१८ जेष्ठ, विराटनगर
प्रदेश नम्बर १ मा मिल्क होलिडे समाप्त पार्न इटहरीमा पाउडर प्लान्ट बन्ने भएको छ । सुनसरीको इटहरी १ मा २८ करोडको लागतमा निर्माण हुने मिल्क पाउडर प्लान्ट उद्योगको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलन्यास गरे । प्रदेश सरकारको २० करोडको अनुदानमा कामधेनु दुग्ध सहकारी संस्थाले पाउडर प्लान्टको स्थापना गर्ने भएको हो ।
प्रदेश नम्बर १ मा प्रत्येक दिन खेर गइरहेको भनिएको ५० हजार लिटर दुधलाई पाउडर बनाउन सुनसरीको तरहरा स्थित कामधेनु सहकारीले पाउडर प्लान्ट उद्योगको शिलन्यास गरेको हो । कुल २८ करोड ६१ लाख २३ हजारको लागतमा पाउडर प्लान्टको स्थापना गरिने छ । जसमध्येको ७० प्रतिशत रकम अर्थात २० करोड प्रदेश सरकारले अनुदान दिएको हो । कामधेनुले बिभिन्न डेरीसंग दूध खरिद गरी प्रशोधन गरेर धूलो दूध बनाएर बेच्नुपर्नेछ । दैनिक ५० हजार लिटर दूध प्रशोधन गर्ने क्षमताको प्लान्ट लगाउन लागिएको कामधेनुका अध्यक्ष बाबुराम दाहालले बताए ।
कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले पहिलो प्राथमिकता कृषि क्षेत्रलाई दिएको पनि बताए । नेपालको आर्थिक क्षेत्र मजबुत बन्नुमा कृषि नै मुख्य स्रोत रहेको भन्दै कृषिमा प्रथामिकताको साथ लगानी गर्ने बताए ।