सुनसरी, २ माघ/विराटनगरले इटहरीमा जारी दोस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी हात पारेको छ ।
आज भएको फाइनल खेलमा धनगढीलाई ३ रनले पराजित गर्दै बिराटनगरले उपाधी हात पारेको छ । उपाधीसंगै विराटनगरले नगद १ लाख तथा ट्रफी हात पारेको छ । उपविजेता धनगढीले नगद ५० हजारमा चिक्त बुझाएको छ ।
इटहरी स्थित नेपाल डिभिएम स्कूलको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । बिराटनगरकालागी मिनस थापाले सर्वाधिक २४ रन बनाउँदा मुकेश यादवले १८ र अमित यादवले १० रनको योगदान दिए । धनगढीका सागर भण्डारीले ३ विकेट तथा नारायण जोशीले २ विकेट लिए ।
जवाफमा १ सय १३ रनको विजय लक्ष्य पछ्याएको धनगढी निर्धारित ओभरमा सवै विकेट गुमाई १ सय १० रनमा खुम्चिएपछी विराटनगर विजयी भएको हो । धनगढीकालागी नारायण जोशीले सर्वाधिक २७ रन बनाउँदा अजय बिष्टले २० रन तथा लोकेश बमले १७ रन जोडे पनि त्यो जितका लागी पर्याप्त हुन सकेन ।
बिराटनगरका म्यान अफ द फाइनल मुकुन्द यादवले ३ विकेट दिपेश कंडेल र मिनश थापाले समान २ विकेट लिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बिराटनगरका मिनश थापा घोषित भए ।
उत्कृष्ट ब्याष्टम्यान काठमाण्डौका अरुण ऐरी र उत्कृष्ट बलर इटहरीका मनिस दाहाल घोषित भए । उनीहरुले जनही ५–५ हजार पुरस्कार पाए । पुस २८ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, काठमाण्डौ, विराटनगर, नेपालगञ्ज, भैरहवा र धनगढीको सहभागिता रहेको थियो ।