विराटनगर,चैत ५
सुनसरीको दुहवी नगरपालिकामा आयोजना गरिएको वृति परामर्श तथा रोजगार मेलामा उकै दिन ३ सय ८५ जनालाई रोजगारी दिइएको छ । रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुलाई एकै ठांउमा समाहित गरेर आयोजना गरिएको एक दिने मेलामा ९ सय ४५ जनाले रोजगारीका लागि फाराम भरेका थिए ।
मेलामा रोजगारी पाउनेहरुमा प्राविधिकतर्फ मेसिन अपरेटर, इलेक्ट्रिसियन लगायत रहेका छन भने प्रशासनिकतर्फ कार्यालय ब्यवस्थापन, कार्यालय सहयोगी तथा लेखातर्फ रहेका छन ।मेलामा अहिन्त मल्टिफाइबारले ठूलो सख्यामा २ सय ४० जनालाई मेलामै रोजगारी दिएको छ । यस्तै बाग्मती रिलायन्सले ४० जना,एबी ग्रुपले १०जनालाई रोजगारी उपलब्ध गराएका छन् ।
मेलामा फुजिमा आयल, रिलायन्स थर्माेपोली टंकी लगायतले पनि रोजगारी प्रदान गरेका छन । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा आयोजना गरिएको मेलाको प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास तथा श्रममन्त्री जीवन घिमिरेले उदघाटन गरे ।
नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा संचालित ईन्स्योर परियोजनाको सहयोगमा दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका, उद्योग संगठन मोरङको संयुक्त सहभागितामा मेला आयोजना गरिएको हो । मेलालाई मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन मेमोरियल पोलिटेक्निक र व्यवसायिक सीप तालिम प्रदायक संघ प्रदेश नं. १ ले समेत सहयोग गरेका थिए ।
मेलाको उद्घाटन गर्दे प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले आगामी १० बर्षभित्र प्रदेशलाई बेरोजगार मुक्त घोषणा गर्ने लक्ष्यसहित सरकारले काम गरिरहेको बताए ।