विराटनगर, बैशाख २६
धरान विराटनगर सडक खण्ड अन्र्तगत विराटनगरको मुनालपथमा स्थानीयवासीले सडक अवरोध गरेका छन् । ६ लेनको सडक निमार्णका क्रममा साईड रोड र नाला समयमै निर्माण नगरिदा लामो समयदेखि धुलो र हिलो खान वाध्य भएको भन्दै बिहीबार स्थानीयवासीले सडक नै जाम गरेका हुन्।
बीच सडकमा डोरी, बाँस , टेबल कुर्सी जस्ता सामाग्री राखेर उनीहरुले यातायात अवरुद्ध पारेका थिए । विहान ९ बजेदेखि गरिएको सडक जाम करिब एक घन्टा सम्म जारी रहदा सडकमा सवारी साधन चल्न सकेका थिएनन् । पटक – पटक हामीले सम्बन्धीत निकायलाई खबर गरेका थियौ, तर कुनै सुनुवाई नै नगरेका कारण वाध्य भएर सडक जाम गर्नु परेको स्थानीय विनोद लुईटेलले बताए । रोड छेउमा मै पसल छ, धुलो उढेको उडै गर्छ, पानी छर्कनु पर्यो भनेर बारम्बार आग्रह गर्दा पनि कुनै चासो नदिदा वाध्य भएर सडक अवरोध गर्नु परेको स्थानीयले बताएका छन् ।
सडक अबरुद्धका कारण स्कुलले बसलाई सबैभन्दा बढी समस्या परेको थियो । संयौको संख्यामा निस्किएका स्थानीयवासीले महानगरपालिका र ठेक्का लिने कम्पनीविरुद्ध नारा बाजी समेत गरेका थिए । ‘महिनौँ बितीसक्यो सडक निमार्णको गति कछुवा गतिमा छ’ स्थानीय ब्यवसायी हिराकुमार श्रेष्ठले भने । उनले पसल अगाडि बनेको खाल्डोले आफनो ब्यवसाय समेत चौपट भएको बताए ।
भत्काएर छाडेको नै महिनौदिन भयो फेरि पछिल्लो समय आएको पानीले सडकमा ठूलठूला खाल्डा बनाएपछि सडक झनै अस्तब्यस्त भएको छ,उनले भने महानगर , सडक विभागले त देखेनन् उनले प्रश्न गरे अब अनि सडक जाम नगरेर के गर्नु ? स्थानीयवासीले सवारी साधन अवरोध पुर्याएको भन्दै प्रहरीले धरपक्कड गर्दै सडक अवरोध खुलाएको थियो ।
जिल्ला प्रहरी कार्यलय मोरङ र वडा प्रहरी कार्यलयबाट गएको प्रहरी र स्थानीय बीच केही बेर घम्साघम्सी समेत भएको थियो । यता वडा नम्बर २ का वडा अध्यक्ष कुमार पोखरेलले शुक्रबार स्थानीयवासीसँग छलफल गरेर समस्याको समाधान गर्ने आश्वासन दिएपछि सडक अवरोध स्थगित भएको थियो । विराटनगरमा एकीकृत मझौला सडक विकास परियोजना र ६ लेन सडक विस्तारको परियोजना जारी रहेका छन् ।