सौरभ यादव
राजविराज, चैत १९
राजविराज विमानस्थलबाट सोमबारदेखी उडान सेवा ठप्प भएको छ । पटक पटक बन्द हुँदै आएको सो विमानस्थल असार १० गतेदेखी निकै तामझामका साथ संचालनमा आएको थियो । गत असार १० गतेदेखि नियमित विमान सेवा थालिएको विमानस्थलमा सुरुमा साताको ५ दिन उडान भर्दै आएको थियो ।
प्राविधिक त्रुटी देखाउँदै केही महिनादेखि ३ दिन उडान भर्दै आएको श्री एयरलाइन्सले सोमबारदेखि अनिश्चितकालिन उडान सेवा बन्द गरेको छ ।नागरिक उड्ययन कार्यालय राजविराजका प्रमुख भिमदत्त पन्तले काठमाडौंका लागि उडान भर्ने श्री एयरलाइन्सको जहाज ‘मेन्टेनेन्स’का लागि उतै राखिएकाले उडान रद्द गरिएको जानकारी दिएका छन् ।
जहाज ‘मेन्टेनेन्स’ कार्य पुरा हुन करिब १५ दिन अझैं समय लाग्न सक्ने भएकाले त्यस अवधीसम्म उडान सेवा बन्द रहने उनको भनाइ छ । यता काठमाडौं यात्राका लागि टिकट काटेर विमानस्थल पुगेका यात्रुहरुलाई अचानक राजविराज नागरिक उड्ययन कार्यालयका कर्मचारीले जहाज मर्मतका लागि राखिएकाले उडान नभर्ने बताएपछि यात्रुहरु निराश र आक्रोसित भएका थिए ।
वि.सं २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व.गणेशमान सिंहले शिलान्यास गरि सञ्चालनमा ल्याइएको विमानस्थल हो, ‘राजविराज विमानस्थल’ । केही दिन सञ्चालन पश्चात कच्ची धावनमार्गको समस्या देखाउँदै विमान सेवा पूर्ण रुपमा ठप्प नै गरियो ।
पछि विभिन्न प्रयासले विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग, ९० मिटर लामो र ६० मिटर चोडाई एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडाईको ट्याक्सी वे पक्की निर्माण भएपछि गत जेठ ९ गते श्री एयरलाइनले सफल परीक्षण ग¥यो । झण्डै ६ दशकपछि गत असार १० गतेबाट राजविराज विमानस्थलमा नियमित हवाई सेवा सुचारु भयो ।
श्री एयरलायन्सको ५० सिट यात्रु क्षमता भएको विमानले साताको पाँच दिन उडान सुरु गर्यो । पाँच महिनासम्म शनिबार र मङ्गलवार बाहेक श्री एयरलायन्सले नियमित उडान सेवा सञ्चालन पनि गर्यो । पछि प्राविधिक समस्या देखाउँदै एयरलायन्स कम्पनीले दुई महिना यता सातामा ३ दिन मात्रै उडान भर्ने समय तालिका कायम गरेको छ । तर, विमानस्थलको पूर्वतर्फ ७ सय मिटरकै दुरीमा ९० फिटको अग्लो ४ वटा चिम्नी (ईट्टा भट्टा) का कारण विमान सेवा सञ्चालनमा गम्भिर समस्या भईरहेको खुलासा भएको छ ।