विराटनगर,चैत्र ६
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत फाईनल प्रवेशका लागि आज नेपाल र श्रीलंका प्रतिस्पर्धा भिंड्दैछन् ।नेपाल र श्रीलंकाको खेल विराटनगरको शहीद रंगशालामा विहान ११ बजेदेखि सुरु हुनेछ । त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा दिउँसो ३ बजे बंगलादेशले भारतको सामना गर्नेछ ।
समुह चरणमा एक गोल पनि नखाई सेमिफाइनलमा पुगेको नेपाल गोल नै नखाई फाईनल पुग्ने योजनामा छ । नेपाली टोलीका प्रशिक्षक हरि खड्काले आफ्नो टिमलाई साफ च्याम्पियन बन्न कुनै टिमले रोक्न नसक्ने दाबी गरका छन् । उनले आफ्नै भूमि र दर्शकको साथको भरपुर फाइदा उठाउने बताए । उनले भने ‘तयारी सकियो । हामी शारीरिक र मानसिक रुपमा तयार छौं ।’
नेपाललाई प्रतियोगिताकै बलियो टिम मानिएको छ । समूह ‘ए’ को विजेता बनेर अघिल्लो चरणमा पुगेको नेपालले गोल खाएको छैन । उद्घाटन खेलमा भुटानमाथि ३–० को जीत निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई पनि ३–० नै हरायो । आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २–० ले हराएको श्रीलंकाले भने दोस्रो खेलमा भने भारतसँग ५ गोल खायो । यसर्थमा पनि श्रीलंकाभन्दा नेपाली टिमको मनोबल उच्च छ ।
भोलि श्रीलंकाले रक्षात्मक खेल खेल्ने अनुमान छ । श्रीलंकाको रक्षात्मक रणनीति असफल बनाउँदै नेपाली टोलीले गोल गर्ने प्रशिक्षक हरि खड्काको दाबी छ । नेपालको तुलानामा कमजोर देखिएको श्रीलंकाले २०१६ मा भारतमा सम्पन्न साफ महिला च्याम्पियनसिपपछि अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेलेको छैन ।
यो पटक पनि राम्रो तयारी गर्न नपाएको श्रीलंकाली प्रशिक्षक रोहान थिलक अलपोन्सुले बताएका छन् । उनले भने ‘चार महिनाको तयारीले गरेर आएका हौं ।’
उनका अनुसार श्रंलीकाले नेपाललाई बराबरीमा रोक्ने र पेनाल्टीमा पराजित गर्ने रणनीति बनाएको छ । विशेषगरी सावित्रा भण्डारी र निरु थापालाई रोक्ने उसको रणनीति छ ।प्रशिक्षक रोहानले भने, ‘नेपालका केही खेलाडी उत्कृष्ट छन्, त्यसमध्ये सावित्रा र निरुलाई रोक्ने लक्ष्य छ ।’