउने यस हिमाललाई पर्यटनविद् झलक थापा ‘कुमारी’ विशेषण जोड्न रुचाउँछन् । पोखराको सुन्दरताको वर्णन गरेर नथाक्ने उनी यतिबेला दुःखी छन् ।

वि.सं २०२७ मा पर्यटनको सम्भाव्यता अध्ययन गर्न पोखरा आउँदा फेवातालको किनारबाट उनको नजर ठोक्कियो एक्लै मुस्कुराइरहेको माछापुच्छ्रे हिमालसँग । त्यसपछिका दिनहरुमा उनी पोखराको सुन्दरतामा रमाए र त्यसलाई सदा आँखा र हृदयमा राखिराख्न पोखरावासी बने ।

माछापुच्छ्रेलाई हिमाल अहिलेसम्म कसैले आरोहण नगरेको थाहा पाएपछि उनी अझै खुशी भए । माछापुच्छ्रेको कुमारीत्व जोगाउनुपर्छ भन्ने सोचाइ उनलाई त्यत्तिबेलै आयो । तर्कसहित लेख्न शुरु गरे । एउटा हिमाललाई कुमारी भन्दै जोगाउनुपर्ने कारण छैन भन्ने तर्क गर्नेहरुमा डा.हर्क गुरुङ्गजस्ता विद्वानहरु थिए । उनी आफ्ना धारणामा शुरुदेखि नै अडिग रहँदै आए । धेरै पोखरेलीले उनको यो विचारलाई रुचाए पनि ।

माछापुच्छ्रेलाई ‘यशोधरा’ ठान्छन् उनी । पचास वर्ष अघिदेखि माछापुच्छ्रेलाई मनमा सजाएर राख्दै आएका उनलाई यो हिमाल आरोहणका लागि खोलिँदैछ भन्ने समाचारले व्याकुल बनाइदिएको छ । विश्वका सुन्दर हिमालमा नेपालको आमादब्लम र माछापुच्छ्रे पर्छ । आमादब्लममा आरोहण हुन्छ । माछापुच्छ्रेलाई कुमारी राखेरै यसको सौन्दर्यबाट पर्यटकलाई भित्र्याउनुपर्ने विचार राख्नुहुने उनको प्रश्न छ– माछापुच्छ्रेलाई कुमारी नै राखे के बिग्रन्छ ? आजसम्म हिमाल आरोहणबाट कति कमायौं र अब माछापुच्छ्रेबाट पनि कमाउने आशा राखेका छौ ?’

पर्यटन व्यवसायी नरेश भट्टराई पनि माछापुच्छ्रेको सुन्दरतालाई जोगाउन आरोहण गर्न दिन नहुने तर्क राख्छन् ।

उनले भने– ‘गण्डकी प्रदेशमा मात्रै आठ हजारमाथिका तीन वटा हिमाल (अन्नपूर्ण, मनास्लु, धौलागिरी) छन्, अन्नपूर्ण प्रथमको मध्य र पूर्व पनि आठ हजार मिटरमाथि छन् । ती हिमालको आरोहणको अवस्था र प्रचारप्रसारमा सरोकारवालाहरु मौन छन् । अहिले एकाएक माछापुच्छ्रे आरोहणको विषय उठाउनु सान्दर्भिक छैन । हामी अध्ययन विना हतारिन्छौ । माछापुच्छ्रे«को सुन्दरता हेर्नमा नै उपयुक्त छ, चढ्नमा होइन ।’ माछापुच्छ्रेलाई कुमारी नै राखेर त्यसैलाई ‘टुरिज्म प्रडक्ट‘को रुपमा प्रचार गर्नुपर्ने उनको सुझाव छ ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पर्यटन विभागसँग सहकार्य गरी माछापुच्छ्रे हिमालको आरोहण खोल्न पहल भएको बताए । ‘प्राकृतिक कुरालाई जीविकोपार्जनसँग जोड्नु पर्छ,’ उनी भन्छन्– ‘माछापुच्छ्रेका बासिन्दा हिमालको उपयोग गरेर आफ्नो जीवनस्तर बढाउन लाग्नुपर्छ । अब हेरेर बस्ने कुराको मात्रै तर्र्क गरेर हुँदैन ।’

जाति र धर्म विशेषसँग जोडेर यस हिमालको आरोहण रोकिएको भन्ने कुरा मिथ्या भएको उनी ठान्छन् । उनले भने – ‘हिमाल पहाड प्राकृतिक कुरा हुन् । यसलाई जातजातिले पूजा गर्छन् भन्ने प्रसङ्ग जोडेर बन्द गरिएको भन्ने कुरामा सत्यता छैन ।’

सन् १९५६ तिर बिट्रिश कर्णेल रोबर्टसन र उनको टोलीले माछापुच्छ्रे आरोहणको प्रयास गरेका थिए । नसकेर बीचबाटै फर्के । आफूले नसकेपछि अरुलाई किन यश कमाउन दिने भन्ने मनसायले देउता छन् भन्ने प्रचार गरेको हुनसक्ने गुरुङको भनाइ छ । पर्यटन मन्त्रालयका अनुसार वि.सं २०२० पछि यसको आरोहण बन्द छ ।

कोही आरोही अग्लो हिमाल चढ्न रुचाउँछन्, अर्काथरी सुन्दर हिमाल । नेपालका सगरमाथा र आमादब्लम सुन्दर हिमालमा गनिन्छन् । आरोहीको सङ्ख्याले पनि यो तथ्यलाई पुष्टि गर्ने उनको तर्क छ ।

सन् १९५० को दशकमा अन्नपूर्णको प्रथम आरोहण भएको थियो । हाल त्यहाँ आरोहण गर्नेको सङ्ख्या घटिरहेको बताइन्छ । मानिस अग्लो र सुन्दर हिमाल चढ्न मन पराउँछन् । माछापुच्छ«े उचाइ र सुन्दरता दुबै विशेषता भएकाले आरोहीको रोजाइ पर्ने तर्क गुरुङ्गको छ ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले माछापुच्छ्रे आरोहण अनुमति अध्ययनको विषय रहेको बताए । नेपालमा झण्डै तीन हजार हिमाल रहेका छन् । संसारमा ८ हजारभन्दा माथिका १४ वटा हिमाल छन्, त्यसमध्ये नेपालमा मात्रै ८ वटा छन् । माछापुच्छ्रे हिमाल आरोहणका विषयमा उनले भने, ‘माछापुच्छ्रे हिमाल आरोहण के कारणले रोकिएको थियो ? आरोहण खुला गर्दा हुने फाइदा र खुला नगर्दा हुने फाइदाका बारेमा अध्ययन गरेर मात्रै सान्दर्भिक निर्णय गरिनेछ । हिमाल आरोहीको तथ्याङ्गलाई पनि हामी केलाउँछौं ।’

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा भन्छन् – पर्यटन विकासमा नयाँ नयाँ गन्तव्यको खोजी जरुरी हुने भएकाले माछापुच्छ्रे आरोहण खुला गरे आरोहीको आगमन बढ्ने सक्ने विश्वास व्यक्त गर्छन् । वि.सं २०३४ सालदेखि हिमाल आरोहणको रोयल्टी उठाउने अनुमति प्राप्त गरेको सङ्घले हाल २७ वटा हिमालको आरोहण अनुमति प्राप्त गरेको छ । सरकारले ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ ।

उनले माछापुच्छ्रे हिमाल चढेर त्यसको सुन्दरता नबिग्रने भएकाले खुला गर्नुपर्ने धारणासँग आफू सहमत रहेको बताए । नेपालमा सन् १९५३ मा तेन्जिङ्ग नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेका थिए । उनले त्यसबेला दार्जिलिङबाट हिमाल चढ्ने अनुमति लिएका थिए । बेलायतीहरु हाबी रहेको त्यो समयमा उनीहरुकै बोली बिक्ने गरेको लामा बताउँछन् । सन् १९५६ मा नेपालमा हिमालयन सोसाइटी भन्ने संस्थाको गठन भयो र यही बेलादेखि यस संस्थाको सिफारिशमा परराष्ट्र मन्त्रालयले हिमाल आरोहणको अनुमति प्रदान गर्ने गरेको लामा स्मरण गर्छन् ।

कन्जरभेसन इन्स्टिच्युटका अनुसार विश्वका सुन्दर हिमालमा स्विट्जरल्यान्डको दि मटेरहोर्न, अमेरिकाको डेनाली, आइसल्याण्डको किर्कजुफिल, दक्षिण अफ्रिकाको टेबल माउन्टेन, नेपालको आमादब्लम, स्विट्जरल्यान्डको माउन्ट इगर छन् र सातौं नम्बरमा माछापुच्छ्रे रहेको छ ।– जमुना वर्षा शर्मा/रासस

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.