दीगो विकास लक्ष्य हासिल गर्न ३०३ अर्व अमेरिकी डलरको आवश्यकता

६ असार, काठमाण्डौ ।

नेपालले सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्न ३०३ अरव अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।


राष्ट्रिय योजना आयोगले तयार पारेको दीगो विकास लागत अनुमानका अनुसार सन् २०३० भित्रमा दीगो विकास लक्ष्य हासिल गर्न सो परिमाणको अमेरिकी डलर नेपाललाई आवश्यक पर्ने देखिएको हो । गरिवीको अन्त्य, शिक्षा, स्वास्थ्य, खानेपानी, प्रविधिको विकासलगायतको क्षेत्रमा लगानी गरेर मात्रै दीगो विकास लक्ष्य हासिल हुने भएकाले त्यसका लागि २०३० सम्ममा नेपाललाई सो रकम आवश्यक पर्ने अनुमानित डाटा तयार पारिएको राष्ट्रिय योजना आयोगका सदस्य शुशील भट्टले जानकारी दिए । उनले सो लगानी जुटाउनुनै नेपालका लागि मुख्य चुनौति रहेको पनि स्पष्ट पारे ।

आयोगले सो आवश्यक्ता पूर्तिका लागि सहकारी क्षेत्रको पनि उल्लेख्य लगानीको अपेक्षा गरेको छ । दीगो विकास लक्ष्य हासिल गर्न आवश्यक रकममध्ये वार्षिक करिव ६ अरव अमेरिकी डलर अपुग हुने निष्कर्ष पनि निकालेको छ ।

आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दीगो विकास लक्ष्य प्राप्तीका लागि बजेटको अभाव मुख्य चुनौति रहेको बताए ।
आयोगले दीगो विकास लक्ष्य हासिल गर्न अभाव हुने रकम जुटाउन लगानी बोर्डजस्ता संस्थाहरुलाई सक्रिय बनाउनुपर्नेमा पनि जोड दिएको छ । पूर्वाधारको क्षेत्रमा सार्वजनिक क्षेत्रको लगानी कमजोर हुँदा दिगो विकास लक्ष्य हासिलका लागि लाग्ने लागतको अनुमान पनि फरक पर्दै जाने पनि आयोगको प्रतिवेदनमा औंल्याइएको छ ।

Scroll to Top