विराटनगर, चैत ६
विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर स्थित शहिद रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
नेपाललाई जित दिलाउने क्रममा नेपालका लागि सुरुवाती गोल खेलको ४१ औं मिनेटमा पुनम जर्घामगरले गोल गरेकी थिइन् । पहिलो हाफमा गतिलो सुरुवात गर्न नसकेको नेपालले दोस्रो हाफमा खेल पुरै आफ्नो पकडमा राख्न सफल भयो ।
दोस्रो हाफमा नेपालका लागि अनिता बस्नेतले खेलको ७३ औं मिनेटमा गोल गरिन् । त्यसको ९ मिनेटमा सावित्रा भण्डारीले उत्कृष्ठ गोल गर्दै नेपाललाई ३–० को स्थितिमा पुर्याइन । खेलमा ८६ औं मिनेटमा रेखा पौडेलले आफ्नो पहिलो अन्तराष्ट्रिय गोल गर्न सफल भइन् । र, नेपालले खेल ४–० ले जितेको छ । श्रीलंकाको तर्फबाट कुनै गोल हुन सकेन । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेश बिच आजै हुदैछ ।