विराटनगर,चैत २
विराटनगरको सहिद रंगशालामा जारी पाँचौं साफ च्याम्पियनसिप फुटबलमा लगातार दुईखेलमा जित निकाल्दै समूह विजेताका रुपमा आयोजक नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा नेपालसामू बंगलादेश निरिह बनेको छ । प्रतियोगितामा नेपालले बंगलादेशलाई ३ गोलले पराजित गरेको हो । पहिलो हाफमा नेपालले लगाएको ३ गोल नै नेपालको विजयका लागि पर्याप्त बन्यो ।
दोस्रो हाफमा भने खेल सुधारेर मैदान प्रवेश गरेको बंगलादेशको प्रयास सफल हुन सकेन । खेल अवधिभर नेपालकी फरवार्ड खेलाडी सावित्रा भण्डारी छाएकी थिइन् । उनले पहिलो हाफमा एक गोल गर्नुका साथै एक गोलको अवसर समेत सिर्जना गरेकी थिइन् । नेपालले आत्मघाति गोलबाट सूरुवाती अग्रता लिएको थियो । खेलको छैटौ मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको हेड बलले पोस्टको दिशा लिएपछि नेपालले अग्रता बनाएको हो ।
खेलको २३ औ मिनेटमा बाँया भागबाट बल अघि बढाउँदै गोलकिपरलाई समेत छलाउँदै सावित्राले नेपालको अग्रता दोब्बर पारेकी थिईन् । त्यस लगत्तै उनको पासमा मञ्जली कुमारी योञ्जनले अर्को गोल थपिन् । बंगलादेशविरुद्व नेपालले सुरुवातबाटै निरन्तर दबाब बढाएको छ । नेपालले डिफेन्स, मिडफिल्डर र फरवार्ड लाईनमा सुधारिएको खेल प्रर्दशन गरेको छ । नेपालले कसिलो डिफेन्सको नमुना प्रस्तुत गर्दा बंगलादेशी खेलाडीले नेपाली पोस्टमा धावा बोल्न सकेनन् । यो जितसँगै नेपाली टिम समूह विजेता बनेको छ ।
शनिबारको प्रतिस्पर्धामा बंगलादेश पराजित भएपनि सेमिफाइनल भने प्रवेश गरिसकेको छ । यसअघि बंगलादेशले भुटानलाई २ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको थियो । समूह चरणबाट भुटान बाहिरिएको छ भने समूह बिबाट माल्दिभ्स बाहिरिएको छ । आइतबार दिउँसो ३ बजे सहिद रंगशाला विराटनगरमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले पहिलो सेमिफइनलमा भारत र श्रीलंकाबीचको उपविजेतासँग बुधबार खेल्नेछ भने बंगलादेशले ती टिमको विजेतासँग खेल्नेछ । महिला साफ च्याम्पियनसिपमा भारत पछिको सफल टोली नेपाल हो । सबै चार संस्करण भारतले जित्दा चौथो बाहेक सबै फाइनलमा भारतले नेपालसँग खेलेको छ । नेपाल साफ च्याम्पियनसिपमा भारतसँग मात्र पराजित भएको छ ।
अघिल्लो संस्करणमा नेपालले सेमिफाइनलमा भारतको सामना गर्नुपरेको थियो । जसमा नेपालले भारतलाई पार लगाउन सकेन । प्रशिक्षक हरि खड्काले भुटानसँगको खेलको कमजोरी बंगलादेशविरुद्धको खेलमा दोहोरिन नदिएको बताएका छन् । प्रशिक्षक खड्काले जितको लक्ष्यसहित आक्रमक खेले र सँगसँगै सतर्क रहेन बताएका छन् । उनले भने ‘हामी उनीहरुको कमजोरीको फाइदा उठाउँदै अघि बढ्नेछौं। तर, हामीले पनि सम्हालिएर खेल्नुपर्ने हुन्छ ।’
साफमा नेपाल
साफमा नेपालले २० खेलमा १६ मा जित र ४ मा पराजित रहेको छ । नेपालले पछिल्लो पाँचवटा अन्तराष्ट्रिय खेलमा ३ मा जित २ मा पराजित भएको छ । नेपालले भारतमा आयोजित वुमन्स गोल्डकप इरानलाई ३–० , भारतलाई १ का विरुद्ध २ र साफमा भुटानलाई तीन शुन्यले पराजित गरेको छ । त्यसैगरी, वुमन्स गोल्डकपमै म्यानमारसंग भने पहिलो खेलमा ३–० गोल र फाइनलमा १ का विरुद्ध ३ गोलले पराजित भएको थियो ।