राजविराज,चैत २०
प्रायजसो महँगो होटल तथा रिसोर्टमा गएर साथी र आफ्न्तजनसँग धुमधामका साथ पार्टी गरेर जन्मदिन मनाउने हाम्रो समाजमा चलन छ । तर,आराध्या सुमनले आफ्नो जन्मदिनको अवसरमा खर्च हुने जति रकम बारा–पर्सामा आएको हावाहुरीका पीडितलाई दिने भएकी छिन् ।
१० वर्षीया आराध्याको जन्मदिन बुधवार परेको थियो ।जन्मदिनमा हुने सम्पूर्ण खर्चको रकम प्रदेश २ का मुख्यमन्त्री राहत कोषमा आफ्नै नामबाट जम्मा गर्ने आराध्याका बुवा मनिष सुमनले बताए । मनिष सुमन राजपा नेपालका महासचिव तथा प्रदेश सांसद हुन् । आराध्याको जन्मदिनको उपलक्ष्यमा १९–२० हजार खर्च हुने परिवारले जनाएको छ । त्यो रकममा थप गरेर २१ हजार रुपैँया बुधवार कोषमा जम्मा गरिएको सुमनले बताए ।